अर्थ

संख्या तोकेरै बजारमा ग्यास पठाउन थालियो

ग्यास लुकाउनेलाई ५० हजार रुपैयाँ जरिवाना

तनहुँको दुलेगौंडामा आइतबार ग्यासको अवस्था थाहा पाउन बजार अनुगमन गरिँदै। तस्बिरः नागरिक

पोखराको गगनगौंडास्थित गृहलक्ष्मी ग्यास कम्पनि प्रालिले आइतबार सूचना जारी गर्दै कम्पनिबाट वितरण हुने ग्यास सिलिन्डरको संख्या सार्वजनिक गर्यो। कम्पनिले जारी गरेको सूचना अनुसार आइतबार ३ हजार ८ सय ७८ सिलिन्डर ग्यास (आधा भरि) बाहिरिएको छ।  

कम्पनिबाट वितरण गरिएको ग्यास मध्ये लेखनाथ क्षेत्रका ८१ वटा पसलबाट १२ सय ५० वटा बिक्री वितरण हुनेछन्। पोखरा सहरभित्रका १० वटा डिलरबाट १४ सय ५८ र बागलुङ क्षेत्रका १५ वटा डिलरमार्फत ११ सय ७० वटा सिलिन्डर वितरण गरिनेछ।

कम्पनिका महाप्रबन्धक भीमराज लामिछानेका अनुसार बिक्री गरिने पसलको आकार अनुसार कम्तिमा पाँचवटा सिलिन्डर उपलब्ध गराईएको छ। ‘अहिले बजारमा माग अधिक छ। हामीले एकठाउँ पर्याप्त सिलिन्डर दिएर मात्र भएन। सबैतिर पुर्याउनका लागि निश्चित संख्या नै तोकेर ग्यास पठाएका छौ। त्यही अनुसार उपभोक्ताले ग्यास पाउँछन,’ लामिछानेले भने, ‘उपभोक्ताको माग थेगिसक्नु छैन। तरपनि व्यवस्थापन गर्ने प्रयास भईरहेको छ। उपभोक्ताले अनावश्यक लाम बस्न नपरोस भनेर यो व्यवस्था मिलाएका हौं।’  

बिक्रेताकहाँ उपभोक्ताले अनावश्यक रुपमा लाम बस्न नपरोस भनेर पनि संख्या सार्वजनिक गरेको उनले बताए। सामाजिक सञ्जालमार्फत दैनिक रुपमा कम्पनिबाट बाहिरिने ग्यासको सिलिन्डर संख्या सार्वजनिक गर्ने पनि उनले बताए।

‘सोमबार लेखनाथमा भन्दा पोखरा भित्र बढी ग्यास वितरण हुनेछ। किनकी बजारमा धेरै माग छ। त्यही अनुसार हामीले पनि संख्या व्यवस्थापन गर्ने हो,’ उनले भने, ‘लेखनाथ क्षेत्रमा भन्दा पोखरामा ग्यासका प्रयोगकर्ता पनि बढि छन।’

यो कम्पनिले पुरा तौलको ग्यास भरेर बिक्री गर्दा दैनिक २५ सय हाराहारीमा सिलिन्डर बजार पठाउँदै आएको थियो। तर, नेपाल आयल निगमले पछिल्लो पटक आधा ग्यास भरेर बजारमा सिलिन्डर पठाउन निर्देशन दिएसँगै कम्पनिले पनि त्यही अनुसार ग्यास भर्न थालेको छ। यसअघि नाकाबन्दीको बेलामा पनि ग्यास कम्पनिले पोखरा क्षेत्रमा बिक्रेतालाई कोटा निर्धारण गरेर ग्यास बिक्री गरेको थियो।  

जिल्ला प्रशासन कार्यालय कास्कीमा शनिबार बसेको आपूर्ति समन्वय बैठकले पेट्रोलियम पदार्थ र ग्यासको सहज आपूर्ति मिलाउन मौज्दात र वितरणको अवस्था संकलन गर्ने निर्णय गरेको थियो। यसका लागि ग्यास उद्योग र बिक्रेताले आफूले प्राप्त गरेको र वितरण गरेको परिमाणको दैनिक अभिलेख प्रशासन कार्यालयमा अनिवार्य बुझाउनुपर्ने भनेर प्रशासनले अनिवार्य गरेको थियो। बैठकमा आयल निगम गगनगौँडा डिपो, ग्यास उद्योगी, बिक्रेता, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बजार अनुगमनलाई तिब्रता दिएको र आपूर्ति व्यवस्थापनलाई सहज बनाउने प्रयास गरिरहेको बताए। ‘उपभोक्तालाई सहज हुनेगरि हामीले काम गरिरहेका छौं। ग्यास नपाएको भन्ने केही गुनासो आएका छन। हामीले निरन्तर बजार अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘गुनासो आएपनि प्रभावको अवस्था हेरेर बजार अनुगमन हुनेछ। तर, नियमित रुपमा बजारका गतिविधि पनि प्रशासनले नियालेको छ।’ अनावश्यक रुपमा ग्यास मौज्दात नराख्न पनि उनले प्रशासनले उपभोक्तालाई अनुरोध गरेको छ।

कास्की प्रशासनले शनिबार बजार अनुगमन गर्दै भरिएका ग्यास सिलिन्डर लुकाउने बिक्रेतालाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ। प्रशासनको अनुगमन टोलीले विभिन्न पाँचवटा ग्यास डिलर अनुगमन गरेकोमा पोखरा महानगरपालिका–६, जरेवरस्थित भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिन्डर (पूर्ण क्षमतामा भरिएका) अनुचित रुपमा लुकाई राखेको अवस्थामा फेला पारेको थियो। ग्यास सिलिन्डर लुकाएर कृत्रिम अभाव खडा गरेको एवं एउटा सिलिन्डरबाट अर्काे सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा तीनथान उपकरण समेत प्रशासनको अनुगमन टोलीले फेला पारेको बरालले जानकारी दिए।  

उपभोक्ता संरक्षण विपरितको कार्य गरेको भन्दै भण्डारी ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५, बमोजित तत्काल ५० हजार रुपैयाँ जरिवाना गरिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। अनुगमनका क्रममा फेला परेका ४८ थाल ग्यास सिलिन्डर (पूर्ण क्षमतामा भरिएका) र ३८ थाल सिलिन्डर (आधा भरि) लाई पहिले आउने उपभोक्तालाई पहिलो सेवा प्रदान गर्ने, बिना भेदभाव उपभोक्तालाई ग्यास विक्री वितरण गर्न पनि प्रशासनले निर्देशन दिएको बरालले जानकारी दिए।  

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन्। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।

प्रकाशित: १ चैत्र २०८२ १८:२५ आइतबार

ग्यास पोखरा