अर्थ

महासंघको सर्वपक्षीय राष्ट्रिय संवाद: त्रसित निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास

जेनजी आन्दोलनपछि त्रसित रहेको निजीक्षेत्रलाई सरकारदेखि प्रमुख राजनीतिक दलसम्मले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पार्ने प्रयास गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा यस्तो प्रतिवद्धता जनाएका हुन्।

जेनजी आन्दोलनमा व्यापारिक प्रतिष्ठानमाथि आक्रमण गर्दा करिब ८० अर्ब रुपैयाँको क्षति भएपछि उद्योगी, व्यवसायी सुरक्षाप्रति चिन्तित छन्। निजीक्षेत्रका अगुवाहरूलाई बहालवाला प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व प्रधानमन्त्रीहरूसम्मले लगानीमैत्री वातावरण बनाउँदै लगानीको सुरक्षा गर्न सबै प्रतिवद्ध रहेको बताए।

सरकार निजीक्षेत्रको सुरक्षामा दृढ रहेको प्रधानमन्त्री कार्कीले बताइन्। ‘उद्योग, व्यवसायको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ कार्कीले भनिन्, ‘आन्दोलनमा क्षतिग्रस्त उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजनामार्फत माग सम्बोधन गरिएको छ।’

उद्योगी, व्यवसायीको संरक्षण र पुनरुत्थानका लागि सरकारले काम गरिरहेको उनले बताइन्। सरकारले आन्दोलनका क्रममा कर भुक्तानीको म्याद थप, बैंक कर्जाको पुनर्तालिकीकरण र बिमा दाबीको अग्रीम भुक्तानीजस्ता व्यवस्था लागु गरिएको प्रधानमन्त्री कार्कीको दाबी थियो।

निजीक्षेत्रलाई सहयात्रीका रूपमा लिनुपर्ने नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए। ‘निजीक्षेत्रप्रति हाम्रो दृष्टिकोणमै धेरै कमजोरी छन्,’ प्रचण्डले भने, ‘अब कमजोरी सच्याएर निजीक्षेत्रसँग सहकार्यको बाटो रोज्नुपर्छ।’

निजीक्षेत्रप्रति राजनीतिक दल र राज्यको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए। निजीक्षेत्रलाई हेर्ने सोचमै कमजोरी रहेका कारण अपेक्षित आर्थिक उपलब्धि हासिल हुन नसकेको संयोजक प्रचण्डले बताए।

अब विकाससम्बन्धी बहसभन्दा कार्यान्वयनमा केन्द्रित हुनुपर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताए। विगत १५–२० वर्षदेखि महँगा होटलहरूमा विकास र समृद्धिका बहस भए पनि ठोस परिणाम नआएको उल्लेख गर्दै अब ‘के गर्ने’ होइन, ‘किन भएन’ र ‘कसरी गर्ने’ भन्ने प्रश्नमा केन्द्रित हुनुपर्ने धारणा भट्टराईको थियो। ६० प्रतिशत जनसंख्या निर्वाहमुखी कृषिमा अल्झिएकाले आर्थिक रूपान्तरण सम्भव नभएको उनको भनाइ थियो। ‘राज्य, निजी र सामुदायिक क्षेत्रको सहकार्यमा औद्योगिक अर्थतन्त्रतर्फ जानुपर्छ’, उनले भने।

लगानी, श्रम संरचना परिवर्तन र औद्योगिकीकरण अपरिहार्य भएको उनको भनाइ थियो।

जेनजी आन्दोलनमा तोडफोड गर्नेहरूमाथि कारबाही नहुनु चिन्ताको विषय भएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए। ‘आगजनी, लुटपाट र तोडफोडमा दण्डित नगरिनु कुनै हालतमा उचित होइन’, उनले भने।

निजीक्षेत्रमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा क्षति भविष्यमा नदोहोरिने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री रामेश्वर खनालले बताए। ‘सरकारले सुरक्षित लगानीमैत्री वातावरण निर्माण गर्न तयार छ,’ खनालले भने, ‘सरकार गठनलगत्तै निजीक्षेत्रको समस्या समाधान गर्न प्राथमिकताका साथ काम ग¥यौं।’

निजीक्षेत्रलाई अर्थतन्त्रको इन्जिन भएको अर्थमन्त्री खनालले बताए।

जेनजी आन्दोलनपछि ठूलो मात्रामा नेपाली पुँजी पलायन भइरहेको पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बताए। ‘जेनजी आन्दोलनले हाम्रो लगानीको मानसिकता समाप्त गरेको छ,’ महतले भने, ‘यो अवस्था सुधार्न नसके अर्थतन्त्र गम्भीर समस्यामा पर्नसक्छ।’

जेनजी आन्दोलनमा करिब ४० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति र कुल ८१ अर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘निजीक्षेत्रको मनोबल कमजोर छ,’ अध्यक्ष ढकालले भने, ‘उद्योग–व्यवसायलाई बन्द, हड्ताल र आगजनीबाट जोगाउन विशेष सुरक्षा व्यवस्था आवश्यक छ।’ ढकालले निजीक्षेत्रको मनोबल कमजोर बनेको बताए। ‘राजनीतिक आन्दोलनले अपेक्षित आर्थिक रूपान्तरण हुन सकेको छैन,’ उनले भने, ‘अब साझा राष्ट्रिय एजेन्डामा आर्थिक समृद्धि’ हुनु आवश्यक छ। मुलुकमा लगानीका लागि अवस्था अनुकूल रहे पनि लगानी वृद्धिको दर कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरे।

मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बिताए। ‘निजीक्षेत्र स्थायित्वको पक्षपाती हो,’ उनले भने, ‘जबसम्म स्वदेशी लगानी हुँदैन, तबसम्म विदेशी लगानी आउँदैन, त्यसका लागि सुरक्षा प्रत्याभूति दिनुपर्छ।’

निजीक्षेत्रको मनोबल उकास्न सुरक्षा प्रत्याभूति गराउन आवश्यक रहेको  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले बताए। ‘शान्ति, स्थायित्व र सहकार्य नेपालको भविष्यसँग गाँसिएको छ’, अग्रवालले भने, ‘लगानीमैत्री आर्थिक नीति नहुँदा समस्या भएको छ।’

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटाले निजीक्षेत्र अर्थतन्त्र बलियो बनाउन लाग्दा अर्को पक्षचाहिँ राजनीति कब्जा गर्न कुदिरहेको बताएका छन्।

हाल निजीक्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा अर्थतन्त्र सुधार गर्नुपर्नेमा राजनीति कब्जामा लागेको बताए। ‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्टेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं’, उनले भने।

प्रकाशित: १७ पुस २०८२ ०९:३३ बिहीबार