यस वर्ष तिहारको बेला फूल मालाको व्यापार ४० करोड हाराहारीमा पुग्ने अनुमान व्यवसायीहरूले गरेका छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष तिहारको बेला पोहोर सालको तिहारको तुलनामा पाँच करोड रुपैयाँले फूलको व्यापार बढ्ने अनुमान गरिएको छ। पोहर साल तिहारको बेला देशभरि करिब ३५ करोड रुपैयाँ बराबरको फूलको व्यापार भएको उनको भनाइ छ। उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा वर्षभरि फूलको व्यापार तीन अर्बदेखि साढे तीन अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ।
नेपालमा फूल तथा फूलजन्य वस्तुको बजार हरेक वर्ष १० देखि १५ प्रतिशतको दरले बढ्दै गएको व्यवसायीहरूले जनाएका छन्। श्रेष्ठका अनुसार तिहारको बेला सयपत्री, मखमली र गोदावरी फूल बिक्री हुन्छ। ‘ती सबै फूल स्वदेशमै उत्पादन हुन्छन्। तिहारमा खपत हुने फूल वैधानिक रूपमा विदेशबाट आउने गरेको छैन। अवैधानिक रूपमा भने भारतबाट फाट्टफुट्ट आउने गरेको पाइएको छ’, श्रेष्ठले भने।
उनका अनुसार तिहारबाहेक अन्य समयमा भने विदेशबाट आयात हुने गर्छ। उनको दाबी छ, ‘देशमा खपत हुने फूलमध्ये ७० प्रतिशत स्वदेशमै उत्पादन हुन्छ भने ३० प्रतिशत फूल मात्र विदेशबाट आउने गर्छ।’
भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष फूलको आयात कारोबार घट्दै गएको छ भने निर्यात कारोबार ह्वात्तै बढेको छ। आव २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा फूलको आयत कारोबारमा कमी आएको छ।
आव २०८१/८२ मा आव २०८०/८१ को तुलनामा ५४.२७ प्रतिशतले फूलको आयात कारोबारमा कमी आएको थियो। त्यस आवमा फूल तथा फूलजन्य वस्तुको कारोबार वार्षिक आयात कारोबार १२ करोड ७० लाख ८९ हजार रहेको थियो। आव २०८०/८१ मा भने फूलको आयात कारोबार २७ करोड ७९ लाख पाँच हजार पुगेको थियो।
यसैगरी वार्षिक निर्यात कारोबार आव २०८०/८१ मा एक करोड दुई लाख १२ हजार रहेकोमा आव २०८१/८२ मा १०९.१६ प्रतिशतले वृद्धि भई दुई करोड १३ लाख ६० हजार रुपैयाँले फूलको करोबार भएको छ।
नेपालमा २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको व्यवसायीहरू बताउँछन्। त्यसपछि फूल व्यवसायले विस्तारै गति लिन थालेको हो। एसोसिएसनका अनुसार २०४९ सालसम्म देशभरि करिब ८० जना मात्र नर्सरी व्यवसायीहरू थिए। २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को स्थापना भएपछि फूलको व्यावसायिक विकास, विस्तार र प्रवर्द्धनले गति लिएको हो।
हाल देशभरि सहरीकरण बढ्दै गइरहेको छ। केन्द्रीय राजधानी काठमाडौं, सातै प्रदेशका राजधानी तथा अन्य सहरहरूमा फूल व्यवसाय विस्तारै फैलिँदै गएको छ। हाल ५२ जिल्लामा फूल खेती भइरहेको छ।
यसैगरी दुई सय ७० हेक्टर क्षेत्रफलमा फूल व्यवसाय भइरहेको छ। यस व्यवसायमा एक हजार दुई सय ३५ भन्दा बढी व्यवसायीहरू संलग्न रहेका छन्। यस क्षेत्रमा आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको अनुमान गरिएको छ। फूल व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरी ५३ हजार पाँच सय भन्दा बढी व्यक्तिहरूले रोजगार पाएको एसोसिएसनले जनाएको छ।
तिहारको अवसरमा एसोसिएसनले शुक्रबारदेखि ललितपुरको जाउलाखेलमा फूल मेला सञ्चालन गरिरहेको छ। उक्त मेलामा अवलोकनकर्ताको घुइँचो लागेको र दुई दिनमै ४४ लाख बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार मेलाको पहिलो दिन शुक्रबार सात हजार दुई सय जनाले अवलोकन गर्नुका साथै १९ लाख ७५ हजारको कारोबार भएको थियो। यसैगरी दोस्रो दिन शनिबार १४ हजार सात सय जनाले अवलोकन गरेका थिए। फूल व्यवसायको प्रवर्द्धन तथा समय अनुकूल फूलको जातीय विकास र गुणास्तरीय उत्पादनमा सहयोग पुर्याउने उद्देश्यबाट उक्त मेला आयोजना गरिएको थियो। नजिकै आइरहेको तिहार पर्व तथा छठ पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला गरिएको एसोसिएसनले जनाएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावना भएरै नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्।
प्रकाशित: २ कार्तिक २०८२ ०७:४३ आइतबार