अर्थ

इन्धनको पिरलोबिच आन्तरिक पाहुनाको अपेक्षा

बिदा भएपनि पाहुना आउने सुनिश्चित भएनः व्यावसायी

पोखराको फेवातालमा आन्तरिक पाहुनको भीड। फाइल तस्बिरः नागरिक

सरकारले इन्धन अभाव टार्ने भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्यो। निर्णय कार्यन्वयनमा पनि आईसकेको छ। दुईदिन बिदा दिँदा इन्धन खर्च कम हुने सरकारी आँकलन एकातिर छ, तर, अर्काेतिर पर्यटन क्षेत्रले भने सरकारी बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरेको छ।  

इन्धन अभावलाई टार्न सरकारले बिदा मात्र दिएको नभई कतिपय काम घरबाटै गर्न समेत आव्हान पनि गरिसकेको छ। इन्धन खपत गर्नेगरि अनावश्यक यात्रामा ननिस्कन सरकारले भनिसकेको पनि छ। आवश्यक परेमा सवारी साधनमा जोर बिजोर प्रणालि लागु गर्न सक्नेतर्फ पनि सरकारको संकेत छ।

इन्धन अभावका बीच सरकारले बिदाको नयाँ तालिका लागु गर्दैगर्दा पर्यटन क्षेत्र एकातिर खुसी भएको छ भने अर्काेतिर चिन्तित पनि छ। दुईदिने बिदाले व्यावसायमा राहत हुनेतिर पर्यटन क्षेत्रको सकारात्मक बुझाई रहिरहँदा इन्धन अभावको चिन्ता पनि पर्यटन क्षेत्रले गरिरहेको छ।

‘दुईदिन बिदाको सकारात्मक पक्षलाई हेर्ने हो भने पर्यटकीय चहलपहल बढ्ने अपेक्षा एकातिर छ। तर, अर्काेतिर, इन्धन बचतको योजना बनाउँदा पर्यटन क्षेत्र चिन्तित पनि छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा भन्छन, ‘बिदाले पर्यटन बढ्नेमा आशावादी बनेका हौ। तर, इन्धन अभावको चिन्ताले भने पिरोलेको छ। अहिले नै इन्धन अभाव नभएपनि मूल्यका हिसाबले यात्रा महंगो बन्दै गएको छ। यसले यात्रामा आर्थिक बोझ बढ्ने पक्का छ।’ इन्धन अभाव नहुँदो हो त दुईदिने बिदाले पोखरामा मात्र नभई समग्र सबैतिरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने उनले बताए। 

‘सरकारले गरेको निर्णयसँगै पर्यटन क्षेत्रले पाहुनाको अपेक्षा गरेको हो। तर, इन्धन अभावमा पाहुना नै आउन नसक्ने अवस्थाको पनि चिन्ता उत्तिकै छ। इन्धन अभाव र महंगो हुँदा यात्रा बाध्यकारी नहुन पनि सक्छ,’ थापाले भने, ‘बिदालाई सदूपयोग गर्न सहज छैन। इन्धन नै नपाए यात्रामा निस्कने कुरै रहन्न। इन्धन सहज हुँदाको अवस्थामा दुईदिनको बिदा हुनु पर्यटन क्षेत्रका लागि सकारात्मक कुरा हो।’  

सरकारले दुइदिन बिदा दिएपनि पाहुनाले घुम्न नपाउने अवस्था सिर्जना हुने देखिएको उनले बताए। ‘अहिले पोखरासम्मको पहुँच सहज पनि भएको छ। काठमाडौं, चितवन, बुटवलबाट पोखरासम्म आउजाउमा कुनै समस्या छैन। पर्यटन क्षेत्रमा दुईदिनको बिदा राम्रो हो,’ उनले भने, ‘तर, इन्धन अभावको समस्या आउने देखिएको छ। इन्धनको हिसाबले समस्या भएको छ।’ पछिल्लो समय विद्युतीय गाडीमा आकर्षण बढेपनि विद्युतीय गाडीको पहुँच अझै सहज नभएको उनले बताए। ‘सबैसँग विद्युतीय गाडी पनि छैनन। विद्यतीय गाडीको पहुँच सहज भएको भए इन्धनको चिन्ता नै पलाउने थिएन,’ उनले भने।  

सरकारले यो पटक मात्र नभई यसअघि पनि बारम्बार दुइदिने सार्वजनिक बिदाको अभ्यास गर्दै आएको छ। तर, ती अभ्यास लागु भएपनि दिगो हुन सकेका थिएनन। नागरिकको सेवा प्रवाह प्रभावकारी नभएको भन्दै अघिल्ला प्रयास बीचैमा रोकिएका थिए। पर्यटन बोर्डले समेत कोरोना भाइरस संक्रमणका बेला आन्तरिक पर्यटकलाई घुमघाममा पठाउनका लागि योजना बनाउने गरि दुईदिने बिदाको पहल समेत गरेको थियो।  

‘कोभिडको बेलामा विदेशी पाहुनाको आगमन ह्वात्तै घटेपछि बोर्डले आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र जोगाउने गरि दुईदिन सार्वजनिक बिदा दिलाउने पहल गरेको थियो’ बोर्डका गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछाने भन्छन, ‘तर, त्यो बिदा कार्यन्वयन नै भएन।’ कोभिडका बेला नेपालमा इन्धन अभाव नभएपनि संक्रमणको त्रासका कारण पाहुना आउन सकेका थिएनन।

