नेपाल विद्युत् प्राधिकरणको व्यापार वृद्धि भए पनि नाफा घटेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रूपैयाँको आम्दानी गरेको भए पनि नाफामा गिरावट आएको छ।
प्राधिकरणले वार्षिकोत्सवमा आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड ५० लाख रूपैयाँले घटेको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको नाफा १३ अर्ब ३० करोड रूपैयाँ थियो। गत आव २०८१/८२ मा प्राधिकरणको नाफा नौ अर्ब ६ करोड रूपैयाँ मात्र कायम भएको छ।
चुहावटमा वृद्धि, अमेरिकी डलरको मूल्य बढेकाले विदेशी ऋण भुक्तानी गर्दा धेरै रकम खर्च भएकाले नाफा घटेको प्राधिकरणले जनाएको छ। त्यसैगरी डेडिकेटेट र ट्रंक लाइनको बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण पनि ब्यालेन्स सिटमा नाफा घटेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको कुल सम्पत्ति भने बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई गत आव २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड रूपैयाँ पुगेको पर्छ। प्राधिकरणको कुल सञ्चालन खर्चमा १०.१५ प्रतिशतले बढेको छ।
जापानी येन, अमेरिकी डलरलगायत विदेशी मुद्रामा भएको अधिमूल्यनका कारण मात्रै अडाइ अर्ब रूपैयाँ बराबरको नोक्सानी भएको प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए। ‘प्रशासनिक खर्च वृद्धि र औसत विद्युत् बिक्री मूल्यमा कमी आउँदा नाफामा केही कमी देखिएको छ’, शाक्यले भने।
विद्युत् बिक्रीसहित अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। प्राधिकरणका अनुसार सञ्चालन खर्च, ब्याज खर्चलगायत सम्पूर्ण खर्चसहित कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड रूपैयाँ खर्च भएको छ। डेडिकेटेड लाइन तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभिजनिङ गर्दा करिब साढे पाँच अर्ब रूपैयाँ नोक्सानी थप भयो।
विद्युत् निर्यात भने बढेको छ। भारततर्फ भएको विद्युत् निर्यात अघिल्लो आवको तुलनामा २२.३३ प्रतिशतले वृद्धि भई दुई हजार ३८० गिगावाट घण्टामा पुगेको छ। सोही अवधिमा नेपालले एक हजार ७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको छ।
विद्युत् निर्यातबाट प्राधिकरणले गत आवमा १७ अर्ब ४७ करोड १० लाख रूपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले भारत विद्युत् निर्यात गर्दै आएकोमा गत वर्षदेखि बंगलादेश पनि निर्यात सुरु गरेको छ।
भारत विद्युत् निर्यातका लागि ३० वटा जलविद्युत् केन्द्रहरूबाट उत्पादन हुने कुल एक हजार १० मेगावाट विद्युत् बिक्रीका लागि भारत सरकारबाट अनुमति पाएको छ। नेपालले भारतबाट १२ अर्ब नौ करोड रूपैयाँको बिजुली आयात गरेको छ। गत आवमा विद्युत् व्यापारमा नेपाललाई चार अर्ब ५७ करोड पाइदा भएको छ।
प्राधिकरणका अनुसार राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल क्षमता तीन हजार ५९१ मेगावाट पुगेको छ। गत आव २०८१/८२ मा मात्रै ४३४ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएको छ। यसमध्ये प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट र निजी क्षेत्रको योगदान २९०.५ मेगावाट रहेको छ।
कुल विद्युत् उत्पादनमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत् उत्पादकहरूको योगदान ५५ प्रतिशत र ११ प्रतिशत विद्युत् भारतबाट आयात गरेर विद्युत् आपूर्ति गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका विद्युत् उपभोग गर्ने ग्राहक ४.६ प्रतिशतले वृद्धि भई ग्राहक संख्या ५७ करोड एक लाख पुगेको छ। प्राधिकरणका अनुसार उपभोक्तामा राष्ट्रिय ग्रिडको पहुँच करिब ९८ प्रतिशत पुगेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत् उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। नेपाल खुद विद्युत् निर्यातकर्ता देश बनेको र ७५३ स्थानीय तहमध्ये ७३४ स्थानीय तह अर्थात् ९७.५ प्रतिशतमा विद्युत्को पहुँच पुर्याउन निजी क्षेत्रको पनि योगदान रहेको बताए।
सरकारले लिएको लक्ष्यअनुसार २८ हजार ५०० मेगावाट उत्पादन पुर्याई १५ हजार मेगावाट निर्यात गर्न सके वार्षिक पाँच देखि सात खर्ब रूपैयाँ देशमा ल्याउन सकिने र हालको वार्षिक ४०० किलोवाट प्रतिव्यक्ति विद्युत् खपतलाई एक हजार पाँच सय किलोवाट पुर्याएर १३ हजार ५०० मेगावाट खपत गर्न सके अर्थतन्त्र लगभग चार गुणाले वृद्धि हुने डाँगीले बताए।
आगामी १० वर्षसम्म वार्षिक दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न सके करिब ४५ खर्ब लगानीयोग्य रकम आय भई सोही रकमले नेपाल सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे।
गुणस्तरीय बिजुलीमा सरकार कटिबद्ध: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले गुणस्तरीय विद्युत् आपूर्तिमा सरकार कटिबद्ध रहेको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले सुरक्षित, गुणस्तरीय र भरपर्दो विद्युत् प्रवाहलाई मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विद्युत् चुहावट न्यूनीकरण गर्न निर्देशन दिए।
विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भए पनि अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताए। ‘हामी नागरिकभन्दा एक कदम अगाडि छौं, त्यसैले केवल दायित्व पूरा गरेर पुग्दैन, कर्तव्यबोधका साथ प्रेरणादायी ढंगले काम गर्नुपर्छ’, उनले भने।
विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विद्युत् बिक्रीमा समेत संलग्न गराइने स्पष्ट परे। मन्त्री खड्काले गरिब तथा विपन्न वर्गलाई विना धितो जलविद्युत्को सेयर उपलब्ध गराएर उनीहरूको आर्थिक अवस्था सुधार गर्ने योजनाको समेत जानकारी दिए। उनले लामो समयदेखि असुल नगरिएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिए।
मन्त्री खड्काका अनुसार ऊर्जा क्षेत्रमा भएको प्रगति मुलुकको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण छ। त्यसैले प्राधिकरणले जिम्मेवार र उत्तरदायी ढंगले काम गर्दै २४ घण्टा विद्युत् आपूर्ति गर्ने क्षमताको विकास गर्नुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सबै घरधुरीमा विद्युत् पुर्याउनुपर्ने आवश्यकता औंल्याए भने विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण र वितरण प्रणाली अझ सबल बनाउनुपर्ने बताए।
प्रकाशित: २ भाद्र २०८२ ०७:१३ सोमबार