अर्थ

मह आयात खुलाइएपछि किसान आक्रोशित

डेढ वर्षअघिदेखि रोकिएको महको आयात सरकारले खुला गरेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारको अध्यक्षतामा गत असोज २७ गते बसेको बैठकले महको आयात खुला गर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक कोटा भन्दै डाबर नेपाललाई १२५ मेट्रिक टन र पतञ्जलि नेपाललाई ४० मेट्रिक टन मह आयात गर्न स्वीकृति दिएको हो।

बैठकमा कृषि विकासतर्फका सचिव गोविन्दप्रसाद शर्मा, पशुपन्छीतर्फका सचिव कुमार खराल, सम्बन्धित अन्य निकायका अधिकारी, बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसमेत सहभागी थिए।

महको आयात खुला निर्णयको किसानले विरोध गरेका छन्। किसानहरूले स्वदेशी उत्पादनको महले माग धान्ने भन्दै आयात रोक्न माग गरेका छन्।

‘अघिल्लो वर्ष नेपाली मह नबिकेर किसान समस्यामा थिए। त्यसलाई समाधान गर्न सरकारले मह आयात रोकेको थियो’, नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शिवप्रसाद पौडेलले भने, ‘अहिले मुख्य सिजनमै मह आयात गर्ने निर्णयले हामी किसानलाई चिन्तित बनाएको छ।’

नेपाल मौरीपालक महासंघका कोषाध्यक्ष जनकबाबु तिवारीले नेपालमा मह पर्याप्त उत्पादन हुँदाहुँदै पनि डाबर नेपाल र पतञ्जलि नेपाललाई आयात गर्न स्वीकृति दिइएको बताए। उनले निर्णयमा असहमति जनाउँदै यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नेपालमा वार्षिक करिब पाँच हजार मेट्रिक टन मह उत्पादन हुन्छ, जसमा एक हजार मेट्रिक टन सेरेना प्रजातिको र चार हजार मेट्रिक टन मेलिफेरा प्रजातिको मौरीबाट उत्पादन हुने महासंघका पूर्व अध्यक्ष पौडेलले बताए।

महासंघका अनुसार नेपालको मह गुणस्तरीय भएकाले केही निर्यात पनि हुने गरेको छ। अस्ट्रेलिया, जापान, मलेसिया, अमेरिकालगायत देशमा मह निर्यात हुने गरेको छ।

नेपालमा करिब १० हजार किसान मौरीपालनमा आबद्ध छन्। चितवन, मकवानपुर, सर्लाही, नवलपरासी, रुपन्देही, दाङ, कैलाली, पाल्पा, बागलुङ, पर्वत, कास्की, जाजरकोटलगायत जिल्लामा व्यावसायिक मौरीपालन हुँदै आएको छ।

यी जिल्लामा एपिस सेराना, एपिस मेलिफेरा, एपिस डोरसाटा, एपिस लेबोरियोसा, कठ्यौरी, खागोलगायतका जातका मौरी पाइन्छन्। नेपाली महको बजार प्रवर्द्धन गर्न ‘ब्रान्ड’ बनाएर प्रचारप्रसार गर्नुपर्ने सरकारी अधिकारी बताउँछन्।

प्रकाशित: १८ कार्तिक २०८२ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App