अर्थ

इटहरीमा सामूहिक तथा अर्गानिक उत्पादनलाई जोड

इटहरी उपमहानगरपालिकाको बजेट दुई अर्ब ५२ करोड बढी

इटहरी उपमहानगरपालिकाले आगामी वर्ष २०८३/०८४ का लागि दुई अर्ब ५२ करोडभन्दा बढी बजेट प्रस्तुत गरेको छ । बुधबार नगरसभामार्फत दुई अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट उपमेयर संगीताकुमारी चौधरीले प्रस्तुत गरिन ।  

इटहरी उपमहानगरपालिकाले आगामी बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, सुशासन, सूचना प्रविधि र रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवामा घरदैलो सेवा, निःशुल्क एम्बुलेन्स, स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको नियमित परीक्षणलाई विस्तार गर्ने उल्लेख  छ ।  

शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, एआई तालिम, छात्रवृत्ति र “पढ्दै कमाउँदै” कार्यक्रम सञ्चालन गरिनेछ। कृषि क्षेत्रमा सामूहिक खेती, अर्गानिक उत्पादन, पशुपालन, दुग्ध तथा मत्स्य उत्पादन, कृषि बीमा र भेटेरिनरी सेवा विस्तार गरिने बजेटमा समेटिएको छ ।

सुशासनतर्फ भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा विस्तार, ई–गभर्नेन्स, अनलाइन सेवा प्रणाली, जनगुनासो व्यवस्थापन र सार्वजनिक सेवा पारदर्शी बनाउने नीति लिइएको छ । राजस्व प्रणालीलाई प्रभावकारी बनाउन कर सचेतना, कर दायरा विस्तार र डिजिटल भुक्तानी प्रणाली लागू गरिनेछ ।

सूचना प्रविधिमा स्मार्ट सिटी अवधारणा, निःशुल्क वाईफाई जोन, साइबर सुरक्षा, मोबाइल एप सेवा, डिजिटल नागरिक बडापत्र र पूर्ण डिजिटल अभिलेख प्रणाली विकास गरिनेछ ।

कानूनी क्षेत्रमा न्यायिक समितिलाई प्रविधिमैत्री बनाउने, मेलमिलाप केन्द्र सुदृढ गर्ने र विवाद समाधान प्रक्रियालाई सहज बनाउने नीति छ । साथै, नगर प्रहरी, बजार अनुगमन, सार्वजनिक सम्पत्ति संरक्षण र शान्ति सुरक्षामा कडाइ गरिनेछ ।

उपमहानगरपालिकाले उपभोक्ता अधिकार संरक्षणका लागि नियमित बजार अनुगमन, खाद्य गुणस्तर परीक्षण, मूल्य नियन्त्रण र उपभोक्ता सचेतना कार्यक्रमलाई प्राथमिकता दिने नीति लिएको छ । खाद्य शुद्धता, पोषण र प्रयोगशाला सुदृढीकरण गर्दै अखाद्य वस्तु नियन्त्रणमा विशेष जोड दिइनेछ । बजार व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गरिनेछ ।

स्वास्थ्य क्षेत्रमा पूर्ण खोप सुनिश्चितता, पोषण सुधार, निःशुल्क परीक्षण, घरदैलो नर्सिङ सेवा, दीर्घरोगी र ज्येष्ठ नागरिकको नियमित उपचार, निःशुल्क एम्बुलेन्स सेवा, क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग, तथा अस्पताल सेवा विस्तारलाई प्राथमिकता दिइएको छ। आयुर्वेद तथा वैकल्पिक उपचार सेवासमेत विस्तार गरिनेछ ।

युवा तथा खेलकुद क्षेत्रमा खेल मैदान स्तरोन्नति, नगर खेलकुद विकास समिति गठन, मेयर कप, विद्यालयस्तरीय खेलकुद, खेलाडी सम्मान, खेल क्लब दर्ता, तथा खेल सामग्री सहयोग कार्यक्रम सञ्चालन गरिने भएको छ ।  

भौतिक पूर्वाधार विकासमा सडक, पुल, ढल, खानेपानी, ड्रेनेज, स्मार्ट सिटी अवधारणा, बाढी नियन्त्रण, चक्रपथ अध्ययन, डिजिटल घर नक्सा प्रणाली, र सार्वजनिक–निजी साझेदारीलाई जोड दिइएको छ । भूमि व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, प्राविधिक प्रयोगशाला सुदृढीकरण, निर्माण सामग्री परीक्षण प्रणाली र डिजिटल ल्याब व्यवस्थापन प्रणालीलाई पनि नीति अन्तर्गत समेटिएको छ ।

इटहरीले बजेटमा “उज्यालो इटहरी” कार्यक्रमलाई निरन्तरता दिँदै प्रमुख बजार तथा चोकहरूमा हाई मास्क लाइट जडान गर्ने र टोल विकास संस्थाहरूको मागका आधारमा सडक बत्ती विस्तार गर्ने योजना अघि सारेको छ ।

सामाजिक विकासतर्फ लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई सबै क्षेत्र र प्रशासनिक प्रणालीमा संस्थागत गर्ने, महिला हिंसा, विभेद र कुरीतिविरुद्ध सचेतना तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ। साथै उपमेयर आत्मनिर्भर कार्यक्रममार्फत विपन्न, अपाङ्ग, एकल महिला तथा महिला समूहहरूलाई सीप, प्रविधि र उद्यमशीलतामार्फत आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ । बालबालिका, किशोरी र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइएको छ, जसअन्तर्गत बाल संरक्षण कोष स्थापना, बालमैत्री शासन प्रवर्द्धन, किशोरी सशक्तीकरण, ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछन्।

