राष्ट्रको सार्वजनिक जीवनमा, उत्सव र विकासका कार्यक्रमहरू जनताको गौरव र सहभागिताका प्रतीक हुन्। हाम्रो देशको राजनीतिको मञ्चमा यी सबै गतिविधिले एउटा मात्र उद्देश्य बोकेका छन् - केही निश्चित शक्तिशाली व्यक्तिको महिमामण्डन। र ती व्यक्ति को हुन्? उही, जसको नाममा शक्तिको दुरुपयोग, स्वार्थको खेती र भ्रष्टाचारका काला अध्यायहरू छताछुल्ल भएका छन्।
हाम्रो देशको विकासको पाटो अनौठो नियमले बाँधिएको छ - नेताको उपस्थितिबिना कुनै पनि कामले आधिकारिकता पाउँदैन। एउटा सामान्य खानेपानी आयोजनाको रिबन काट्न होस् वा दुर्गम क्षेत्रको बाटोको शिलान्यास गर्न, नेता नआई कार्यक्रम सुरु हुँदैन।
जनता घाममा पसिना पुछ्दै कुर्छन्, आयोजकको मुहारमा तनाव झल्किन्छ, किनकि उहाँहरूको आगमनमा ढिलाइ हुनु भनेको कार्यक्रमको महत्त्व घट्नु हो। ती नेता जसको हातमा कमिसनको दाग छ, जसले बजेटबाट आफ्ना लागि महल ठड्याएका छन्, उहाँहरूलाई नै विकासको ‘शुद्धिकर्ता’ मान्नुपर्ने विडम्बनापूर्ण अवस्था छ। उहाँको उपस्थितिबिना विकासको काम केवल कागजमा सीमित रहन्छ, समाजमा होइन।
यही आडम्बरको अर्को पाटो हो -राजनीतिक नेता नभई उद्घाटन नै नहुने प्रथा। कतिपय ठाउँमा विकासका काम सम्पन्न भइसक्दा पनि जनताले तिनको उपयोग गर्न पाउँदैनन्। ती संरचनाहरू नेताको ‘फोटोसेसन’ र लामो भाषणको अवसर कुरेर बस्छन्। अनि जब ती ‘महानुभाव’ मञ्चमा उक्लन्छन्, सुरू हुन्छ एउटा हास्यास्पद र भयानक नाटक। त्यहाँ उभिएर उहाँहरूले जे बोल्नुहुन्छ, त्यो सुन्दा लाग्छ, उहाँहरूको दिमागले तार्किक धरातल छाडिसकेको छ, दिमाग बिग्रेको मानिसले जस्तो जे बोले पनि अरूले पत्याइदिनुपर्ने अवस्था सिर्जना हुन्छ। उहाँहरूले ‘शास्त्रीय मत’ दिनुहुन्छ।
हरेक बेथितिलाई ‘रामराज्य’ वा ‘स्वर्ग’ बनाउने गफ गर्नुहुन्छ, जबकि उहाँहरू स्वयं आफ्ना समर्थकलाई सानातिना स्वार्थमा अल्झाएर देशलाई अन्धकारमा धकेलिरहनुभएको हुन्छ। उहाँको वाणीलाई चुनौती दिने साहस कसैमा छैन किनकि त्यो वाणी ‘सत्य’ नभए पनि ‘शक्ति’ को घोषणा हो।
यो सम्पूर्ण प्रहसनको मूल कारण हो - दण्डहीनताको अभेद्य कवच। यो देशमा बेथिति तथा कुशासन अब अपराध रहेन, यो त शक्तिको सिँढी चढ्ने माध्यम बनेको छ। जति भ्रष्टाचार गरे पनि कारबाही नहुने अवस्थाले गर्दा सत्तामा पुग्ने नेता पूर्णतः निर्धक्क हुन्छन्। उनीहरूलाई थाहा छ, कानुन उनीहरूकै लागि होइन, बरु अरूलाई तह लगाउन हो। अख्तियारका दराजमा उनीहरूको भ्रष्टाचारका फाइलहरू धुलाम्मे थन्किएका छन् र ती फाइल कहिल्यै खुल्दैनन्, बरु बेलाबेलामा ती नेताहरूको राजनीतिक ‘बार्गेनिङ’ मा प्रयोग हुन्छन्। दण्डहीनता यति संस्थागत भएको छ कि यस्ता कुकृत्य पनि ‘राजनीतिक सफलताको मापदण्ड’ बनेका छन्।
