अर्थ

व्यवसायीलाई तर्साएर र धम्क्याएर होइन संवादबाट राजस्व बढाउनेतर्फ लाग्नुस्ः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

 अर्थमन्त्री वाग्लेले शुक्रबार वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भए तापनि  संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरेका हुन् ।

‘लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन् । तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु’, उनले भने, ‘घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन् । त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ ।’

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा÷पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला’, उनले भने, ‘‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर, बजार अनुगमनको पनि दुरुप्रयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।’

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गरे । ‘कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी व्यवसाय गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ’, उनले भने, ‘राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईँहरू मेरो नोटिसमा आउनुहुनेछ । सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।’

अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताएका छन्। ‘भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिहरूमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्नेछौँ’, उनले भने, ‘अहिले हिजोजस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ । अब सेवाप्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेछ ।’

प्रकाशित: २० चैत्र २०८२ १८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App