यसपटक अफसिजनमै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको बताइए पनि बुद्ध जन्मस्थल लुम्बिनी भने सुनसान बनेको छ।
रुपन्देहीको बेलहिया नाकाबाट दैनिक सयौं भारतीय तथा अन्य मुलुकका पर्यटक नेपाल प्रवेश गरिरहेका छन्। अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्मको साढे ६ महिनामा यो नाकाबाट ५८ हजार ४५१ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसबाहेक हजारौं भारतीय पर्यटक पनि यही नाका हुँदै नेपाल आउने गरेका छन्। तर, बेलहिया नाकाबाट सबैभन्दा नजिक रहेको बुद्ध जन्मस्थल लुम्बिनीले भने त्यसको अपेक्षित लाभ लिन सकेको छैन।
अघिल्ला वर्षहरूमा बेलहिया नाका हुँदै नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको पहिलो रोजाइ लुम्बिनी हुने गरेको थियो। तर, यसपटक उनीहरू सिधै पाल्पा, पोखरा, चितवन, प्युठान र मुक्तिनाथतर्फ जाने गरेको पर्यटन व्यवसायी बताउँछन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) लुम्बिनीका अध्यक्ष चन्द्र थापाका अनुसार भारतीय पर्यटकको रोजाइमा पछिल्लो समय पाल्पा, पोखरा, चितवन, प्युठानको स्वर्गद्वारी र मुक्तिनाथ पर्ने गरेका छन्।
अष्ट्रेलिया, अमेरिका, बेलायत, सिंगापुर, जर्मनी, फ्रान्स, नर्वे, क्यानडा, ब्राजिल र मेक्सिकोलगायत देशका पर्यटक पनि लुम्बिनी नपसी सिधै पोखरा, चितवन र काठमाडौं पुग्ने गरेको अध्यागमन कार्यालयका कर्मचारीहरू बताउँछन्।
बौद्धमार्गीको संख्या धेरै रहेका श्रीलंका, भियतनाम, थाइल्यान्ड, दक्षिण कोरिया र भुटानका पर्यटक भने लुम्बिनी पुग्ने गरेका छन्। तर, उनीहरूको बसाइ पनि छोटो हुने गरेको छ। कतिपय पर्यटक लुम्बिनीभित्र रहेका आफ्नै देशका गुम्बामा बस्ने भएकाले स्थानीय पर्यटन व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन।
लुम्बिनीका लागि जेठ, असार, साउन र भदौ अफसिजन मानिन्छ। त्यस्तै, पुस र माघ पनि अफसिजनमै पर्छन्। यही समयमा लुम्बिनीमा पर्यटकीय गतिविधि निकै कम हुने गरेको छ।
लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार लुम्बिनी तथा आसपासका बौद्ध सम्पदाको एकीकृत विकास, प्रभावकारी प्रचारप्रसार र पर्यटकलाई लामो समयसम्म रोक्ने आकर्षक योजना सरकार तथा निजी क्षेत्र दुवैसँग नहुँदा लुम्बिनीमा हरेक वर्ष लामो समय अफसिजन चल्ने गरेको हो।
लुम्बिनी होटल संघका महासचिव टिका कट्टेलले अफसिजनमा पनि पर्यटकीय गतिविधि बढाउन व्यवसायीहरूले विभिन्न कार्यक्रम तथा विशेष अफर सञ्चालन गरिरहेको बताए।
पछिल्लो समय लुम्बिनीमा विभिन्न मुलुकबाट भीआईपी तथा भीभीआईपी भ्रमण पनि भइरहेका छन्। त्यसका कारण तथ्याङ्कमा पर्यटक आगमन बढेको देखिए पनि ती भ्रमण टोली आफ्नै देशबाट चार्टर्ड विमानमा केही घण्टाका लागि मात्र आउने र फर्किने भएकाले स्थानीय पर्यटन व्यवसायले प्रत्यक्ष आर्थिक लाभ लिन नसकेको व्यवसायीहरूको गुनासो छ।
लुम्बिनी विकास कोषका प्रमुख जनसम्पर्क अधिकृत हरिध्वज राईका अनुसार यस्ता भ्रमणले तत्काल ठूलो आर्थिक लाभ नदिए पनि लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा सकारात्मक सन्देश प्रवाह गरेको छ। कोषका अनुसार सन् २०२६ को साढे ६ महिनामा लुम्बिनीमा ६५ हजार तेस्रो मुलुकका, १ लाख ६४ हजार भारतीय तथा ४ लाख ८१ हजार आन्तरिक पर्यटक आएका छन्।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले लुम्बिनीभन्दा बढी गर्मी हुने भारतको अयोध्यामा कहिल्यै अफसिजन नहुने उल्लेख गर्दै प्रचारप्रसारको कमीका कारण लुम्बिनीमा वर्षको ६–७ महिना अफसिजन चल्ने गरेको बताए।
उनका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बौद्ध धर्मावलम्बी धेरै भएका मुलुकसँग हवाई सम्पर्क विस्तार गरेर लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्ने सरकारी प्रतिबद्धता भाषणमै सीमित भएको छ। सरकारको कमजोर पर्यटन नीति र भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटकीय चहलपहल बढ्न नसकेको उनको भनाइ छ।
लुम्बिनी हेरिटेज होटलका सञ्चालक अनिल श्रेष्ठले लुम्बिनीको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बौद्धमार्गी देशसँग लुम्बिनीको सिधा हवाई सम्पर्क स्थापित गर्न सके पर्यटन बजार उल्लेख्य रूपमा विस्तार हुनेछ। उनले लुम्बिनीसँगै अन्य बुद्धस्थल तथा लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको व्यवस्थित विकास र प्रभावकारी प्रचारप्रसारमा पनि जोड दिए।
लुम्बिनी होटल संघका अध्यक्ष शर्माले लुम्बिनी नेपालको मात्र नभई विश्वकै प्रमुख पर्यटकीय गन्तव्य भए पनि यसको ब्रान्डिङमा सरकारको पर्याप्त चासो नदेखिएको गुनासो गरे।
‘व्यवसायीले आफ्नै प्रयासमा पर्यटक ल्याउने र लुम्बिनी चिनाउने काम गरिरहेका छौं। तर, सरकारको तर्फबाट अपेक्षित सहयोग र चासो पाइएन,’ उनले भने।
उनका अनुसार लुम्बिनी विश्वस्तरीय पर्यटन गन्तव्य भएकाले गुणस्तरीय पर्यटन सेवा प्रदान गर्न व्यवसायीहरू प्रतिबद्ध छन्।
गत साता लुम्बिनी होटल संघले लुम्बिनीमा ट्राभल मार्ट आयोजना गरी लुम्बिनी र भारतको बनारसका पर्यटन व्यवसायीबीच बुद्ध जन्मस्थल लुम्बिनी र बनारसलाई जोडेर एकीकृत पर्यटन प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ।
संघको नेतृत्वमा लुम्बिनी र बनारसका पर्यटन व्यवसायीबीच लुम्बिनीलाई आध्यात्मिक तथा बनारसलाई सांस्कृतिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, पर्यटकको बसाइ अवधि बढाउने, नेपाल–भारत सीमावर्ती बजारलाई पर्यटनमैत्री बनाउनेलगायत पाँचबुँदे सहमति भएको छ।
प्रकाशित: ३ श्रावण २०८३ १९:३२ आइतबार