पछिल्ला पाँच वर्षमा नेपालको विदेशी विनिमय सञ्चिति करिब तीन गुणाले बढेको छ। युवा वैदेशिक रोजगारीमा गएपछि रेमिटेन्स आप्रवाहमा भएको वृद्धि, पर्यटकबाट हुने विदेशी मुद्रा आम्दानी, वैदेशिक सहायता तथा ऋण, निर्यातबाट प्राप्त विदेशी मुद्रा, आयातमा भएको तुलनात्मक नियन्त्रणलगायत कारणले सञ्चिति बढेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २०८३ साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्ष (आव) २०७८/७९ को असार मसान्तमा विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो। पछिल्लो अवधिमा सञ्चितिमा भएको निरन्तर वृद्धिले नेपालको बाह्य क्षेत्रको वित्तीय क्षमता विस्तार भएको छ।
विदेशी विनिमय सञ्चिति मुलुकले विदेशबाट वस्तु तथा सेवा खरिद, ऋणको साँवा-ब्याज भुक्तानी, आयात भुक्तानी तथा अन्य अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न प्रयोग गर्न सक्ने मुद्राको मौज्दात हो। सञ्चिति पर्याप्त रहनुलाई बाह्य क्षेत्रको स्थायित्वका लागि महत्वपूर्ण मानिन्छ। सञ्चिति बढेसँगै मुलुकको आयात धान्ने र अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने क्षमता बलियो हुन्छ।
विदेशी मुद्दा सञ्चितिमा मुलुक बलियो हुनु अर्थतन्त्रका लागि सुखद भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। ‘विदेशी मुद्रा सञ्चितिले देश विकासका लागि सहयोग पुग्छ,’ उनले भने, ‘सामान, कच्चा पदार्थ, प्रविधि आयातमा सघाउ पुग्छ।’ उनका अनुसार यसले ठुला परियोजना सञ्चालनमा पनि टेवा पुग्छ।
आव २०७९/८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा त्यसपछिका आवमा क्रमिक रूपमा बढेर यसको आकार २०८०/८१ मा २० खर्ब ४१ अर्ब १० करोड, २०८१/८२ को असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड र २०८२/८३ को असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुग्यो।
विदेशी विनिमय सञ्चितिको ठुलो हिस्सा नेपाल राष्ट्र बैंकसँग छ। २०८३ असार मसान्तमा राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ थियो। साउन मसान्तमा यस्तो सञ्चिति १.३ प्रतिशतले बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा गत असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति साउन मसान्तमा ०.९ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत छ।
विदेशी विनिमय सञ्चिति बढ्नुको प्रत्यक्ष लाभ मुलुकको आयात क्षमतामा पर्छ। नेपालजस्तो ठुलो व्यापार घाटा रहेको तथा इन्धन, औद्योगिक कच्चा पदार्थ, मेसिनरी, विद्युतीय सामग्री तथा उपभोग्य वस्तुका लागि आयातमा निर्भर अर्थतन्त्रमा पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनु लाभदायक मानिन्छ। सञ्चिति पर्याप्त हुँदा अन्तर्राष्ट्रिय बजारबाट आवश्यक वस्तु तथा सेवा खरिद गर्न विदेशी मुद्रा अभाव हुने जोखिम कम हुन्छ। यसले अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई समेत स्थिर राख्न सहयोग गर्छ। विदेशी मुद्राको माग अचानक बढ्दा पनि केन्द्रीय बैंकसँग पर्याप्त सञ्चिति भएमा बजारमा तरलता व्यवस्थापन गर्न सहज हुन्छ।
विदेशी विनिमय सञ्चितिले बाह्य भुक्तानी क्षमतामा समेत सुधार ल्याउँछ। वैदेशिक ऋणको साँवा-ब्याज भुक्तानी, अन्तर्राष्ट्रिय सेवा खरिद र अन्य विदेशी दायित्व पूरा गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति आवश्यक हुन्छ। विदेशी विनिमय सञ्चितिको पर्याप्तता विदेशी मुद्रा बजारको स्थायित्वसँग पनि जोडिन्छ। विदेशी मुद्रा आपूर्ति र मागबिच ठुलो असन्तुलन हुँदा विनिमय दरमा दबाब पर्न सक्छ। पर्याप्त सञ्चितिले त्यस्तो दबाब व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई थप सहज हुन्छ।
नेपालको मुद्रा भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा आबद्ध रहेकाले पनि विदेशी मुद्रा सञ्चितिको महत्व अझ बढी हुन्छ। भारतीय मुद्राको हिस्सा कुल सञ्चितिमा उल्लेख्य रहेको अवस्थामा भारतसँगको व्यापार तथा भुक्तानी व्यवस्थापनमा सञ्चितिले सहयोग पुग्छ।
विदेशी विनिमय सञ्चिति बढ्नु मात्र अर्थतन्त्रका सबै पक्ष बलियो भएको प्रमाण भने नभएको सरोकारावाला बताउँछन्। सञ्चिति मुख्यत: रेमिटेन्स वा आयात घटेका कारण बढेको हो भने त्यसको दीर्घकालीन दिगोपनाका लागि उत्पादन, निर्यात र विदेशी मुद्रा आर्जनका अन्य स्रोत विस्तार गर्नुपर्ने हुन्छ। त्यसैले बढ्दो सञ्चितिलाई अर्थतन्त्रको संरचनात्मक सुधारसँग जोडेर हेर्नु आवश्यक छ। निर्यात विस्तार, पर्यटनबाट आम्दानी वृद्धि, सूचना प्रविधि तथा सेवा निर्यात विस्तार र स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सके विदेशी विनिमय सञ्चितिमा भएको वृद्धि दीर्घकालीन बाह्य स्थायित्वको आधार बन्न सक्छ।
प्रकाशित: ६ आश्विन २०८३ ०७:२३ मंगलबार