नेपालले भदौ महिनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र–एलडीसी), स्युचाटारले सार्वजनिक गरेको विवरणअनुसार भदौमा कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो।
प्राधिकरणका अनुसार उक्त विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
भदौ महिनामा नेपालले दुई माध्यमबाट विद्युत् निर्यात गरेको थियो। द्विपक्षीय सम्झौता (बाइल्याटरल) मार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ।
द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात भएको छ। यसबाट ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भएको छ। यसबाट १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
कुल विद्युत् निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहेको छ भने विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात बन्द रहेको छ। अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।
प्रकाशित: ३ आश्विन २०८३ १०:१४ शनिबार