अर्थ

कपिलवस्तुमा किसानलाई रोपाइँको चटारो, धान रोप्न मेसिनको प्रयोग

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरमा मेसिनले चैते धान रोपाई गरिएको छ । स्थानीय किसान जयलाल भण्डारीले १० कठ्ठा जग्गामा मेसिनले धान रोपाई गरेका हुन । राष्ट्रिय कृषि आधुनीकरण कार्यक्रम कार्यान्वयन एकाइ जितपुरको सहयोगमा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत सो रोपाई गरिएको हो ।  

परम्परागतरुपमा धान खेती गर्दै आएका किसान भण्डारीले पर्ती खेतको सदुयोग गर्न पहिलो पटक धान मेसिनद्वारा चैते धान खेती सुरु गरेको बताए । मेकानिकल राइस ट्रान्सप्लान्टर मेसिनद्वारा भण्डारीले १० कठ्ठामा चैते–५ जातको धान रोपेका हुन् । यो मध्यम खालको धानको जात हो । मेसिनले दुई घन्टा भित्रै धान रोपाई सकेको थियो ।  

‘दुई घन्टा भित्रै १० कठ्ठाको रोपाई सकियो ’ अचम्मित हुदै उनले भने ‘वास्तवमा नयाँ प्रविधि भनेको श्रम, लागतमात्र नभएर समयको पनि धेरै बचत हुँदो रहेछ’ उनले अब आफू सक्दो नयाँ प्रविधि उपयोग गर्नेतिर लाग्ने बताए। चैते धानको रोपाइ गर्न फागुन १५ गते नै उनले खेतमा मेसिनमा रोपाईका लागि चाहिने ट्रे र प्लाष्टिकमा धान छरेका थिए ।  

२८ सेमी चौडाई, ५८ सेमी लम्बाई र ढाई सेमी गहिराईमा राखिएको ट्रमा धानको बीउ उमारिएको थियो । एक भाग मल र तीन भाग मल राखेर बीउ राखिएको हो । एउटा ट्रेमा ६० देखि ८० ग्राम सम्म बीउ राखिएको हो । त्यहा मल र माटो मिसाइएको थियो । बीउ तयार भए लगत्तै धान रोपाई गरिएको हो । चैते धान खेती सफल भए यो क्षेत्रमा अरु धेरैले चैते धान अर्को वर्षदेखि लगाउने भण्डारीले बताए ।  

धानलाई चाहिने आवश्यक सिचाईको ब्यवस्था भने आफुले गरेको बताए । चैते धानका लागि बीउ १५ देखि २० दिनमा तयार हुने तथा ११५ देखि १२० दिनभित्र धान उत्पादन हुने एकाइका प्राविधिक निरज खनालले बताए ।  

मेसिनले धान रोप्दा मजदुर लागतयको ४० प्रतिशत खर्च कटौती भई लागत कम हुने उनले बताए । बीउ राख्नेदेखि धान काटने बेलासम्म आफुहरुले निग्रानी र प्राबिधिक सहयोग जारी राख्ने उनले बताए ।  

उनले प्रबिधि नै हस्तान्तरण गरी मेसिनले धान रोपाई गरेको एकाइको यो पहिलो अभ्यास रहेको बताए ।  सोही कार्यक्रम अन्तर्गत बाणगंगा नगरपालिका १० ११ २ ५ र ६ तथा कपिलवस्तु नगरपालिका ११ मा गरी १२ हेक्टरमा धाम रोप्ने कार्यक्रम छ । चैते धान प्राय: चिउरा बनाउन प्रयोग गर्ने गरिएको छ ।

 

प्रकाशित: ९ चैत्र २०८२ १८:२४ सोमबार