गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।
सोमबार बसेको प्रदेश सभामा अर्थमन्त्री जितबहादुर शेरचनले सो रकम बराबरको बजेट विनियोजन गरेको जानकारी दिए।
अर्थमन्त्री शेरचनले पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ र चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको बताए ।
यस्तै, उनले पुँजीगततर्फ ६० प्रतिशतभन्दा बढी र चालूतर्फ ३८.५६ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेको थियो। चालू वर्षको बजेटको तुलनामा प्रस्तुत गरिएको बजेट १ अर्बले बढी हो।
यस्तै, सरकारले वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्टाइएको छ। अर्थमन्त्री शेरचनले चालू खर्च गत वर्षभन्दा १ प्रतिशत घटाइएको र सङ्घ सरकारले गरेकै अनुपातमा कर्मचारीको तलब वृद्धि हुने बताए।
यस्तै, सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँड शीर्षकमा ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदान ५५ करोड ४६ लाख, विशेष अनुदान ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रकाशित: १ असार २०८३ १८:०० सोमबार



