अर्थ

बजेटबारे पूर्वअर्थमन्त्री पुनको प्रतिक्रयाः मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा

फाइल तस्बिर

पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यद्यपि बजेटमा आशलाग्दा धेरै कार्यक्रम रहेको बताए। किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुमबासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको बताउँदै उनले बजेटमा राज्यका तर्फबाट रोजगारी सृजना गर्ने विषयलाई भने उपेक्षा गरिएको दाबी गरे।  

‘समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ । तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्’, पुनले भने, ‘मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुमबासीहरुका लागि कुनै सम्बोधन गरिएन । रोजगारी सृजना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन् । रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ ।’  

पुनले नेपाल टेलिकम र नेपाल वायु सेवाजस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे । ‘नाफामा चलिरहेका कम्पनीको शेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठीक छैन’, पुनले भने ।  

सरकार नेतृत्वकर्ता रास्वपाले पुराना दलमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको भन्दै बजेटको स्रोतका रुपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख रहेको बताए । अर्थमन्त्री ४ खर्ब आन्तरिक र २ खर्बभन्दा बढी वैदेशिक ऋणबाट श्रोत जुटाउने योजनामा रहेको उनको भनाइ थियो ।  

‘रास्वपाका साथीहरु स्थापित पार्टीहरुले ऋण बढी लिएर देश डुबाए, जनताको टाउकोमा ऋणको भारी थपे भन्नुहुन्थ्यो’, पुनले भने।  

पुनले आफूले आर्थिक वर्ष ०८०/०८१ को बजेटका केही कार्यक्रम समावेश भएकोमा सरकारलाई धन्यवाद दिए। 

प्रकाशित: १५ जेष्ठ २०८३ २०:३५ शुक्रबार