नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको भन्दै समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत गत मे १ देखि भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्थाले नेपाली चिया उद्योग संकटमा परेको जनाएको हो। महासंघका अनुसार नयाँ व्यवस्थाले निर्यात प्रक्रियालाई झन्झटिलो बनाएको छ भने चिया उद्योगको नियमित सञ्चालनमै चुनौती थपिएको छ।
महासंघले नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै यसले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने तथा ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिया भारत निर्यात गर्दै आएको जनाएको छ। चिया क्षेत्रले ६० हजारभन्दा बढी श्रमिक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको महासंघको भनाइ छ।
विज्ञप्तिअनुसार भारतले लागू गरेको नयाँ मापदण्डका कारण प्रत्येक खेपको गुणस्तर परीक्षण, परीक्षण प्रतिवेदन प्राप्त गर्न २० देखि २५ दिनसम्म लाग्ने अवधि, अनिवार्य गोदाम शुल्क तथा परीक्षणमा समस्या देखिए चिया नष्ट गर्नुपर्ने व्यवस्थाले निर्यात प्रक्रिया लगभग ठप्प भएको छ। यसबाट उद्योगहरूको नगद प्रवाह प्रभावित भई किसानलाई हरियो चियापत्तीको भुक्तानी, मजदुरको पारिश्रमिक तथा कर र विद्युत् महसुल तिर्न समेत कठिनाइ भएको महासंघले जनाएको छ।
महासंघले निर्यातमा गुणस्तरसँग सम्बन्धित समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘एक्रेडिटेड ल्याब’ स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ। यस विषयमा आफूहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै आवश्यक पहल गर्न आग्रह गरेको छ।
चिया क्षेत्रसँग हजारौं किसान, मजदुर तथा उद्यमीको जीविकोपार्जन जोडिएको भन्दै महासंघले यस संवेदनशील विषयलाई उच्च प्राथमिकतामा राखेर तत्काल कूटनीतिक माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेको छ। महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छिमेकी मुलुकसँग संवाद गरी निर्यातमा देखिएको अवरोध हटाउन पहल गर्नुपर्नेमा जोड दिएको छ।
प्रकाशित: ३ असार २०८३ २०:०७ बुधबार