बर्सातमा विद्युत् उत्पादन वृद्धि भएपछि अहिले दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ। जलविद्युतमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादन वृद्धि हुँदै गएपछि निर्यात बढेको हो।
अहिले भारत र बाङ्लादेशमा दैनिक ११ सय ३० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताए। ‘अहिले हालसम्मकै सबैभन्दा बढी विद्युत् निर्यात गरेर इतिहास रच्न सफल भएका छौं,’ मन्त्री खड्काले भने।
अहिले निर्यात भएकै दरमा वार्षिक निर्यात कायम राख्न सके नेपालले करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने मन्त्री खड्काले बताए। अहिलेकै दरमा विद्युत् निर्यात भए नौ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् बिक्री हुनेछ।
सरकारले ऊर्जा मार्गचित्र– २०८१ तयार गरेर सन् २०३५ सम्म नेपालमा कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य छ। भारतलाई १० हजार मेगावाट र बाङ्लादेशलाई पाँच हजार मेगावाट निर्यात गर्ने मार्गचित्रमा उल्लेख छ। ‘विद्युत् निर्यात नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्त्वपूर्ण कदम हो,’ मन्त्री खड्काले भने, ‘आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने लक्ष्य छ।’
भारत र बाङ्लादेशसँग नौ सय ४० मेगावाट विद्युत् निर्यातका लागि सम्झौता भएकोमा गत साउन अन्तिम साता नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारत सरकारसँग सहमति भएको थियो। नेपालले भारत र बाङ्लादेशसँग कुल १,१४०.७ मेगावाट विद्युत् निर्यात गर्न सक्ने गरी सम्झौता गरेको छ। बाङ्लादेशसँग दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति छ। बाँकी सबै भारततर्फ निर्यात गर्ने सहमति छ।
नेपालले आव २०८१/८२मा करिब साढे १७ अर्ब रुपैयाँको बिजुली निर्यात गरेको थियो। गत आवमा विद्युत् व्यापारमा नेपाललाई करिब साढे चार अर्ब फाइदा भएको थियो। स्वदेशमा उत्पादन वृद्धि र निर्यात बढेपछि विद्युत् निर्यात गरेर नेपालले व्यापार घाटा बढाउन सक्छ। नेपालले भारतबाट खरिद गरेको विद्युतभन्दा नेपालबाट निर्यात हुने बिजुली चार अर्ब ५४ करोड रुपैयाँ बढी रहेको छ। अधिकांश वस्तुमा नेपालले व्यापार घाटा व्यहोरिरहेको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा विद्युत्मा नेपालले खरिदको तुलनामा बिक्री धेरै गरेकाले नफा देखिएको हो।
२०८१/८२ मा नेपालबाट १७ अर्ब ४६ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा बढी हो। आव २०८१/८२ मा नेपालबाट करिब १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो। विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको छ।
सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालको जलविद्युत् क्षमता, उत्पादन क्षमता व्यवस्थापन र छिमेकी मुलुकहरूसँगको सहकार्यको प्रतिफलले निर्यात बढाउन सफल भएको हो।
विद्युत् निर्यात भारतमा सीमित नभई बाङ्लादेश पनि भएको छ। बाङ्लादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। जुन आगामी दिनमा अझै विस्तार हुने सम्भावना छ। बाङ्लादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री हुँदै आएको छ। जसले विदेशी मुद्रा आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ।
नेपालले बाङ्लादेशमा पहिलो पटक व्यावसायिक रूपमा डलरमा विद्युत् निर्यात थालेको हो। भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड मार्फत बाङ्लादेशसम्म बिजुली पुर्याउने रणनीति सफल भएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइन तथा भारत–बाङ्लादेश सीमामा रहेको बेहरामपुर–भेडामारा लाइनमार्फत नेपाली विद्युत् बाङ्लादेशसम्म पुग्न थालेको छ।
वर्षा याममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात गर्न थालिएको प्रणालीले ठूलो लाभ दिइरहेको छ। साथसाथै भारतमा एनभिभिएनमार्फत मध्यकालीन सम्झौताका आधारमासमेत नियमित आपूर्ति भइरहेको छ।
प्रकाशित: १२ भाद्र २०८२ ०७:३८ बिहीबार