आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को २४ औं वार्षिक साधारणसभामा निर्वाचनका सम्बन्धमा विवाद सिर्जना भएको छ।
ईप्पानका महासचिव तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बलराम खतिवडासहित ३५० सदस्यले २४ औं साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न जेठ २८ गते पत्र ईप्पान अध्यक्ष मार्फत कार्य समितिमा निवेदन पेस गरेको छ।
निवेदनमा संस्थाको सर्वाेच्च निकाय साधारणसभाले गरेको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व भएको तर सो दायित्व भुलेर कार्य समितिको बहुमतको नाममा आफ्नो निवेदन विपरीत निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएपछि संस्थामा थप विवाद सिर्जना भएको उल्लेख छ। ईप्पानमा ६८१ मतदाता रहेकोमा संस्थाका करिब ३५० मतदाताले निर्वाचन प्रकृया अगाडि नबढाउन हस्ताक्षर गरी वैधानिक तवरले मात्रै अघि बढ्न गरिएको आग्रहलाई बेवास्ता गरी निर्वाचन समितिले जेठ २८ गते बेलुका जारी गरेको अन्तिम उम्मेदवारको नामावलीले सार्वजनिक गरेर खतिवडा पक्षका उपाध्यक्ष उम्मेदवारहरू कुमार खरेल र दिपक पौडेल तथा सचिवका उम्मेदवारहरू कृष्णप्रसाद घिमिरे र विरेन्द्रबहादुर मल्लको खारेजी प्रति गम्भीर असहमति जनाएको छ।
आज सम्पन्न हुने साधारणसभामा विधान संशोधनको एजेण्डा राखिएकाले सो सँगै कार्यसमितिको निर्वाचन समेत छ। यो विवादको विषय भने संस्थाको २३ औं साधारणसभाबाट सर्वसम्मतिले पारित गरेको विधान संशोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र २४ औं साधारणसभाले निर्वाचन गर्नुपर्ने कि २१ औं साधारणसभा अगाडिकै विधानमा निर्वाचन गर्ने भन्नेबाटै सुरु भएको हो।
ईप्पानको २१ औं वार्षिक साधारणसभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन भएको र सो समितिले २०८२ साल असार ३१ गते सम्पन्न संस्थाको २३ औँ साधारणसभा समक्ष निणयार्थ पेश भएको उल्लेख छ र उक्त मस्यौदा विधान ईप्पानको २३ औं वार्षिक साधारणसभाले पारित गरेर सोको कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएकाले निर्णय कार्यान्वयन नगर्ने मनसायले संस्थालाई नवीकरण नगरी अहिले पुरानै विधानबाट निर्वाचन गर्ने निर्णयले विवाद सिर्जना भएको थियो।
साधारणसभाबाट पारित निर्णय कार्यसमितिको बैठकले काट्न नमिल्ने, साधारणसभाको अधिकार खोस्ने गरी कार्यसमितिले मनोगत रूपमा निर्णय गरे कानुनी रूपमा अवैध हने र दिएको अख्तियारी अनुसारको जिम्मेवारी पूरा गर्ने नैतिक तथा कानुनी दायित्व अख्तियार प्राप्त व्यक्तिको भएको ईप्पानले जनाएको छ।
२४ औं वार्षिक साधारणसभाका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने र विधान संशोधन भए पश्चात एक कार्यकाल कार्यसमितिमा रहेको विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रूपमा उम्मेदवारी दिने गरी प्रस्ताव गरिएकाले सो पारित गरेर सबैलाई चुनावी प्रक्रियामा सहभागी गराएर मात्रै निर्वाचन गर्न आग्रह समेत गरिएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ ०८:११ शुक्रबार