अर्थ

खोला दूषित गर्ने चिनी मिल सञ्चालकलाई कारबाहीको माग

बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको नेतृत्वमा गएको टोलीले कलैया उपमहानगरपालिका–२४ मा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई कारबाहीको माग गर्दै शनिबार जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई बुझाइएको ज्ञापनपत्रमा रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालकहरूले उद्योगबाट निस्कने फोहोर एवं दूषित पानी सिधै बंगरी खोलामा छाडेर खोलालाई नै दूषित बनाएको भन्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ।

उद्योग प्रशासनका अनुसार विवादित उद्योगी वीरेन्द्र संघाई र राजकुमार अग्रवाल रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

चिनी मिल र स्पिरिट बनाउने उद्योगबाट निस्कने रसायनयुक्त दूषित पानी प्रशोधन नगरी बंगरी खोलामा मिसाइएकाले अहिले खोलामा बग्ने पानीको रङ, गन्ध र गुणस्तरमा परिवर्तन आएको छ। यसले जलचर, कृषि, पशुपालन तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

स्थानीयले उद्योगबाट हुने प्रदूषणको स्वतन्त्र तथा वैज्ञानिक छानबिन, नदी, माटो र हावाको गुणस्तर परीक्षण, वातावरणीय मापदण्ड पालना भए–नभएको अनुगमन गरी दोषीमाथि कारबाही, प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, क्षतिपूर्ति उपलब्ध गराउने तथा उद्योगको फोहोर पानी प्रशोधन प्रणालीको नियमित अनुगमन गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सोमबार प्राविधिक टोलीसहित रिलायन्स सुगर मिल्सको स्थलगत अनुगमन गरिने आश्वासन दिएको टोलीमा सहभागी जयप्रकाश दासले बताए।

ज्ञापनपत्र बुझेपछि उद्योगका प्रतिनिधि हरिओम प्रसादलाई बोलाएर दूषित पानी बंगरी खोलामा किन छाडिएको भनी सोध्दा उनले बर्खाका कारण पोखरीमा जम्मा गरिएको पानी खोलामा मिसिन पुगेको जवाफ दिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

ज्ञापनपत्रमा उद्योग सञ्चालकहरूलाई कारबाहीको माग गरिएको र अनुगमनका क्रममा दोषी देखिएमा कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए।

ज्ञापनपत्र बुझाउने टोलीमा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीसँगै समाजसेवी हिरामती आर्य (कुशवाहा), आत्माराम साह, रामचन्द्र प्यासी, जयप्रकाश दास, सुशील साहलगायतको सहभागिता रहेको थियो।

केही दिनअघि रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजभित्र सञ्चालित स्पिरिट उद्योगबाट निस्केको दूषित पानी सिधै बंगरी खोलामा छाडिएको थियो।

धान रोप्ने सिजनमा उद्योगले दूषित पानी खोलामा छाडेपछि खोला प्रदूषित बनेको छ।

प्रदूषित खोलाको पानीले सिँचाइ गर्न नपाउँदा धान रोपाइँसमेत गर्न नसकेको अवस्था सिर्जना भएको बन्जारीका किसान हृदेव साहले गुनासो गरे।

चिनी मिलभन्दा दक्षिणतर्फ बग्ने बंगरी खोलाको पानी प्रयोग गर्ने प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकाका स्थानीयले उद्योगबाट खोलामा मिसाइने रसायनयुक्त दूषित पानी नियन्त्रण गर्न तथा उद्योग सञ्चालकलाई कारबाही गर्न वर्षौंदेखि माग गर्दै आएका छन्।

चिनी मिलले छाड्ने रसायनयुक्त पानीको दुर्गन्धका कारण श्रीपुरदेखि बंगरी खोला आसपासका दक्षिणी गाउँका स्थानीय प्रत्यक्ष रूपमा प्रभावित हुँदै आएका छन्।

बंगरी खोलाको पानी प्रदूषित बनेपछि स्थानीयलाई खोलामा दाहसंस्कार गर्न र गाईभैंसी चराउनसमेत समस्या भएको बन्जरियाका दर्शन बैठाले बताए।

‘पहिला कलैया, भवानीपुर, गंगापुर र बन्जरियालगायतका गाउँ तथा टोलमा कुनै हिन्दू धर्मावलम्बीको मृत्यु हुँदा बन्जरियामा पर्ने बंगरी खोलामा दाहसंस्कार गरिन्थ्यो। दाहसंस्कारमा आउने मलामीहरू खोलाको सफा पानीमा नुहाएर घर फर्कन्थे,’ बैठाले भने, ‘अहिले पानी दूषित भएपछि खोलामा दाहसंस्कार गर्न आउनेको संख्या पनि घटेको छ।’

उनका अनुसार दाहसंस्कारमा आउने मलामीहरू खोला दूषित बनेपछि ननुहाई घर फर्किन बाध्य भएका छन्।

दाहसंस्कारका बेला दुर्गन्धित पानीका कारण किरिया बोक्ने व्यक्ति मात्र खोलामा नुहाउने र अन्य मलामी घर पुगेपछि नुहाउनुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। पहिले दाहसंस्कारपछि खोलामै नुहाउने प्रचलन रहे पनि अहिले चिनी मिलले पानी दूषित बनाएपछि घरमै गएर नुहाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

फोहोर पानीका कारण गाई, भैंसी र बाख्रा चराउनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। पहिले बंगरी खोलाको डिलमा पशु चराउँदै खोलाको पानी खुवाउने गरिए पनि अहिले चिनी मिलले छाडेको फोहोर पानीका कारण स्थानीय बासिन्दा पीडित बनेका छन्।

खोलाको छेउमा रहेका उत्तरझिटकैया, बन्जरिया, सुराही, मेथुरापुर, बेलहिया, ब्रह्मपुरी, मनगढवालगायत गाउँका स्थानीय बासिन्दा खोलाको दूषित पानीका कारण वर्षौंदेखि पीडित भए पनि कारबाही गर्ने निकाय मौन रहेको उनीहरूको गुनासो छ।

कुनै व्यक्ति वा उद्योगले सार्वजनिक स्थान तथा खोलानालामा जथाभावी फोहोर फालेमा कारबाही हुने कानुनी व्यवस्था भए पनि चिनी मिलमाथि कारबाही गर्न आलटाल गरिएको स्थानीयको आरोप छ।

प्रकाशित: २१ असार २०८३ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App