अर्थ

मुलुकभर सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वमा आम उपभोक्तालाई राहात दिन सरकारी स्वामित्वका व्यापार कम्पनीले सुपथ मूल्य सञ्चालन गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुमा छुट दिएका छन्। दुई संस्थाले करिब एक सय ४० स्थानमा उपभोक्तालाई सहुलियत दिने गरी पसल सञ्चालन गरेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका एक सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए। ‘उपभोक्तालाई राहत दिन खोलिएका पसलमा दैनिक एक करोडमाथिको कारोबार भएको छ’, मिश्रले भने, ‘खाद्यान्नदेखि तेलसम्म छुट दिएका छौं।’ सरकारले दुई करोड ५२ लाख छुट दिएको मिश्रले बताए।

उपभोक्तालाई लक्षित गरेर उपत्यकाका १२ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले बताए। ‘घुम्ती सेवाबाट पनि उपभोक्तालाई सहुलियत दिएका छौं,’ झाले भने, ‘तेल, चिनी, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा छुट दिएका छौं।’

छुटसहितको सुपथ मूल्य पसल छठसम्म सञ्चालन गर्ने उनले बताए। कर्पोरेसलने कालिमाटी, कोटेश्वर, सिफल, काँडाघारी, इमाडोल लगायतका ठाउँमा सञ्चालन गरेको छ। उपत्यका बाहिर पनि १७ ठाउँबाट सेवा दिएको कर्पोरेसनले जनाएको छ। असोज पहिलो साताबाट सुरु भएका यस्ता सुपथ मूल्य पसल छठ पर्वसम्म सञ्चालन हुनेछन्।

खाद्य व्यापार कम्पनीले रैथाने बाली, फापर, चियापत्ती, जिरा र धनियामा किलोकै १० रुपैयाँ छुट दिएको छ। त्यसैगरी खानेतेल लिटरमा सात रुपैयाँ, चामल, गहुँ, चिनी, दालमा किलोमा पाँच रुपैयाँ छुट दिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले दालमा प्रतिकिलो सात रुपैयाँ, तेल लिटरमा सात रुपैयाँ, चिनी किलोमा पाँच रुपैयाँ, नुन किलोमा दुई रुपैयाँ, चिउरा किलोमा सात रुपैयाँ, आँटा मैदा किलोमा सात रुपैयाँ छुट दिएको छ। सरकारले तोकेको चामलको बोरामा २० देखि ३० रुपैयाँ, चियापत्ति, मसलामा १०  रुपैयाँ छुट दिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाको कालिमाटी, सतुंगल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

कर्पोरेसनले उपत्यकाबाहिर धनगढी, कैलालीको टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडामा सञ्चालन गरेको छ।

त्यसैगरी चितवनको नारायणगढ, नुवाकोटको त्रिशुली, कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुरामा सुपथ मूल्य पसल सञ्चालन गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। खाद्य व्यापारले झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, ललितपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा, पर्सा, काठमाडौं, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्वी, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरामा यस्तो सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

त्यसैगरी बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८२ ०९:१३ बिहीबार