नेपाली बजारमा सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
मंसिर सुरु भएसँगै विवाहको लगनको महिना भए पनि उच्च मूल्यवृद्धिका कारण बजारमा सुनको बिक्री भने सुस्ताएको व्यवसायीहरूले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ।
ठीक एक वर्षअघि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो। यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य तोलामा १ लाख २ हजार ९ सय रुपैयाँले बढेको देखिन्छ।
पछिल्लो डेढ महिनाको अवधिमा मात्रै सुनको मूल्य तोलामा करिब साढे १० हजार रुपैयाँले वृद्धि भएको छ। कात्तिक मसान्तमा २ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंसिरको दोस्रो सातासम्म आइपुग्दा १० हजार ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार अमेरिकाले अवलम्बन गरेको बैंकिङ नीति र अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको भाउ बढेको हो।
‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर घटबढ भइरहेको छ,’ रसाइलीले भने, ‘अहिले क्रिसमस र अंग्रेजी नयाँ वर्षको सिजन सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा मूल्य उकालो लागेको हो।’
महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले पनि अन्तर्राष्ट्रिय नीतिका कारण मूल्य बढेको बताए।
‘विश्वका लगानीकर्ताहरूले सुनमा लगानी गर्नुलाई सुरक्षित मानेर लगानी बढाएका छन्, जसका कारण तीन वर्षयता सुनको भाउ घट्नुको साटो निरन्तर बढिरहेको छ,’ शाक्यले भने।
विवाहको सिजनमा सुनको माग उच्च हुनुपर्नेमा यसपटक मूल्यवृद्धिका कारण व्यापार खस्किएको छ। अध्यक्ष रसाइलीका अनुसार दैनिक २५ किलो सुन आयात हुने गरे पनि बजारमा दैनिक १५ किलो बिक्री गर्न पनि मुस्किल परेको छ।
बिक्री नभएपछि आयात गरिएको सुन बैंकमै थुप्रिने क्रम बढेको छ। अर्कोतर्फ, भाउ ह्वात्तै घट्न सक्ने हल्ला र उच्च मूल्यको फाइदा उठाउँदै गहना बेच्न आउनेको चाप भने बढेको व्यवसायीहरू बताउँछन्।
खुला सिमानाका कारण अवैध रूपमा भित्रिने सुन र विदेशबाट आउनेहरूले ल्याउने सुनले पनि बजारको आधिकारिक व्यापारमा असर पारेको महासंघको भनाइ छ।
यद्यपि, सिजन चलिरहेकाले केही दिनपछि माग बढ्न सक्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।
प्रकाशित: १३ मंसिर २०८२ २२:२१ शनिबार