अर्थ

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति, १६ सय नागरिक पिउने पानीबाट वञ्चित

भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजना पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण ती आयोजनाहरूमा कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भौतिक संरचना बगाउँदा रसुवाका १ हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सेवा उपभोग गर्नबाट प्रत्यक्ष वञ्चित भएका छन्।

विभागका महानिर्देशक कमलराज श्रेष्ठले बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो विनाश निम्त्याएको जानकारी दिए। अधिकांश आयोजना पूर्ण रूपमा ध्वस्त भएका छन् भने कतिपय आयोजनाका मुख्य प्रसारण लाइन, शाखा पाइपलाइन तथा खानेपानीका धाराहरू बाढीले बगाएको छ।

महानिर्देशक श्रेष्ठका अनुसार गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर-१, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्ण रूपमा क्षतिग्रस्त हुँदा त्यहाँका ९०० भन्दा बढी नागरिक खानेपानीबाट वञ्चित भएका छन्।

त्यसैगरी, उत्तरगया गाउँपालिकाका वडा नम्बर-३ र ४ मा सञ्चालित खानेपानी आयोजनाहरू पनि बाढीले पूर्ण रूपमा नष्ट पारेको छ। बाढीका कारण कैदलटार, सिम्ले मुहान र बाँसथलसिमल लगायतका खानेपानी आयोजनाका मुख्य तथा शाखा पाइपलाइन र सार्वजनिक धाराहरूमा व्यापक क्षति पुगेको विभागले जनाएको छ।

खानेपानीको चरम अभाव झेलिरहेका प्रभावित नागरिकलाई तत्काल सेवा पुनः सुचारु गर्न तथा क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाइएको महानिर्देशक श्रेष्ठले बताए।

प्रकाशित: २९ भाद्र २०८३ १९:३३ सोमबार