जेन-जी पुस्ताको आन्दोलनका क्रममा सुनसरीका सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको छ । निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन।
जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकामध्ये हरिनगर र बर्जुबाहेक अन्यमा तोडफोड तथा आगजनी भएको छ । यीमध्ये सबैभन्दा बढी क्षति इटहरी उपमहानगरपालिकामा भएको छ । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी इटहरी क्षेत्रमै आगजनी तथा तोडफोड गरिएको छ ।
इटहरी उपमहागनरपालिकाको पाँचवटा भवनसँगै केही वडा कार्यालय, पाँचवटा ट्रयाक्टर, दुईवटा स्काप्रियो, एउटा बुलेरो, तीनवटा टिप्पर, दुईवटा मोटर ग्रेन्डर, दुईवटा दमकल, एउटा नगर प्रहरीको ट्रक, एउटा रोड रोलर र एउटा पानी ट्रयाकीको गाडी आगजनीबाट पूर्ण रुपमा क्षति पुगेको छ । यस्तै, नयाँ ठूलो भवन तोडफोड र कार्यालयका सामान लुटपाट भएको छ ।
इटहरीमा जेन-जी आन्दोलनका क्रममा भदौं २३ गते इटहरी वडा नं. १४ का ४० वर्षे मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भोलिपल्ट प्रदर्शनकारी आक्रोसित भएकाले बढी क्षति भएको हो ।
आन्दोलनका क्रममा इनरुवा, बराहक्षेत्र, दुहवी र रामधुनी नगरपालिका कार्यालयसँगै कतिपय वडा कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको छ । यस्तै, भोक्राहा नरसिंह, कोशी, गढी र देवानगञ्ज गाउँपालिकामा पनि आगजनी तथा तोडफोडबाट क्षति भएको छ । धरान उपमहानगरपालिकामा जेन-जी पुस्ताले केही नगरे पनि केही वडा कार्यालयमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा इटहरीकै सवारी परीक्षण कार्यालय, राजस्व अनुसन्धान कार्यालय इटहरी, आन्तरिक राजस्व कार्यालय, यातायात सवारी सेवा, यातायात सवारी चालक अनुमति पत्र चालक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आगजनी तथा तोडफोड भएको उल्लेख गरिएको छ ।
यस्तै, नेपाल प्रहरी राजर्मा तथा सुरक्षा कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकलीसहित प्रहरी चौकी खनार, प्रहरी बिट झुम्का, प्रहरी चौकी हलगडा, प्रहरी चौकी भरौल, प्रहरी चौकी रेलवे धरान, प्रहरी चौकी चाँदवेला, अस्थायी प्रहरी चौकी एकम्बा, नयाँ बस पार्क प्रहरी चौकी धरान, खनार अस्थायी प्रहरी कार्यालय, अस्थायी प्रहरी कार्यालय इटहरीको पुष्पलाल चौकसहित जिल्लाभर रहेका हुलाका कार्यालय तथा शाखा गरेर छवटामा आगजनी तथा तोडफोड भएको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
निजी क्षेत्रको विवरण अझै संकलन भएन
जिल्ला प्रशासन कार्यालय सुनसरीले निजी क्षेत्रको क्षतिको विवरण अहिलेसम्म संकलन हुन नसकेको जनाएको छ ।
आन्दोलनका क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ । यस्तै, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको इटहरीमै रहेको घरमा सामान्य क्षति पुगेको थियो । यस्तै, इटहरीमै रहेको नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको थियो । आगजनीबाट तीन तले पक्की भवनसँगै मदन आश्रीत पुस्ताकालयका एक हजार तीन सय पुस्तक जलेर नष्ट भएको जानकारी दिइयो । इटहरीमै उपमहानगरपालिका अगाडि रहेको बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा तोडफोडबाट १२ लाखभन्दा बढीको क्षति भएको छ ।
उत्ता, धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । यसैगरी, धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख मनोज मेन्याङ्वो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको निजी घरमा तोडफोड भएको थियो । पूर्वमेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो । सञ्चालक मेन्याङ्वोले होटलबाट छ लाख रुपैयाँ नगद समेत लुटिएको इलाका प्रहरी कार्यालय धरानमा दिएको उजुरीमा उल्लेख छ । यस्तै, पूर्वउपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेलको कोठामा भएका सामान पनि तोडफोड गरिएको थियो ।
धरान क्षेत्रमा निजी व्यक्तिको पाँच करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । धरानमा २५ जनाविरुद्द किटानी जाहेरी परेको छ ।
आन्दोलनका क्रममा कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी आगजनी गरिएको थियो । यस्तै, इनरुवाका मेयर केदार भण्डारीको घरमा पनि आगजनी गरिएको थियो । प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षति पुर्याएका थिए ।
धरान र इटहरीमा भाटभटेनी सुपर मार्केटमा भएको क्षति पनि यकिन गर्न सकिएको छैन । धरानको भाटभटेनी सुपर मार्केटमा चारवटा मानव कङ्काल फेला परेतापनि तिनीहरुको समेत अहिलेसम्म पहिचान हुन सकेको छैन ।
प्रकाशित: २९ आश्विन २०८२ १८:०८ बुधबार