अर्थ

बाढीपहिरोले खाद्य आपूर्तिमा असर: अकासियो उपभोग्य वस्तुको मूल्य

भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीसँगै काठमाडौं उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाडौं उपत्यकाको लाइफलाइनका रूपमा रहेको नागढुंगा–मुगलिन खण्डको कृष्णभिरस्थित सडक त्रिशूलीको बाढी कटानले भासिएको छ।

यो मार्ग भएर भित्रिने र बाहिरिने मालवाहक गाडी आइतबारदेखि ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावितसँगै मूल्यवृछिद्ध भएको हो। उपत्यकामा खाना पकाउने ग्यासको पनि अभाव छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभिर त्रिशूली नदीले कटान गर्दा सडक भासिन पुगेको हो। सडक भासिएपछि वैकल्पिक मार्गबाट मालवाहक र यात्रुवाहक सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइए पनि राजमार्ग जस्तो सहज छैन।  

आपूर्ति प्रणलीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूललगायतको मूल्य बढेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यास ढुवानीमा पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ्न गई मूल्य बढेको व्यापारीको दाबी छ।

काठमाडौंका बालाजु, माछापोखरी, सामाखुसीलगायत क्षेत्रका थोक तथा किराना पसलमा खाद्यान्नलगायत उपभोग्यवस्तु खरिद गर्नेको भिड देखिन थालेको छ। टोखा रोड गोंगबुस्थित महर्जन खाद्य स्टोरका दिनेश महर्जनले पसलमा नियमित ग्राहकभन्दा राहत बाँड्न खाद्यान्नलगायत किन्नेहरूको चाप बढेको बताए।

 उनले चिनी, चामल, चिउरा, खाने तेललगायतमा मूल्य बढेको जानकारी दिए। महर्जनले प्रतिकेजी ४० रुपैयाँले चिनीको मूल्य बढेर आउँदा पनि ग्राहकको माग धान्नै मुस्किल भइरहेको बताए।

तारकेश्वर नगरपालिका–५ लोलाङ जनजागृति टोलस्थित जेनिक स्टोरका सञ्चालक ज्योतिकृष्ण बानियाँले अहिले बजारमा चिनी अभाव भएको बताए। चामल, चिनी र गेडागुडीमा करिब ३० देखि ५० प्रतिशतसम्म मूल्यवृद्धि भएको जानकारी गराउँदै बानियाँले भने, ‘एक साताअघिसम्म प्रतिकेजी सय रुपैयाँमा बिक्री गर्ने चिनीको खुद्रा मूल्य अहिले बढेर १४० रुपैयाँ पुगेको छ।’

उनका अनुसार १९ सय रुपैयाँमा पाइने २५ केजी गुडलक ब्रान्डको जिरा मसिनो चामलको मूल्य बढेर २५ सय रुपैयाँसम्म पुगेको छ। प्रतिलिटर २ सय ४५ रुपैयाँमा पाइने सनफ्लावर तेलको मूल्य बढेर ३०० रुपैयाँ बढी पुगेको छ। प्रतिलिटर ३४० रुपैयाँमा पाइने तोरीको तेल बढेर ३७५ पुगेको छ।

माछापोखरीस्थित श्रेष्ठ सप्लायर्सका सञ्चालक सञ्जीव श्रेष्ठले त्रिशूलीको बाढीले आइतबार कृष्णभिर क्षेत्र कटान गरेपछि काठामाडौं भित्रिने मुख्य राजमार्ग ठप्प हुँदा वैकल्पिक बाटो भएर सामान ल्याउनुपर्दा समय र ढुवानी खर्च बढेको बताए।

उनका अनुसार यसको असर उपभोग्यलगायत पदार्थ आपूर्तिमा पर्दा मूल्य बढेको हो। भनेको बेलामा सामान ल्याउन नसकिएको र आपूर्ति पनि केही घटेपछि बजार मूल्य बढेको  उनले बताए।