‘पर्यटन क्षेत्रमा खर्बाैको लगानी भएको भन्दै त्यसलाई रिभाईभ गर्नका लागि सरकारी कर्मचारीका लागि दुईदिन बिदा दिने प्रस्ताव त्यो गरिएको भएपनि कार्यन्वयन भएन,’ उनले भने, ‘तर, त्यसअघि पनि दुइदिने बिदाको अभ्यास नभएको होईन। तर, टिकाउ हुन सकेको थिएन।’ योपटक बिदा लागु भइसकेको अवस्थामा पर्यटनको दृष्टिकोणबाट खुसीको कुरा भएपनि इन्धन अभावको समस्याबाट भने जोगिन सक्ने अवस्था नरहेको उनले बताए।  

‘यो पटक सरकारले दिएको दुईदिने बिदा लागु त भयो। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउने अपेक्षा एकातिर छ। तर, इन्धन अभावको सामना गर्ने चूनौती पनि अर्काेतिर छ,’ लामिछानेले भने, ‘इन्धन बचत गर्न सरकारले अहिले बिदा दिएको हो। कोभिडका बेला पर्यटन क्षेत्र चलायमान बनाउन भनिएको थियो। अहिले इन्धन बचत गराउनका लागि बिदा दिँदै गर्दा त्यसले पर्यटनमा कत्तिको सहयोग पुग्ने भन्ने चिन्ताको विषय पनि हो।’  

पर्यटन बोर्ड आन्तरिक पर्यटनका हिसाबले दुईदिने बिदाको पक्षपाती भएपनि इन्धन बचतका लागि बिदा भनिएकोले केही चूनौती रहेको उनले बताए। ‘पाहुना सहजै घुम्न पाएको खण्डमा पर्यटनमा भने सकारात्मक लाभ पुग्छ ,। तर, यो पटक चूनौती इन्धनको भएकाले पाहुनालाई घुमघामको माहोल कति बन्छ भन्न सकिन्न।’ विद्युतीय सवारी भएका व्यक्तिका लागि भने यो बिदाले घुमघाममा निकाल्ने उनले बताए। ‘विद्युतीय गाडीका कारण आन्तरिक पर्यटनलाई अवरोध भएन। पछिल्लो टे«न्ड विद्युतीय गाडिको पनि छ। तर, इन्धन चाहिने गाडिका लागि भने चूनौती छ। यदि इन्धन सहज भएको भए दुईदिनको बिदा पर्यटन क्षेत्रका लागि गजबको अवसर हो।

पोखराको पर्यटन क्षेत्रले आन्तरिक पर्यटनको हिस्सा झन्डै ४० प्रतिशत रहेको बताउँदै आएको छ। तर, पर्यटन बोर्डका निर्देशक लामिछानेले ५० प्रतिशत हाराहारीमा आन्तरिक पर्यटनको हिस्सा रहेको बताए। ‘दुईदिन बिदालाई सदूपयोग गर्न सकेको खण्डमा आन्तरिक पर्यटनमा अझै कम्तिमा १० प्रतिशत योगदान बढ्ने अपेक्षा हो,’ उनले भने, ‘अहिले इन्धन अभाव भएर केही समस्या हुन सक्छ। तर, विद्युतीय सवारी हुनेका लागि यो समस्या आइपर्दैन।’

होटल संघका केन्द्रीय सदस्य भरत पराजुली पनि पर्यटन क्षेत्रले शनिबार र आइतबार गरेर दुइदिन सार्वजनिक बिदाको प्रस्ताव पहिल्यै देखि गरिरहेको भएपनि अहिले लागु भएको बताउँछन्। ‘दुइदिन बिदाको प्रावधान लागु त भएको छ। तर, अहिले मध्यपूर्वमा देखिएको तनावले गर्दा इन्धन अभाव कम गर्न सरकारले यो प्रावधान लागु गरेको हो। इन्धन सहज हुँदाका दिनमा पनि यसलाई निरन्तर गर्न सकेमा पर्यटन क्षेत्रले लाभ लिनेछ,’ पराजुलीले भने, ‘अहिलेका लागि राम्रो अभ्यासको रुपमा पर्यटन क्षेत्रले लिएको छ। इन्धनको समस्या समाधान गर्नका लागि यो प्रावधान लागु गरिएको भएपनि यसलाई इन्धन सहज हुँदाका दिनमा पनि बिदा नियमित गर्नुपर्छ।’  

उनका अनुसार अहिले पनि शनिबारको एकदिने सार्वजनिक बिदाले शुक्रबार र शनिबार यहाँका होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा उक्लिन्छ। तर, अब त आइतबार पनि बिदा हुँदा पाहुनाको बसाई अवधि बढ्नेमा आशावादी हुन सकिने पराजुलीले बताए। ‘पर्यटन क्षेत्रले अहिले बढाएको बिदाको लाभ लिन इन्धन आपूर्ति सहज हुनुपर्छ र बिदा नियमित हुन पर्छ,’ पराजुलीले भने। 

प्रकाशित: २४ चैत्र २०८२ १८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App