पोखरामा महोत्सव सिजन शुरु भएको छ । पर्यटकीय नगरी पोखरामा मंसिर शुरु भएलगत्तै महोत्सव सिजन सुरु भएको हो । महोत्सव सिजन मानिने मंसिरदेखि माघसम्ममा पोखरामा ५ वटा ठूला महोत्सव तथा मेला आयोजना हुने गरेका छन् । त्यसबाहेक अन्य साना आधा दर्जन भन्दा बढी मेला तथा महोत्सवहरु आयोजना हुने गर्छन् । उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ्रे गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् ।
पोखरामा भने उस्तै प्रकृतिका तीन ठूला महोत्सव आयोजना हुने गरेका छन् । पोखरामा पोखरा उद्योग वाणिज्य संघले पोखरा औद्योगिक व्यापार मेला, लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव र युनाईटेड क्लव पोखराले पोखरा महोत्सव वर्षेनी आयोजना गर्नेगरेका छन् । उस्तै प्रकृतिका यी मेलाहरु एकपछि अर्को गर्दै आयोजना हुन्छन् । यिनीहरुलाई मिलाएर एउटै बनाउने बारेमा पटक पटक छलफल नभएका भने होईनन् । तर सार्थक निस्कर्ष ननिस्कदा वर्षेनी एकअर्कासँग जुध्ने वा सेरोफेरोमा पारेर कार्यक्रम आयोजना गर्दा दुबैतर्फ दर्शक कम हुनेगरेका छन् ।
यसपालिको महोत्सव सिजन पोखरा औद्योगिक व्यापार मेलाबाट शुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने सो मेला यहि मंसिर १७ गतेदेखि २१ गतेसम्म आयोजना हुँदैछ । पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने यो मेला विगतमा १२ दिनसम्मको हुने गरेको थियो । यस वर्षदेखि भने यो मेला परिमार्जन भएर ५ दिनमा झरेको छ । यो मेलालगत्तै लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ महोत्सव आयोजना हुनेछ । यस वर्ष पुस ३ गतेदेखि १४ गतेसम्म १२ दिन महोत्सव सञ्चालन हुनेछ । त्यस्तै, युनाइटेड क्लव पोखराको आयोजनामा हुने पोखरा महोत्सव पुस अन्तिम साताबाट माघ पहिलो सातासम्म सञ्चालन हुनेछ ।
पोखरामा अर्को चर्चित महोत्सव भनेको पोखरा सडक महोत्सव हो । पोखराको पर्यटकीय केन्द्र लेकसाईडमा हुने यो महोत्सव अंग्रेजी नया वर्षको अवसर पारेर हरेक वर्ष पुस १३ गतेदेखि १७ गतेसम्म आयोजना हुने गरेको छ । लेकसाईडको खहरेदेखि बसुन्धरा पार्कसम्मको झण्डै तीन किलोमिटर क्षेत्रमा आयोजना हुने यस महोत्सवमा सडकमै खाने, सडकमै नाच्ने र सडकमै रमाउने अवसर दर्शकले प्राप्त गर्दछन् । यो महोत्सवको पनि तयारी शुरु भएको आयोजक रेवान पोखराले जनाएको छ ।
यसबाहेक यहि सिजनमा पोखरा–१७ सितापाईलामा ढुंगेसाँघु मेला लाग्छ । माघे सक्रान्तीको अवसरमा लाग्ने मेला यो धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । जहाँ माघे स्नान गरिनुका साथै तरुल र लड्डु खान पाईन्छ ।
अघिल्लो वर्ष भएको बलुन महोत्सव यस वर्ष भने नहुने भएको छ । अंग्रेजी नया वर्षको केहि दिन अगाडि आयोजना हुने यो महोत्सव यस वर्ष नहुने भएको हो ।
नजिकका क्षेत्रमा हुने सिकलेस मेला माघे सक्रान्तीको अवसरमा हुने गरेको छ भने तातोपानी महोत्सव पनि त्यहि सेरोफेरोमा आयोजना हुने गरेको छ । त्यसको अलावा पर्यटकीय गन्तव्य घान्द्रुकमा अन्नपूर्ण दिवसको अवसरमा आयोजना हुने गरेको छ । यसबाहेक पोखरामा चाँडपर्व विशेष तीज महोत्सव, सेलरोटी महोत्सवलगायतका महोत्सवहरु पनि आयोजना हुने गर्छछन् ।
यो सिजनमा हुनेमध्ये लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सवको तयारी शुरु भएको जनाएको छ । संघले आईतबार पत्रकार सम्मेलन गरेर महोत्सवको २१ औं संस्करणको तयारी शुरु गरेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले जातजाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताईन ।
महोत्सवको माध्यबाट पोखरा, लेखनाथ र आसपासका क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गर्ने उद्देश्य रहेको प्रष्ट्याईन् । उनले भनिन्,‘व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउनेछ । साथै स्थानिय तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउन मद्दत गर्नेछ भने क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव बन्नेछ भन्ने अपेक्षा गरेका छौं ।’
प्रकाशित: ७ मंसिर २०८२ १८:३१ आइतबार