सामाजिक सुरक्षा तथा पञ्जीकरण क्षेत्रमा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन “एक वडा एक बैंक” नीति लागू गर्ने र जन्म–मृत्यु दर्ता शतप्रतिशत सुनिश्चित गर्ने उल्लेख छ । सहकारी क्षेत्रमा सहकारी संस्थालाई उत्पादन, रोजगारी र उद्यमशीलतासँग जोड्दै बचत तथा ऋणको अनुशासन कायम गर्ने, समस्याग्रस्त सहकारीमा कानुनी कारबाही अघि बढाउने र संस्थागत क्षमता विकास गर्ने नीति लिइएको छ ।  

कृषि विकासतर्फ “आत्मनिर्भर कृषि, समृद्ध किसान” लक्ष्यका साथ एक वडा एक उत्पादन कार्यक्रम, आधुनिक कृषि प्रविधि, यान्त्रिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, माटो परीक्षण, र रोग–कीरा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ। साथै युवा तथा महिलालाई कृषि उद्यममा आकर्षित गर्दै कृषि बजार र हाटबजारलाई व्यवस्थित गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ ।

इटहरीले पशुपन्छी सेवा, कृषि, उद्योग, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापनलाई सूचना–प्रविधिमा आधारित स्मार्ट प्रणालीमार्फत आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने योजना प्रस्तुत गरिएको छ। पशु उपचार, प्रयोगशाला, खोप, रोग निगरानी, किसान दर्ता, अनुदान तथा प्राविधिक सेवाहरूलाई डिजिटल प्रणालीमा आबद्ध गरी सेवा छिटो, भरपर्दो र सेवा–ग्राहीमैत्री बनाइनेछ। पशु नस्ल सुधार, कृत्रिम गर्भाधान, हरियो घाँस विस्तार, पोषण कार्यक्रम, घरदैलो पशु स्वास्थ्य सेवा र महामारी नियन्त्रण जस्ता कार्यक्रममार्फत पशुपालनलाई व्यावसायिक र उत्पादनमुखी बनाइने लक्ष्य छ। साथै, दूध, मासु, अण्डा उत्पादन वृद्धि गर्दै किसानलाई स्वरोजगार र आयआर्जनतर्फ प्रोत्साहन गरिनेछ ।  

विपद् व्यवस्थापनतर्फ बाढी–डुबान नियन्त्रण, आपतकालीन सेवा केन्द्र, न्क्ष्क् म्यापिङ, पूर्वतयारी, तालिम र सरोकारवालासँग समन्वयमार्फत जोखिम न्यूनीकरण गर्ने योजना रहेको छ। समग्रमा, स्मार्ट व्यवस्थापन प्रणालीमार्फत इटहरीलाई स्वच्छ, सुरक्षित, उत्पादनशील र समृद्ध नगर बनाउने दीर्घकालीन लक्ष्य लिएको छ ।  

वराहक्षेत्र नगरपालिकाको एक अर्ब ३ करोडभन्दा बढी बजेट

वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब एक अर्ब ३ करोड ४३ लाख ६६ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ । १८औँ नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमै पु¥याउने लक्ष्य राखिएको छ । प्रत्येक वडामा स्वास्थ्यकर्मीको व्यवस्था, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको घरमै पुगेर नियमित स्वास्थ्य परीक्षण, निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती तथा सुत्केरी महिलाका लागि सहायता कार्यक्रम र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने योजना समावेश गरिएको छ। नसर्ने रोगको पहिचान तथा उपचारका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

शिक्षा क्षेत्रमा ‘छोरी, बुहारीलाई शिक्षा’ भन्ने नारासहित स्नातक तह अध्ययन गर्ने छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ । विपन्न तथा अल्पसंख्यक समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति दिइनेछ । अनिवार्य तथा निःशुल्क शिक्षालाई प्रभावकारी बनाउँदै उपचारात्मक कक्षा, अभिभावक शिक्षा, विज्ञान तथा प्रविधि शिक्षाको विकास र ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिने योजना छ । साथै शिक्षकहरूलाई एआई प्रविधिसम्बन्धी तालिम दिने नीति पनि उल्लेख छ ।

कृषि क्षेत्रमा नदी उकास जमिनमा सामूहिक खेती, अर्गानिक उत्पादन प्रवर्द्धन, कृषि औजार अनुदान, कृषि बीमा, दूध तथा दुग्ध उत्पादन विकास, पशुपालन सुधार, मत्स्यपालन विस्तार, निःशुल्क कृत्रिम गर्भाधान सेवा र भेटेरिनरी अस्पताल निर्माणजस्ता कार्यक्रम समावेश छन्। कृषि तथा पशु रोग नियन्त्रणका लागि विशेषज्ञ टोली परिचालन गरिनेछ ।

पर्यटन प्रवर्द्धनका लागि कोशी नदी किनार, मुन्दुम ट्रेल, गुफा वराह क्षेत्र, रामधुनी–चतरा–वराहक्षेत्र–धरान–इटहरी धार्मिक सर्किट विकास, होमस्टे कार्यक्रम तथा सन्ध्या आरती सञ्चालन गर्ने योजना छ। कोका खोलाको पानी ब्रान्डिङ अध्ययन र मोनोरेल सम्भाव्यता अध्ययन पनि नीति कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाले सडक, खानेपानी, सहकारी नियमन, भूमि प्रशासन सेवा, सुशासन, रोजगारी सिर्जना र विपन्न परिवारका लागि राहत कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । नगरसभामा नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकमाथि छलफल हुने भएको छ ।

प्रकाशित: १० असार २०८३ २२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App