उच्च मूल्य भएका कृषि उपज निर्यातका लागि सहजीकरण गरिदिन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् । इनोभेट एक्स इम्प्याक्ट संस्थाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरू सम्बन्धी सार्वजनिक नीजि सम्वाद कार्यक्रमका सहभागीहरूले यस्तो माग हुन् ।
कार्यक्रममा अलैंची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैंचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनु्परेको गुनासो गरे । सरकारले धेरै मूल्य पाइने तेस्रो राष्ट्रहरूमा निर्यातका लागि सहजीकरण नगरिदिएकाले भारतमै मात्र निर्भर हुनु परेको उनको गुनासो छ । चिमरियाले नेपालमा उत्पादन हुने अलैंची ओषधिय गुणयुक्त भए पनि धेरैजसो मसलाका रुपमा मात्रै उपयोग भइरहेको बताए । परम्परागत प्रबिधिबाट उत्पादन र प्रशोधन गरिने भएकाले औषधिय गुणयुक्त नेपालको अलैंचीले अन्तराष्ट्रिय बजारमा उचित मूल्य नपाएको उनको भनाई छ । चिमरियाका अनुसार नेपालमा परम्परागत रुपमा दाउराबालेर भट्टी चुल्होमा अलैंची सुकाउने गरिएको छ । जसका कारण अलैंचीमा धुँवा लाग्ने गर्दछ ।
धुँवा भएको अलैंचीले विश्व बजारमा न्यून मूल्य पाइरहेको छ । नेपालमा उत्पादित अलैंचीको उच्च मूल्य पाउन सोलार वा इलेक्ट्रिक डायरमा सुकाउन जरुरी छ ।‘अलैंचीलाई धुँवा मुक्त नबनाएसम्म अन्तरािष्ट्रय बजारमा राम्रो मूल्य पाउन सक्ने अवस्था छैन’ चिमरियाले भने‘ किसानलाई सरकारले अलैंची सुकाउने डायर उपलब्ध गराएर अलैंचीको गुणस्तर बढाउन आबश्यक छ ।’ अलैंची उत्पादनका लागि पछिल्ला बर्षहरूमा रोग किराको प्रकोप पनि अर्को ठूलो समस्या रहेको उनले बताए । अलैंची सम्बन्धी कृषि प्राविधिकहरूको पनि अभाव रहेको चिमरियाको भनाई छ । उनले अलैंची उत्पादन हुने सबै पालिकामा एक–एक जना प्राविधिक पठाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरे । यस्तै उन्नत जातको वीरुवाको अभाव र उचाई अनुसार जात छनौटमा पनि किसानहरूलाई समस्या भइरहेको उनले बताए ।
कफी व्यवसायी अभिनायक मल्लले नेपालमा कफि खेतिको राम्रो संभावना, प्रयाप्त बजार हुँदा हुँदै पनि बजार माग अनुसार उत्पादन हुन नसकेको बताए । कफी उत्पादनका लागि उन्नत जातको वीउको अभाव, रोग किराको प्रकोप मुख्य समस्या रहेको मल्लको भनाई छ । मल्लका अनुसार नेपालमा बार्षिक २ हजार २ सय मेट्रिकटन कफीको माग भए पनि हाल ५ सय ५५० मेट्रिकटन मात्रै आन्तरिक रुपमा उत्पादन भइरहेको छ । नेपालको कफीको माग अन्तराष्ट्रिय बजारमा पनि उच्च रहेकाले कफीबाट प्रयाप्त लाभ लिन गुणस्तरकायम राख्दै उत्पादन बढाउनु आबश्यक रहेको उनले बताए । नेपालबाट निर्यातको राम्रो संभावना रहेको छुर्पी उत्पादनमा पनि चीया कफी र अलैंचीमा जस्तै समस्या रहेको व्यवसायी राजेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार छुर्पी उत्पादनका लागि उन्नत नश्लको सीमेन आबश्यक रहेको छ । यस्तै छुर्पी उत्पादनका लागि उन्नत जातको गाई पनि आबश्यक रहेको उनले बताए । विगत २० वर्ष देखि नेपालबाट छुर्पी निर्यात गर्दै आएका व्यवसायी श्रेष्ठले पछिल्लो ११ महिनामा ४ अर्बको छुर्पी निर्यात गरेको जानकारी दिए ।
यता चियाका लागि भने निर्यातमा भारतकै मात्रै भर पर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन् । उनिहरूले बजारिकरणका कारण नेपालको चिया क्षेत्र नै संकटमा रहेको गुनासो गरे । सरकारले चिया क्षेत्रका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने उनिहरूको माग छ । यता कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामले संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश सरकारले चाहेर पनि बजार व्यवस्थापन, निर्यात प्रबद्र्धन र उत्पादन बृद्धिका लागि काम गर्न नसकेको बताए । उनले कोशी प्रदेश सरकारले गर्न सक्ने सहयोग निर्यातकर्तालाई गर्न तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा इनोभेट एक्स इम्प्याक्टका डाइरेक्टर टपेन्द्र चन्दले संस्थाले उद्यमीहरूलाई उद्यम गर्न, बजारीकरण र निर्यातमा सहजीकरण गरिरहेको जानकारी दिए ।
प्रकाशित: १ पुस २०८२ १९:३५ मंगलबार