चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्। वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ।
प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ रूपैयाँ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्य अनुसार धान बिक्री नभएको बताएका छन्।
माडी नगरपालिका–३ का किसान ओमप्रकाश महतो अहिले आफूहरूले प्रतिक्विन्टल मोटा धान दुई हजार ६०० र मध्यम धानको तीन हजार १०० रूपैयाँमा बेच्नुपरेको गुनासो गरे।
भरतपुर महानगरपालिका–९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भने, “मोटा धान तीन हजार र मध्यम धान तीन हजार ४०० रूपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता छ।”
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन्। राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिन्छन्।
चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ। बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ।
प्रकाशित: ४ मंसिर २०८२ १०:२३ बिहीबार