अर्थ

सडक ठप्प भएपछि डोल्पा, मुगु र मुस्ताङका च्याङ्ग्रा हिँडाएरै पोखरा झारिँदै

मुस्ताङबाट पोखरा झारिएका च्यांग्रा । फाइल तस्बिरः नागरिक <br>

बाढीपहिरोले कालिगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझै केहीदिन लाग्ने सडक विभागले बताइसकेको छ।

यातायात अवरुद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दसैंका लागि भनेर हिँडाएरै च्याङग्रा पोखरा झार्न थालिसकेका छन्। केही च्याङग्रा पोखरा आइसकेका छन् भने केही आउने क्रममै छन्।

हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका च्याङ्ग्रा बढी स्वादिलो हुने भन्दै पोखरा क्षेत्रमा दसैंको बेलामा निकै नै माग हुन्छ। पोखरा मात्र नभई तराई र काठमाडौंसम्म समेत यी च्याङ्ग्रा बिक्रीका लागि लैजाने गरिन्छ। बुटवल, चितवनबाट समेत हिमाली च्याङग्रा किन्नका लागि उपभोक्ता पोखरासम्म आउँछन्।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार कालिगण्डकी करिडोरको बेनी-जोमसोम सडक अवरुद्ध भएपनि च्याङग्रा भने मुस्ताङबाट पोखराका लागि हिँडाइएको छ।

‘कालिगण्डकी करिडोर सडक नहुँदा पनि जोमसोमबाटै हिँडाएरै च्याङग्रा पोखरा झारिन्थ्यो। पछिल्लो केही वर्षदेखि गाडी चल्न थालेपछि गाडीमा ल्याउने गरिएको थियो। यो पटक सडक अवरुद्ध भएपनि हिँडाएरै पोखरा झार्न थालिएको छ,’ अर्यालले भने, ‘च्याङग्रा हिँडाएरै लैजाँदा खासै समस्या होइन, बरु बाटोमा ठाउँ ठाउँमा पुल नहुँदा केही समस्या परेको होला, तर व्यवसायीले जे जसरी भएपनि पोखरा पुर्‍याइसकेका छन्।

दसैंका लागि भनेर मुस्ताङ मात्र नभई कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट समेत च्याङग्रा पोखरा झारिन्छ। ती च्याङग्रा मुस्ताङ हुँदै पोखरा ल्याइन्छ।

कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट गाडीमा ल्याउँदा सुर्खेत हुँदै ल्याउनुपर्ने र त्यो निकै नै खर्चिलो तथा च्याङ्ग्राका लागि खानेकुरा पनि अभाव हुने भएपछि व्यवसायीले हिँडाएरै मुस्ताङ ल्याएर पोखरा झार्ने गरेको अर्यालले बताए।

अर्यालका अनुसार यो पटक अहिलेसम्म करिब ९ हजार च्याङग्रा पोखराका लागि हिँडाइएको छ। त्यस्तै एक हजार जति भेडा पनि पोखराका लागि हिँडाइएको छ।

ती मध्ये डोल्पाबाट यो पटक अहिलेसम्म २४ सय, मुगुबाट ३ सय २०, जुम्लाबाट ३ सय र मुस्ताङबाट ५५ सय जति च्याङग्रा पोखराका लागि हिँडाइएको छ।

‘कृषि तथा पशु विकास कार्यालयले स्वास्थ्य परीक्षण गरेर अहिलेसम्म ७३ सय च्याङग्रा र ९ सयजति भेडा पोखराका लागि पठाइएको छ। तर, ती बाहेक केही अरुतिरबाट पनि गएकाले अहिलेसम्म ९ हजार हाराहारीमा च्याङग्रा पोखराका लागि हिँडेको उनको अनुमान रहेको छ।

‘सकेसम्म स्वास्थ्य परीक्षण गरेर पठाउने हो। तर, कहिँकतै फरक बाटोबाट धेरथोर जान सक्छन्। कतिपय परीक्षणमै पनि छुट्न सक्छन्। त्यसैले यो वर्ष अहिलेसम्म ९ हजार हाराहारीमा च्याङग्रा पठाइएको अनुमान हो,’ उनले भने।

अर्यालका अनुसार कर्णाली प्रदेशका डोल्पा, मुगु र जुम्लाबाट ल्याइएका च्याङग्रा हिँडाएरै मुस्ताङ ल्याइएको थियो। मुगुबाट २३ दिनमा ती च्याङग्रा मुस्ताङको जोमसोम आइपुगेका थिए।

त्यस्तै, डोल्पाबाट १० दिनमा च्याङग्रा जोमसोम झरिसकेका थिए। जुम्लाबाट पनि २५ दिनमा च्याङग्रा आइपुगेका थिए। यो पटक चिनियाँ च्याङग्रा निकै नै कम संख्यामा आएको उनले बताए। ‘भन्सार तिरेर कोरलाबाट ६ सय च्याङग्रा मात्र पार गरेका छन्, त्यो संख्या निकै नै कम हो,’ उनले भने।

‘दिनमा ३ घण्टा हिँडाउने र बाँकी ३ घण्टा चराउने गरेर च्याङग्रा ल्याउने हो। बाटोमा चराउँदै ल्याउँदा खर्च पनि कम लाग्छ भने हिमाली भेगमै हुर्केका च्याङग्रा भएकोले सहज पनि हुन्छ,’ उनले भने, ‘हिमाली भेगमा हुर्केकाले हिँडाउन अप्ठेरो पनि हुँदैन। हिमाली क्षेत्रकै जडीबुटी खाँदै बिस्तारै आउँदा समय बढी लागेको हो।’

यो पटक बढी हिउँ परेकोले रातको समयमा हिमाली क्षेत्र पार गराएको उनले बताए। ‘दिउँसोको समयमा हिमाली क्षेत्रमा हिँड्दा हिउँ टल्किने भएकोले रातीको समयमा हिँडाएर ल्याउने गरिएको छ। चरन क्षेत्र हुँदै ल्याउँदा सहज पनि हुन्छ,’ उनले भने।

उनका अनुसार गतवर्ष जोमसोमबाट सबैगरि १५ हजार ५ सय च्याङग्रा स्वास्थ्य परीक्षण गरेर मात्र पोखराका लागि हिँडाइएको थियो। योवर्ष १२ हजार हाराहारीमा मात्र च्याङग्रा पोखरा क्षेत्रमा झारिने उनको अनुमान छ।

‘भोटेकोशीको बाढीले यो पटक काठमाडौंमा च्याङग्रा नजाने भएपछि पोखरा क्षेत्रकै लागि भनेर केही कम संख्यामा झर्नेछन्,’ उनले भने।

सरकारले दसैंमा मुस्ताङका च्याङग्रा काठमाडौं लगेर बेच्ने गरेको भएपनि यो पटक नबेच्ने भएपछि यो पटक जिल्ला दररेट अनुसार मूल्य निर्धारण नगरिएको उनले सुनाए।

मुस्ताङको वारागुँ मुक्ति क्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्याङ्ग्रा पाल्छन्। तिनै च्याङ्ग्रा किसानसँग किनेर अरु व्यवसायीले पोखरामा बेच्नका लागि झार्छन्। पोखरा झरेका च्याङ्ग्राको दसैंको बेला मेला नै लाग्ने गर्छ।  

हिमाली क्षेत्रको जडीबुटी खाएर हुर्किएका च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्याग्रांको मासु बढी स्वादिलो हुने उपभोक्ताले बढी रुचाउने गर्छन्।

प्रकाशित: २० आश्विन २०८३ २१:५९ मंगलबार