नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक २६.७२ अंक घटेर २७५५.३७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.७८ अंक, फ्लोट इण्डेक्स १.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंक घटेको छ।
सोमबार कारोबार रकममा पनि गत कारोबारको तुलनामा करिब ४२ करोडले कमी आएको छ। सोमबार ३४९ स्टकको ६३ हजार ७१९ पटकको कारोबारमा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
आज दुई कम्पनी कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको आँखु खोला जलविद्युत कम्पनीको ४३ करोड ४ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो भने नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड र हिमालयन रि इन्स्योरेन्सको साढे २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक ३.३६ प्रतिशत र निर्जीवन बिमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशतले छट्दा होटल तथा पर्यटन, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १५:४२ सोमबार