कृषि विकास कार्यालय चितवनबाट एक वर्षको अवधिमा आठ हजार बढी परिवार लाभान्वित भएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमबाट चितवन र मकवानपुरका आठ हजार पाँच सय सात कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका हुन् ।
कार्यालयले यसवर्ष २२ वटा शीर्षकमार्फत् कार्यक्रम सञ्चालन गरेको थियो । त्यसमध्ये बीउ उत्पादन प्रवद्र्धन तथा क्षेत्र विस्तार कार्यक्रम मार्फत सबैभन्दा बढी तीन हजार १२५ परिवार कृषक लाभान्वित भएका छन् । यस शीर्षकमा कार्यालयले एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ९६२ हेक्टर क्षेत्रफललाई पुग्नेगरी बीउ वितरण गरिएको कृषि विकास कार्यालय चितवनका कृषि अर्थ विज्ञ तथा कृषि अधिकृत निर्मल पौडेलले जानकारी दिए ।
एक वडा एक कृषि कार्यक्रम मार्फत एक हजार २८० परिवार, मसिनो धान प्रवद्र्धधन कार्यक्रम मार्फत एक हजार १५६, साना सिँचाई कार्यक्रम निर्माण मार्फत ४५३ परिवार संख्या लाभान्वित भएको पौडेलले जानकारी दिए । त्यस्तै व्यवसायीक तरकारी खेती, खाद्यन्न बाली प्रवद्र्धन, प्राङ्गारिक मल वितरण, कृषि यान्त्रिकरण, कृषि प्रसार कार्यक्रम, तेलहन बाली, पुष्प व्यवसाय, कृषि उपजहरुको मूल्य शृंखला विकास कार्यक्रम, संरक्षित संरचनामा गोलभेडा खेतीमार्फत् किसानले सेवा पाएका छन् । कार्यालयले २ सय ९२ वटा उपभोक्ता मार्फत काम समेत गरेको छ ।
चालु आर्थिक वर्षका लागि कार्यालयले १४ करोड ३५ लाख ६० हजार रुपैयाँ बजेट रहेको थियो । त्यसमध्ये १० करोड ३६ लाख ५० हजार रुपैयाँ बजेट खर्च भएको उनले बताए । अधिकांश कार्यक्रम भरतपुर महानगरपालिका र माडी नगरपालिका केन्द्रित भएका छन् । भरतपुर महानगरपालिकामा मात्रै दुई करोड ६५ हजार रुपैयाँ बराबरका कार्यक्रम सञ्चालित भएको उनले बताए ।
त्यसपछि माडी नगरपालिकामा एक करोड ५६ लाख ३२ हजार, थाहा नगरपालिकामा ८९ लाख ८३ हजार, हेटौडा उपमहानगरपालिकामा ७५ लाख ९० हजार, इन्द्रसरोबर गाउँपालिकामा ५३ लाख २० हजार, भिमफेदी गाउँपालिकामा ३८ लाख ८० हजार, खैरहनी नगरपालिकामा ३७ लाख १५ हजार, कालिका नगरपालिकामा २० लाख ६७ हजार, राक्सिराङ गाउँपालिकामा २० लाख १८ हजार, रत्ननगर नगरपालिकामा १८ लाख ५२ हजार रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै बकैया गाउँपालिका १६ लाख ३३, राप्ती नगरपालिकामा १३ लाख ७१ हजार रुपैयाँ, १० लाख ९९ हजार, बागमती गाउँपालिका नौ लाख ७७ हजार र सबैभन्दा कम कैलाश गाउँपालिकामा आठ लाख २२ हजार रुपैयाँ बराबरका कृषिका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
प्रकाशित: ३० असार २०८२ १७:४७ सोमबार