अर्थ

बागमतीको आर्थिक गतिविधि : उद्योगमा कर्जा लगानी डेढ खर्ब बढ्यो

मुलुकमा औद्योगीकरण हुन नसके पनि बागमती प्रदेशका उद्योगमा बैंक तथा वित्तीय संस्थाको लगानी वृद्धि भएको एक अध्ययनले देखाएको छ। बागमती प्रदेश अन्तर्गतका जिल्लामा एक वर्षभित्र बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी करिब डेढ खर्बले बढेको छ।  

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १२ खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ। उद्योगहरूमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले वृद्धि भएको छ। आव २०८०/८१ मा यस्तो कर्जा १० खर्ब ६३ अर्ब ९४ करोड रुपैयाँ थियो।  

औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड रुपैयाँ (०.०१ प्रतिशत) कर्जा लगानी रहेको छ। अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ। बागमती प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू काठमाडौं उपत्यका, चितवन र मकवानपुरमा अवस्थित छन्। यस प्रदेशमा रहेका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू पर्दछन्।  

कुल औद्योगिक कर्जामा विद्युत्, ग्यास तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत रहेको छ। कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५.० प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा २२.०९ प्रतिशतले, विद्युत्, ग्यास तथा पानीमा २१.१ प्रतिशतले, निर्माण उद्योगमा १५.३० प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ४.९० प्रतिशतले कर्जा बढेको छ। खानी उत्पादनसम्बन्धी उद्योगमा १.३४ प्रतिशतले र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगमा २.५८ प्रतिशतले कर्जा घटेको छ।  

आर्थिक वर्ष २०८१/८२ मा कुल ५४३ उद्योगहरू दर्ता भएका छन्। स्थापना गरिएका यस्ता उद्योगहरूको सञ्चालनले बागमती प्रदेशको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ। बागमती प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३८.७ प्रतिशत रहेको छ। उद्योगहरूमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने लत्ता कपडामध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ।  

समीक्षा वर्षमा नमुना छनोटमा समेटिएका उद्योगका उत्पादनमध्ये बियर, चुरोट, टान्सफर्मर तथा औषधीमध्येको ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइसिरप र लिक्विडको उत्पादन बढेको छ। प्रशोधित दूध, पशुदाना, चाउचाउ, हल्का पेय पदार्थ, पश्मिना, गार्मेन्ट, रङ, इँटा, बिजुलीको उत्पादन घटेको छ। समीक्षा अवधिमा यस प्रदेशको अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहेको थियो। नमुना छनोटमा परेका उद्योगहरूमध्ये चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम रहेको छ।  

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.४ प्रतिशत रहेको छ। घट्दो ब्याजदरको अवस्थामा उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाबाट थप कर्जा उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ्न सक्ने सम्भावना रहेको छ। बागमती प्रदेशमा औद्योगिक उत्पादनको बजारीकरणको प्रचुर सम्भावना रहेको छ।  

उद्योगहरूले विभिन्न चुनौतीको सामना गरेको अध्ययनमा देखिएको छ। प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त सडक पूर्वाधार समयमै पुनर्निर्माण नहुँदा कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तुको बजारीकरणमा समस्या उत्पन्न भई उद्योगहरूको सञ्चालन खर्च बढेको छ। जग्गाको मूल्यमा भएको अधिक वृद्धि, उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधारहरूको अभावमा नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्ने कार्य चुनौतीपूर्ण छ। विदेश पलायन हुने युवाहरूको संख्या उल्लेख्य रहनु, आर्थिक गतिविधि अपेक्षाकृत रूपमा वृद्धि हुन नसक्नु साथै दक्ष जनशक्ति, कच्चा पदार्थको अभाव र बजारको अभाव आदिको अवस्थामा थप उद्योग स्थापना तथा उत्पादकत्व वृद्धि गर्ने कार्यले कठिन भएको छ। भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्ररूपमा अगाडि बढाउन सके निर्माण सामग्रीहरू फलाम, सिमेन्ट, इँटालगायत उत्पादन गर्ने उद्योगहरूको कारोबार बढ्न सक्ने अवस्था छ।

प्रकाशित: २५ कार्तिक २०८२ १३:०५ मंगलबार