प्राकृतिक विपद्का वावजुत नेपालमा यो सेप्टेम्बर महिनामा ८८ हजार २ सय ४८ जना विदेशी पर्यटक भित्रिएका छन्। यो आगमन २०२५ सेप्टेम्बरको तुलनामा १२.१ प्रतिशत बढि रहेको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार गत सेप्टेम्बरमा नेपालमा सबैगरि ७८ हजार ७ सय ११ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
दक्षिण एशियाली मुलुकका पाहुनाको आगमनमा भने अघिल्लो सेप्टेम्बरको तुलनामा झन्डै २४ प्रतिशत वृद्धि भएको छ। बोर्डका अनुसार २०२५ सेप्टेम्बरमा नेपालमा २४ हजार २ सय ८५ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो आगमन बढेर यो सेप्टेम्बरमा ३० हजार ८५ पुगेको छ। सेप्टेम्बरमा नेपाल भित्रिएका विदेशी पर्यटक मध्ये दक्षिण एशियाली मुलुकका पाहुना आगमनको हिस्सा ३४ प्रतिशत रहेको पनि बोर्डको भनाई छ।
त्यस्तै अरु एशियाली मुलुकका पाहुनाको आगमन भने ५८ प्रतिशतले बढेको छ। पोहोर सेप्टेम्बरमा १२ हजार ५ सय ९० जना पाहुना भित्रिएकोमा यो पटक बढेर १९ हजार ८ सय ८८ पुगेको तथ्यांकले देखाएको छ।
यूरोप र अमेरिकी पाहुनाको आगमनमा भने प्राकृतिक विपद्ले असर पारेको छ। यूरोपियन मुलका पाहुनाको आगमन अघिल्लो सेप्टेम्बरको तुलनामा यो सेप्टेम्बरमा ८.७ प्रतिशतले घटेको छ। पोहोर सेप्टेम्बरमा नेपालमा १६ हजार ५ सय ९७ जना विदेशी पाहुना भित्रिएका थिए। तर, योपटक सेप्टेम्बरमा घटेर १५ हजार १ सय ४८ जना पाहुना नेपाल भित्रिएका छन्।
त्यस्तै अमेरिकी पाहुनाको आगमन पनि १२.३ प्रतिशतले घटेको छ। अघिल्लो सेप्टेम्बरमा ११ हजार ५ सय २३ जना अमेरिकी मुलका पाहुना नेपाल भित्रिएकोमा यो सेप्टेम्बरमा घटेर १० हजार १ सय ७ जना पाहुना नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाएको छ। यो सेप्टेम्बरमा मध्यपूर्वका पाहुनाको आगमन भने बढेको छ।
ओसिनिया क्षेत्रबाट आउने पाहुनाको आगमनमा २५.९ प्रतिशतले कमी भएको छ। ओसिनिया क्षेत्रबाट अघिल्लो सेप्टेम्बरमा ७ हजार ३ सय १४ जना पाहुना भित्रिएकोमा यो सेप्टेम्बरमा घटेर ५ हजार ४ सय २२ मा झरेको बोर्डको भनाई छ।
‘प्राकृतिक विपत्ले यूरोपियन र अमेरिकी पाहुनाको आगमनमा बढि प्रभाव परेको छ,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य भन्छन, ‘सिजनका बेला प्राकृतिक विपद्त आईपरेकोले धेरैजसो पदयात्राका पाहुना प्रभावित भएका छन्।’
उनका अनुसार पछिल्लो समय एकमहिना जति नै विपद्का विभिन्न घटनाक्रम नेपालमा घटे। त्यसले गर्दा पदयात्रा लागि आउन चाहेका पाहुना आउन पाएनन। आएका पाहुनाको पनि पदयात्रा पुरा भएन। यो पदयात्राको मुख्य सिजन हो।’ व्यावसायीका अनुसार अहिले पनि अन्नपूर्ण क्षेत्रका सबैजसो पदमार्ग खुलिसकेका छैनन। सिजनका बेला पदयात्रा संचालन हुन नपाएको उनीहरुको भनाई छ।
सेप्टेम्बरमा नेपाल भित्रिने विदेशी पाहुना मध्ये सबैभन्दा बढि भारतीय रहेका छन्। महिनाभरमा १७ हजार ४ सय २५ जना भारतीय पाहुना नेपाल भित्रिएका छन्। रसुवा भोटेकोसीको बाढीको प्रभावका बाबजुत पनि भारतीय पाहुनाको आगमन भएको व्यावसायीले बताए। त्यसबाहेक यो सिजनमा नेपालमा चिनियाँ पाहुनाको आगमन सन्तोषजनक देखिएको तथ्यांकले देखाएको छ।
बोर्डको तथ्यांक अनुसार यो सेप्टेम्बरमा नेपालमा ११ हजार २ सय १२ जना चिनियाँ पाहुना भित्रिएका छन्। अघिल्लो सेप्टेम्बरमा यो संख्या ५ हजार २ सय ३७ मात्र थियो। अघिल्लोको तुलनामा यो सेप्टेम्बरमा नेपाल भित्रिएका चिनियाँ पाहुनाको वृद्धिदर ११४ प्रतिशत रहेको पनि बोर्डको भनाई छ।
‘वर्षायामले अमेरिकी र यूरोपियन मुलका पाहुना रोकिएका बेला चिनियाँ पाहुनाले गर्दा व्यावसाय केही चलायमान बनेको हो,’ होटल ल्याण्डमार्कका संचालक ओमप्रकाश पाण्डेले भने, ‘समूहमा आएका चिनियाँले व्यावसायीलाई थोरै भएपनि राहत दिएका छन्।’
प्रकाशित: १५ आश्विन २०८३ १८:३० बिहीबार