अर्थ

वैदेशिक रोजगारी सेवा शुल्क बैंकिङ प्रणालीबाट मात्रै गर्न विभागको आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई सेवा शुल्क भुक्तानी गर्दा अनिवार्य रूपमा बैंकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेको छ।

विभागले सूचना जारी गरेर वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी तथा आर्थिक कारोबारलाई पारदर्शी बनाउन इजाजतपत्रप्राप्त संस्थालाई बुझाउनुपर्ने सेवा शुल्क बैंकमार्फत मात्रै भुक्तानी गर्न सबैसँग आग्रह गरेको हो। रकम भुक्तानी गरेको प्रमाण, कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित राख्न समेत विभागले अनुरोध गरेको छ।

विभागका अनुसार नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण जुटाउन कठिन हुने भएकाले कुनै पनि व्यक्ति वा संस्थालाई नगदमा रकम नदिन आग्रह गरिएको छ।

साथै, इजाजतपत्रप्राप्त संस्थाहरूलाई पनि नगद कारोबार नगर्न/नगराउन निर्देशन दिइएको छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ १८:४९ बिहीबार