अर्थ

पोखरा–नेपालगञ्ज रुटमा फेरि उडान हुने

निजी हवाई कम्पनि बुद्ध एयरले पोखरा–नेपालगञ्ज रुटमा पुन उडान सुरु गर्ने भएको छ। यात्रु संख्या कम हुँदा यो रुटमा यसअघि उडान रोकिएको थियो। सातामा तीनदिन उडान संचालन गर्ने तयारी एयरलाइन्सको रहेको छ। भदौ ३१ गतेदेखि यो रुटमा उडान संचालन गर्ने एयरलाइन्सले बताएको छ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार भारतीय पर्यटकको सिजन सुरु हन थालेको र चाँडबाँड पनि नजिकिन थालेकोले यो रुटमा पुन उडान संचालन थालिएको हो। उनका अनुसार सुरुवाती चरणमा हरेक आइतबार, बुधबार र शुक्रबार यो रुटमा उडान संचालन हुनेछ। यो रुटमा गत जेठ पहिलो सातादेखि उडान रोकिएको थियो।

‘लामो समयदेखि पोखरा–नेपालगञ्ज उडान चलिरहेको थियो। तर, यात्रु अभावले जेठ पहिलो सातादेखि उडान रोकिएको थियो। अब भने यात्रुको माग पनि थपिएको छ,’ उनले भने, ‘भारतीय पर्यटकको सिजन पनि हो। घुमघामका लागि आन्तरिक पाहुना पनि यात्रामा थपिन्छन। त्यसैले भदौ अन्तिम देखि पुन उडान गर्न थालिएको हो।’

मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकको सिजन पनि भएकोले पनि उडान सुचारु गर्न थालिएको उनले बताए। ‘पोखरा हुँदै मुस्ताङको मुक्तिनाथसम्म जाने पर्यटकको संख्या पर्याप्त हुन्छन। धार्मिक पर्यटकको संख्या थपिन्छ। त्यसबाहेक आन्तरिक पर्यटक पनि घुमघाममा निस्कन्छन,’ उनले भने। दसैं–तिहार लगायतका चाडबाड पनि सुरु हुने बेला भएकोले उडान पुनः सुचारु गर्न थालिएको उनले सुनाए।  

अहिले बुद्धले पोखराबाट काठमाडौं बाहेक पोखराबाट भैरहवा भने नियमित उडान गरिरहेको छ। यसअघि पोखराबाट भरतपुर पनि उडान भएको थिया। तर पोखरा–मुग्लिन सडक बिस्तार सकिएपछि पोखरा–भरतपुर उडान भने रोकिएको थियो। पृथ्वी राजमार्गको सहजता भएसँगै पोखरा–भरतपुर उडान रोकिएको थियो।

‘पोखरा–भरतपुरको उडान आवश्यकता अनुसार गर्न सकिन्छ। तर, अहिले नियमत उडान भने छैन। किनकी स्थलमार्गको पहुँच सहज भएकोले यात्रुले छोटो समयमा सडकबाटै यात्रा गर्न पाएका छन,’ उनले भने।  

प्रकाशित: ४ भाद्र २०८३ १७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App