अर्थ

सुनसरी–मोरङका उद्योगमा ट्रिपिङ र लो भोल्टेजको समस्या विकराल

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरूले लामो समयदेखि भोग्दै आएको ट्रिपिङ, लो भोल्टेज र गुणस्तरहीन ऊर्जाको समस्या विकराल रहेको एक सर्वेक्षणले देखाएको छ।

उद्योग संगठन मोरङमा सोमबार आयोजित एक कार्यक्रममा ‘आइडिया’ नामक संस्थाले गरेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ऊर्जा व्यवस्थापनमा तत्काल सुधारको आवश्यकता औंल्याइएको हो।

उक्त सर्वेक्षण प्रतिवेदनमाथि छलफल गर्न आयोजित कार्यक्रममा उद्योगी–व्यवसायीहरूले ऊर्जाको अस्थिर आपूर्तिले उत्पादन लागत बढाएको र औद्योगिक प्रतिस्पर्धात्मक क्षमतामा ह्रास ल्याएको गुनासो गरेका छन्।

आइडियाले २०८० साल असोजमा गरेको सर्वेक्षणमा करिडोरका उद्योगहरूले भोगिरहेको ऊर्जासम्बन्धी समस्या, हालको खपतको अवस्था र सुधारका सम्भावनाहरूलाई विस्तृत रूपमा समेटिएको छ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सर्वेक्षणले ऊर्जा क्षेत्रका समस्याहरूको यथार्थ चित्रण गरेको बताए

‘यो प्रतिवेदनले ऊर्जासम्बन्धी नीतिगत बहस र पैरवीका लागि महत्त्वपूर्ण आधार प्रदान गरेको छ,’ अध्यक्ष राठीले भने, ‘सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले ऊर्जा व्यवस्थापनका क्षेत्रमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता प्रस्ट देखाएको छ, यसमा हामी सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।’

प्रतिवेदन प्रस्तुत गर्दै आइडियाका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले सर्वेक्षणमा उद्योगहरूले प्रयोग गर्ने इन्धनको स्रोत, लोडसेडिङ तथा ट्रिपिङको अवस्था, र प्राप्त ऊर्जाको गुणस्तर जस्ता महत्त्वपूर्ण पक्षहरूलाई समेटिएको जानकारी दिए।

उनले भने, ‘हाम्रो अध्ययन विशेषगरी ऊर्जा दक्षता वृद्धि र अनावश्यक खपत घटाउने उपायहरूको पहिचानमा केन्द्रित छ।’

डा. शर्माले नीति निर्माण गर्दा ठूला, मझौला, साना तथा परम्परागत उद्योगहरूको फरक-फरक अवस्थालाई बुझ्न यस्ता प्रमाणमा आधारित अध्ययन अत्यावश्यक हुनेमा जोड दिए। उनले सर्वेक्षणको निष्कर्ष प्रस्तुत गर्दै तीनवटा मुख्य सुझावहरू अघि सारे।

पहिलो, ऊर्जाको पहुँच र लागतमा कठिनाइ भोगिरहेका साना उद्योगहरूलाई विशेष सहुलियत दिनुपर्ने। दोस्रो उद्योगहरूलाई गुणस्तरीय र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गर्न प्रसारण लाइन र अन्य पूर्वाधार विकासमा लगानी बढाउनुपर्ने र ऊर्जा क्षेत्रका नीतिहरू अनुमानको भरमा नभई यस्तै अध्ययन र तथ्याङ्कमा आधारित भएर निर्माण गर्नुपर्ने।

छलफलमा सहभागी उद्योगीहरूले ऊर्जाको भरपर्दो आपूर्ति नहुँदा मेसिनरी बिग्रने, उत्पादन रोकिने र समग्र उत्पादन चक्र नै प्रभावित हुने गरेको बताएका थिए।

प्रकाशित: ५ श्रावण २०८२ २०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App