अर्थ

सामान आयात ४३ अर्बले बढ्यो

चाडपर्व लक्षित गरेर विदेशबाट वस्तु आयात बढेको छ। यो वर्ष पोहोरको तुलनामा आयात करिब ४३ अर्ब रुपैयाँले बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँका वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। यो पोहोरको तुलनामा १६.२३ प्रतिशतले वृद्धि हो।

भदौको अन्तिम साता जेनजी आन्दोलनको कारण केही दिन आयात निर्यात प्रभावित भएको थियो। दसैंलाई लक्षित गरेर व्यवसायीले सामान आयात गरेका हुन्। दसैंमा सामानको माग उच्च हुन्छ। दसैंमा लत्ताकपडा कपडा, खाद्य वस्तु लगायतका वस्तुको माग उच्च हुन्छ। गत आर्थिक वर्षको पहिलो दुई महिना साउन भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको सामान आयात भएको थियो।

नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ। स्वदेशमा उत्पादन नहुने भएकाले डिजेल पेट्रोल, एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ। दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ ४५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ।

त्यसैगरी धेरै आयात हुने वस्तुमा खाने तेल र कच्चा पदार्थ रहेको छ। वनस्पति घिउ सोयाबिन तेल, सूर्यमुखी तेल, पाम तेल लगायका वस्तु २७ अर्ब ४१ करोड २१ लाखको आयात भएको छ। त्यसैगरी, स्टिल तथा पलामका वस्तु २२ अर्ब ९७ करोड ५३ लाख रुपैयाँको आयात भएको छ।

आयात बढे पनि राजस्व पनि बढेको छ। दुई महिनामा वस्तु आयात गर्दा ७७ अर्ब ६३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। गत आवको यही अवधिमा ७४ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुने गरेको छ। पोहोरभन्दा यो वर्ष आयात-निर्यात दुवै बढेको छ। यो अवधिमा निर्यात पनि ८८ प्रतिशतले वृद्धि भएको छ। दुई महिनामा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।

निर्यात हुने वस्तुमा तेल, फाइबर, चिया, कफी लगायतका वस्तु रहेका छन्। साउन, भदौमा वनस्पति घ्यु सोयाबिन तेल, सूर्यमुखी तेल, पाम तेल लगायका वस्तु २३ अर्ब ५६ करोड १० लाख रुपैयाँको निर्यात भएको छ। त्यसैगरी, फाइबर दुई अर्ब एक करोड २२ लाख रुपैयाँ, कफी, चिया र मसला लगायका वस्तुहरू एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँको निर्यात भएको छ।

पोहोरभन्दा करिब २२ अर्ब रुपैयाँको निर्यात बढेको छ। दुई महिनामै मुलुकको व्यापार घाटा भने दुई खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष भन्दा यो वर्ष व्यापार घाटा साढे आठ प्रतिशतले बढेको छ। यो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ। दुई महिनामा कुल बैदेशिक व्यापार तीन खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।

भन्सार छुटको व्यवस्था

जेनजी आन्दोलनमा क्षति पुगेका संरचना निर्माणका लागि विदेशबाट आायत गर्ने सामान छुट दिने सरकारी निर्णय कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन यस्तो निर्णय गरेका थिए। आन्दोलनमा क्षति पुगेका निजी क्षेत्रको उद्योग, व्यवसाय, व्यावसायिक प्रतिष्ठानलगायतले पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार तथा अन्तः शुल्क ५० प्रतिशत छुट पाउने घोषणा गरेका थिए।

अर्थ मन्त्रालयले सोमबार सूचना प्रकाशित गरी जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बिमा सर्भेयरको प्रतिवेदनबाट एकिन भएको मालवस्तुको विवरणको आधारमा सोको पुनः स्थापना तथा सञ्चालनका लागि त्यस्तो माल बस्तु आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तः शुल्कमा आर्थिक ऐनको दफा १८ को उपदफा १ बमोजिम ५० प्रतिशत छुट दिने जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०८२ ०९:४५ बुधबार