सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यवसायिक रूपमा सिस्नुखेती थालेका छन्।
लालीगुराँस नगरपालिका–१ को चैते सामुदायिक वनमा सिस्नुको व्यवसायिक खेती थालिएको छ। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको छ। उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले यो कुरा बताए।
डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास र व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले पाएको छ। आगामी साउनदेखि यो मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए।
‘हाल निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेको छ। सिस्नु प्रशोधन गर्ने मेसिन ल्याएर धुलो बजारमा पठाउँदा निजी जग्गाको सिस्नुले मात्र माग नधान्ने भएकाले वन क्षेत्रका खाली जग्गामा पनि सिस्नु रोपेका हौँ,’ उनले भने। साउनदेखि सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना उनले सुनाए।
गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस नगरपालिका पर्छ। लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ। होटलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको वसन्तपुरको टुटे देउराली हिमगङ्गा गेष्टहाउसका सञ्चालक यशोदा कार्कीले बताए। उनको भनाइअनुसार वसन्तपुर बजारका हरेक होटलमा सिस्नुका परिकार पाक्छ।
स्थानीयले बजारका होटलसम्म सिस्नु पुर्याउँछन्। वसन्तपुर बजार भएर यात्रा गर्ने यात्री र पर्यटकले प्राय: सिस्नु किन्ने गरेको रुपा स्टोरका सञ्चालक रुपा रायले बताए। ‘वसन्तपुरबाट हरेक दिन कम्तीमा एक गाडी तराईका जिल्लामा पहाडको निगुरो, च्याउ र सिस्नु पठाउने गरेको छु,’ उनले भने।
अस्थायी रूपमा तेह्रथुममा बस्ने सङ्खुवासभाको धर्मदेवी गाउँपालिका–१ का ६० वर्षीय रमेश गुरुङ र उनकी श्रीमती हर्कमाया दिन बिराएर वसन्तपुरका होटलमा सिस्नु बेच्न ल्याउँछन्। प्रतिमुठा २५ देखि ३० रुपैयाँमा सिस्नु बेचेर एक हजार ५०० रुपैयाँसम्म आम्दानी गरी घर फर्कने गरेको गुरुङ दम्पतीले बताए। निजी जग्गा र जङ्गलमा उम्रिएका सिस्नु टिपेर ल्याउने गरेको उनले सुनाए।
लेकको पात्ले सिस्नु स्वादिष्ट हुने भएकाले यसको माग बढेको हो। लालीगुराँस नगरपालिका क्षेत्रमा प्रशस्त सिस्नु उत्पादन हुने भएकाले सामुदायिक वनलाई सिस्नु प्रशोधन मेसिन उपलब्ध गराउन पहल गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए।
सिस्नुको व्यवसायिक खेती गर्न र यसको धुलोको ‘लेबलिङ र प्याकेजिङ’मा ध्यान दिई गुणस्तरीय उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए। रासस
प्रकाशित: २५ असार २०८२ ११:१६ बुधबार