सामान्य अवस्थामा ठुलो ट्रकबाट एकैपटक ठुलो परिमाणमा सामान काठमाडौं ल्याइन्थ्यो। बाढीले मुख्य राजमार्ग कटान गरेपछि वैकल्पिक र लामो बाटो भएर सामान ल्याउनुपर्ने बाध्यात्मक अवस्था सिर्जाना भएको छ। श्रेष्ठले भने, ‘व्यवसायीले बढेको लागत उपभोक्ता मूल्यमा  जोड्दा सामान महँगो हुन्छ।’

कुलेश्वरस्थित अग्रवाल खाद्य स्टोरका महेन्द्र अग्रवालले काठमाडौं आउने मुख्य राजमार्ग कृष्णभिरमा अवरुद्ध भएपछि लामो बाटो भएर सामान ढुवानी गर्नुपदा मूल्य केही बढ्नु स्वाभाविक भएको बताए। अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अघिल्लो साताको तुलनामा मूल्य केही बढेको उनको भनाइ छ। उनले खाद्यान्नभन्दा मौसमी तरकारीको मूल्य धेरै बढेको बताए।

कालीमाटी बजारमा शनिबार सात लाख ९५ हजार किलो तरकारी, फलफूल र माछा भित्रिएकोमा आइतबार एक लाख ५१ हजार किलो हाराहारी मात्र आएको छ। यो विवरण कालीमाटी तरकारी बजार व्यवस्थापन समितिको तथ्यांकमा छ।

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौंमा चामल, दाललगायत खाद्यान्नको तत्कालै ठुलो अभाव हुने अवस्था नरहेको पनि एकथरी व्यवसायीले बताएका छन्।

उनीहरूका अनुसार चामलको मौज्दात दुई–तीन महिनासम्म पुग्ने र अन्य खाद्यान्न पनि एक महिनासम्मका लागि स्टक छ। यही भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि धादिङको गल्छी सडकखण्ड क्षेत्र डुबानमा पर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। अवरोध हटाएर राजमार्ग खुलाएको दोस्रो दिनमै आइतबार बाढीले कटान गर्दा कृष्णभिरस्थित सडक भासिएपछि त्यहाँबाट आवागमन ठप्प छ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले काठमाडौंका गोदामहरूमा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। तीन महिनासम्म खाद्य अभाव नहुने उनको दाबी छ।

कृष्णभिरको पहिरोले काठमाडौैंको लाइफलाइन पृथ्वी राजमार्ग बन्द भएका कारण अत्यावश्यक पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले उच्च सतर्कता अपनइएको जनाएको छ।

निगमले ग्यास र इन्धन आपूर्तिमा कुनै समस्या नहुने र वैकल्पिक मार्गमार्फत ल्याउने प्रबन्ध मिलाएको छ। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले सडक अवरुद्ध भएपछि मकवानपुर (हेटौंडा) को वैकल्पिक बाटो प्रयोग गरी इन्धन ल्याउने जानकारी दिए। साहले भने, ‘ग्यासका धेरैजसो प्लान्ट तराईमै छन्, त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाटै ल्याउँछौं।’

सरकारले विपद्को मौका छोपेर कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न र औषधिलाई प्राथमिकतामा राखेर आपूर्ति सहज बनाउन व्यवसायीलाई आग्रह गरेको छ। अनियमितता भएमा विभागको गुनासो प्रणाली, टोल–फ्री नम्बर ११३६ तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था पनि गरिएको विभागले बताएको छ।

सरकारले निजी क्षेत्रलाई विपद्का बेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको छ। विभागले बुधबार सूचना जारी गरी विपद्को कठिन समयमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि जस्ता गैरकानुनी काम गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।

सडक विभागले कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार प्राविधिक टोली त्यहाँ पुगेर सूक्ष्म अध्ययन गर्दैछ। प्राविधिक टोलीले दिने सुझावका आधारमा काम अघि बढाइने उनले बताए।  

प्रकाशित: १७ भाद्र २०८३ ०७:३१ बुधबार