अर्थ

गन्तव्य मध्यपुर-२०८२ सुरु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले गन्तव्य मध्यपुर शुभारम्भ गरेको छ । प्रत्येक वर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो ।

नगरपालिकाले सोमबार गरेको पत्रकार सम्मेलनमार्फत नगर प्रमुख सुरेन्द्र श्रेष्ठले यसलाई अभियानको रुपमा लैजाने योजना रहेको सुनाए । त्यसका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको पनि जानकारी उनले गराए ।

नगर प्रमुख श्रेष्ठले मध्यपुर थिमिका ऐतिहासिक, सांस्कृतिक तथा परम्परागत सम्पदाले सम्पन्न नगर भएकाले यसलाई पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रमहरू ल्याइएको बताए । विशेषगरी बिस्का जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धनमा जोड दिइएको उनले बताए ।

नगरपालिकाका अनुसार पहिलो पटक यस अन्तर्गत चैत २८ गते शंखधर चोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा विक्री केन्द्रको उदघाटन,  चैत २८ गते नै निगु पुखु ९दुई पोखरी० मा खुल्ला धिमेबाजा प्रतियोगिताको उदघाटन, चैत २८ र २९ गते दुई दिन घरेलु तथा साना उद्योगसँगको सहकार्यमा स्थानीय रैथाने घरेलु उत्पादन विक्रीस्थल तथा मेला र स्थानीय परिकारको कार्यक्रम निगु पुखु दुई पोखरीमा, चैत २९ गते नै दुई पोखरीमा विहान ११ बजेदेखि साँझ ६ बजेसम्म साँंस्कृतिक कार्यक्रम हुनेछ । साथै चैत ३० देखि वैशाख २ गतेसम्म बिस्का जात्रा मनाइने र वैशाख २ गते बोदेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने जानकारी समेत दिइयो ।

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण, युवालाई रोजगारी सिर्जना तथा आन्तरिक–बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रमहरू आयोजना गरिएको जनाएको छ । साथै, यसवर्षको बिस्का जात्रालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन विशेष तयारी गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा नगरपालिकाले विभिन्न सरोकारवाला निकाय, स्थानीय समुदाय तथा व्यवसायीसँग सहकार्य गर्दै कार्यक्रम सफल बनाउन सबैको सहयोग अपेक्षा गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा नगर उपप्रमुख बिजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित: २३ चैत्र २०८२ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App