नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरणका रूपमा रहनुका साथै तराई-मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र भएको उल्लेख गरेको छ।
कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा महासंघले व्याख्या गरेको छ। महासंघले जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरेको छ। साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गर्छौँ’, विज्ञप्तिमा भनिएको छ।
तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महासंघले विज्ञप्ति मार्फत उल्लेख गरेको छ।
विज्ञप्तिको पूर्ण पाठ हेर्नुस्
विगत केही दिनदेखि सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाहरू तथा सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
महासंघ सो घटनामा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै घटनामा परि घाइते हुनुभएका सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
नेपाल सदियौँदेखि बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ। तराई-मधेस क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषा भाषी र समुदायहरूबिचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो। कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन। यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्याउँछ। सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो।
तसर्थ, जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महासंघको दृढ विश्वास रहेको छ। महासंघ सुनसरीको कप्तानगञ्ज लगायतका स्थानहरूमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन तथा सरकारसँग जोडदार माग गर्दछ। साथै, कुनै पनि किसिमका भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयम अपनाउन र परापूर्वकालदेखि कायम रहँदै आएको भाइचारालाई अझ मजबुत बनाउन सबैमा हार्दिक अपिल गर्दछ।
अन्तमा, तराईका क्षेत्रमा देखा परेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिनुहुन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक आह्वान गर्दछ।
प्रकाशित: १४ श्रावण २०८३ १८:४९ बिहीबार