यही जगमा टेकेर शक्तिको यो चक्रव्यूह तयार हुन्छ, जहाँ चुनाव उनीहरूले नै जित्ने सुनिश्चित छ। जनताले उनीहरूको काला कर्तुत देखे पनि, लोभ, डर वा विकल्पहीनताको भ्रममा परेर फेरि उही पात्रलाई सत्ताको सिंहासन सुम्पिदिन्छन्। उनीहरूको हातमा पैसा छ, बल छ र सबैभन्दा महत्त्वपूर्ण त राज्यमा स्थापित अभेद्य शक्ति छ।
पत्रिकाले उनीहरूकै कुरा छाप्नुपर्ने बाध्यता छ। सत्य र तथ्यमा आधारित रिपोर्टिङलाई राजनीतिक दबाबले विस्थापित गर्छ। कतिपय मिडियाले अखबारको पहिलो पानामा ‘भ्रष्टाचारको पर्दाफास’ भन्दा ‘दूरदर्शी नेताको राष्ट्रप्रतिको समर्पण’ छाप्छन्। यसरी, मिडियाले खलनायकलाई नायकमा चित्रण गर्नुपर्ने वाध्यता हुन्छ।
यस्तो अपवित्र गठबन्धनको अर्को दुर्भाग्यपूर्ण पाटो हो– प्रतिष्ठित मानिसले पनि उनीहरूसँगै बसेर तस्बिर खिच्नुपर्ने सामाजिक रहर वा बाध्यता। साहित्यकार, कलाकार, बौद्धिक वर्ग र सफल व्यवसायीहरूले ती नेताहरूसँग हाँसेर फोटो खिचाउनु ‘सम्पर्क’ र ‘शक्ति–स्वीकृति’ को प्रतीक बन्छ। त्यस्ता फोटाले भ्रष्ट नेताको प्रतिष्ठालाई उँचो बनाउँछ र समाजलाई सन्देश दिन्छ कि यी व्यक्तिहरू ‘खराब’ छैनन्। यसरी, समाजका उच्च वर्गले नै अप्रत्यक्ष रूपमा भ्रष्टाचारलाई वैधता प्रदान गरिरहेको हुन्छ।
यस त्रासदीको अन्तिम निष्कर्ष, जसले सबै पीडालाई एकै ठाउँमा समेट्छ– देशै तिनै नेताको भएपछि कसले के लाग्ने? कसले के गर्ने? जब राजनीतिक प्रणाली, कानुनको शासन, मिडिया र सामाजिक नैतिकता सबैमा उनीहरूकै कब्जा हुन्छ, तब यो देश जनताको साझा घर नभएर मुट्ठीभर नेताको निजी सम्पत्ति बन्न पुग्छ। उनीहरू ‘मालिक’ हुन् र बाँकी सबै निरीह ‘प्रजा’। यस अवस्थामा, कुनै पनि प्रकारको प्रतिरोध र परिवर्तनको आशा केवल एउटा व्यर्थको कल्पना बन्न पुग्छ।
यो कथा एउटा यस्तो देशको हो, जहाँ हरेक उद्घाटन एउटा राजनीतिक प्रहसन हो। हरेक भाषण एउटा बकबास हो। हरेक छानबिन एउटा औपचारिकता हो र हरेक चुनाव एउटा अर्को त्रासदीको सुरुआत हो। जनता चुपचाप यो सब हेर्न बाध्य छन्, जबकि त्यो हाँसोभित्र धेरै समयदेखिको गहिरो पीडा र निराशा लुकेको छ।
प्रकाशित: २९ मंसिर २०८२ ०७:५३ सोमबार