जेनजी आन्दोलनको बाबजुत पनि नेपालमा विदेशी पर्यटक आगमनमा कमी नभएको तथ्यांकले देखाएको छ। यो अक्टोवरमा भित्रिएका विदेशी पाहुनाको संख्या सन् २०२५ को १० महिना अवधिमासबैभन्दा बढी हुन। पर्यटन बोर्डका अनुसार यो अक्टोवर महिनामा नेपालमा हवाइमार्गबाट भित्रिएका विदेशी पाहुनाको संख्या १ लाख २८ हजार ४ सय ४३ रहेको छ।
अघिल्लो वर्षभन्दा पनि बढेर यो पटक अक्टोवर महिनामा नेपालमा विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ। यसअघि गत मार्चमा यो वर्षकै सबैन्दा बढी १ लाख २१ हजार ६ सय ८७ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। त्यसपछि गत अप्रिलमा १ लाख १६ हजार ४ सय ९० जना पाहुना नेपाल भित्रिएका थिए।
बोर्डको तथ्यांक अनुसार सन् २०२४ को अक्टोवरमा भन्दा अहिले ३.३ प्रतिशत आगमन बढेको छ। २०२४ को अक्टोवरमा नेपालमा १ लाख २४ हजार ३ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यस्तै कोरोना भाइरस संक्रमण सुरु हुनुअघिको वर्ष २०१९ को अक्टोवरको भन्दा योपटकको आगमन भने केही कमी भएको छ। २०१९ को अक्टोवरमा नेपालमा १ लाख ३४ हजार ६९ जना विदेश पाहुना भित्रिएका थिए। २०१९ अक्टोवरको तुलनामा भने यो पटकको आगमन भने ४.२ प्रतिशतले कमी भएको पनि बोर्डको भनाई छ।
‘जेनजी आन्दोलन भएपनि सुरुवाती चरणमा आगमनमा असर परेको हो। तर, त्यसपछि भने पर्यटकीय सिजन परेकोेले विदेशीको आगमनमा सुधार भएको देखिन्छ,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन, ‘सुरुवाती समयमा आगमनमा कम देखिएको भएपनि पदयात्राको सिजन परेकोले पर्यटक भित्रिएका देखिन्छ।’
लामिछानेले यो अक्टोवरमा भित्रिएका पाहुनाको आकार नै यो वर्षको सबैभन्दा बढी रहेको बताए। उनका अनुसार भारतीय पाहुनाको आगमन भने अझै कमजोर छ। भारतीय पाहुनाको आगमन कमजोर हुँदा समग्र आगमन प्रभावित भएको देखिएको भएपनि जेनजी आन्दोलनले खासै असर परेको यो तथ्यांकले नदेखाएको उनले बताए। ‘पोहोरको अक्टोवरको भन्दा यो अक्टोवरमा ३.३ प्रतिशत सुधार भएको छ। बरु कोरोना अघिको आगमनलाई भने उछिन्न सकेको छैन,’ उनले भने।
जेनजी आन्दोलनले भारतीको आकार घटाएपनि यूरोपियन, अमेरिकीको आगमनमा खासै असर नगरेकोले पनि आगमनको आकार राम्रो देखिएको लामिछानेले बताए। ‘भारतीयको आगमन भने स्वात्तै घटेको हो। अरु तेश्रो मुलुकका पाहुना आएका छन। अमेरिकीको आगमन पनि सुधार भएको छ,’ उनले भने।
उनका अनुसार पर्यटक आगमन सेप्टेम्बरमा आगमनमा जेनजी आन्दोलनले केही असर परेको भएपनि अक्टोवरको आगमनमा भने सुधार भएको बताए। ‘जेनजी आन्दोलनका कारण तत्कालिन अवस्थामा सेप्टेम्बरमा आगमन ओरालो लागेको थियो। आन्दोलनको सुरुवाती समयमा आगमनमा प्रभाव परेपनि पछिल्लो समय सुधार भएको छ,’ उनले भने।
नेपालको पर्यटन बेलैमा रिकभर हुने भएकोले पनि आगमनमा सुधार देखिएको उनले बताए। ‘आन्दोलनपछि पर्यटन प्रवर्द्धनका गतिविधि पनि भएका थिए। त्यसबाहेक सिजन पनि परेको हो। अक्टोवर भनेको पर्यटक आउन समय पनि हो,’ उनले भने, ‘सेप्टेम्बरका सुरुमा धमाधम रद्द भएपनि अक्टोवरमा मनोवल बढेको हो। सामाजिक सञ्जाल लगायत सबैको पहलमा प्रवर्द्धन भएकोले पनि पाहुना भित्र्याउनल बल पुगेको छ।’
उनका अनुसार भारतीय बाहेकका मुलुकका पाहुनाको आगमनमा भने अघिल्ला पटक भन्दा सुधार भएको छ। पदयात्राको सिजन पनि पर्ने भएकोले तेश्रो मुलुकका विदेशीको आगमन बढेको हो। ‘अहिले पदयात्राको सिजन हो। जेनजी आन्दोलनपछि सुरुवाती समयमा धमाधम आगमन रद्द भयो। तर, पछि फेरि सुधार भयो। रद्द भएको बुकिङ पनि फिर्ता भयो, त्यसले गर्दा आगमनमा सुधार देखिएको छ,’ लामिछानेले भने।
बोर्डको तथ्यांक अनुसार यो पटक भारतीय पाहुना भने जम्मा १७ हजार २ सय ९८ जना भित्रिएका छन। अमेरिकी पाहुनाको संख्या १३ हजार २ सय ८६ रहेको छ। बेलायती पाहुनाको संख्या ८ हजार ७ सय १८ रहेको छ। चिनियाँ पाहुनाको संख्या भने जम्मा ६ हजार ७ सय ५५ रहेको छ। जर्मनबाट मात्र ६ हजार ३ सय ६६ जना पाहुना भित्रिएका छन्।
‘जेनजी आन्दोलनपछि भारतीय पाहुनाको आगमनमा पनि ठुलो गिरावट आएको छ। आन्दोलनपछि भारत सरकारले ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा यात्रा गर्दा सचेत हुन आफ्ना नागरिकलाई आग्रह गरेको थियो,’ बोर्डका गण्डकी प्रमुख लामिछाने भन्छन, ‘नेपाल यात्रा गर्दा सचेत हुन भारत सरकारले आग्रह गरेपछि भारतीय आगमन एकाएक खस्कियो।’
प्रकाशित: १६ कार्तिक २०८२ १८:४४ आइतबार