अर्थ

दैलेख पेट्रोलियम अन्वेषण: व्यावसायिक उत्पादनको टुंगो गर्न थप अध्ययन

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सकिए पनि व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने टुंगो लाग्न बाँकी छ। पेट्रोलियम पदार्थको भण्डार व्यावसायिक रूपमा उत्खनन गर्न पर्याप्त छ कि छैन भन्ने अन्तिम (थप) प्राविधिक परीक्षणका लागि खानी तथा भूगर्भ विभागले चिनियाँ टोलीलाई पत्राचार गरेको छ।

यसअघि सम्पन्न भएको अन्वेषणका क्रममा प्राकृतिक ग्याससँगै पेट्रोलियम पदार्थसमेत फेला परेको बताइएको छ। अब यसको व्यावसायिक उत्पादन सम्भव छ वा छैन भन्ने निर्क्याेल गर्न थप वेल टेस्टिङ (कुवाको उत्पादन क्षमता परीक्षण) लगायतका प्राविधिक प्रक्रिया अघि बढाउनुपर्नेछ। जसका कारण भूगर्भ विभागले चिनियाँ टोलीसँग प्रक्रिया अघि बढाएको छ।

अन्वेषणको प्रारम्भिक काम सम्पन्न भइसकेको अवस्थामा अब थप परीक्षण गरेर पेट्रोलियम पदार्थको भण्डार र त्यसको व्यावसायिक सम्भावना यकिन गरिनेछ। त्यसका लागि चिनियाँ टोलीलाई अर्कोे चरणको काम गर्न आग्रह गर्दै पत्र पठाइएको हो।

उक्त पत्रको जवाफ भने अझै प्राप्त नभएको परियोजना कार्यालयले जनाएको छ। खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख गणेश त्रिपाठीका अनुसार अन्वेषणको काम सम्पन्न भए पनि त्यसकै आधारमा व्यावसायिक उत्पादन गर्न सकिने निष्कर्षमा पुग्न सकिँदैन। त्यसका लागि थप प्राविधिक परीक्षण आवश्यक छ।

‘अन्वेषणपछि चिनियाँ टोलीले पुनः प्राविधिक काम गरेर पेट्रोलियम पदार्थको भण्डार व्यावसायिक रूपमा उत्खनन गर्न सकिने अवस्थामा छ वा छैन भन्ने प्रमाणित गर्नेछ।’  त्रिपाठीले भने, ‘त्यसपछि मात्रै उत्पादनका विषयमा थप प्रक्रिया अघि बढ्नेछ।’   

 उनका अनुसार आगामी चरणमा गरिने परीक्षणले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार कति छ, त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सम्भव छ वा छैन भन्ने विषयमा थप स्पष्ट पार्नेछ। परीक्षणबाट व्यावसायिक उत्पादन सम्भव देखिए मात्रै उत्पादनको प्रक्रिया अघि बढाउन सकिनेछ। अन्वेषणको प्रतिवेदन सार्वजनिक भइसके पनि त्यसले मात्र व्यावसायिक उत्पादनको सुनिश्चितता नगर्ने परियोजना प्रमुख त्रिपाठीको भनाइ छ। थप परीक्षणबाट प्राप्त हुने प्राविधिक निष्कर्ष नै उत्पादनको निर्णयका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।

दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना पहिचान गर्न थालिएको अन्वेषणले स्थानीयस्तरमा आशा जगाए पनि व्यावसायिक उत्पादनको चरणमा पुग्न थप प्रक्रिया पूरा गर्न‘पर्ने देखिएको छ। चिनियाँ टोलीको जवाफ र त्यसपछि हुने प्राविधिक परीक्षणले दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्खनन सम्भव छ वा छैन भन्ने विषयलाई थप स्पष्ट पार्नेछ।

अहिलेका लागि चिनियाँ टोलीको आगमन र थप प्राविधिक परीक्षणको प्रतीक्षा भइरहेको छ। परीक्षणबाट सकारात्मक नतिजा प्राप्त भएमा मात्रै पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ।

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ २०७६ साल असोजदेखि सुरु गरिएको थियो। दैलेखको जलजले क्षेत्रमा गरिएको पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा जमिनमुनि ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको पुष्टि भएको विवरण सार्वजनिक भएको छ। ४ हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य राखिएकोमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न गरी चिनियाँ टोलीले अन्वेषण सकेका थिए।

दैलेखमा प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन सम्भव भए नेपालले पेट्रोलियम पदार्थको आयातमा खर्च गर्दै आएको ठूलो रकम बचत गर्न सक्नेछ। साथै, रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ। उत्पादन सुरु हुने समय र आर्थिक सम्भाव्यता भने थप प्राविधिक परीक्षणपछि मात्रै स्पष्ट हुनेछ।

नेपाली र चीनको प्राविधिक टोलीले यसअघि पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम सकेर चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरेर अन्वेषणको मुख्य काम सकेका थिए। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण गरिएको थियो।

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्बे कम्पनीसँग दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खनन्को काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरेर अन्वेषणको काम गरेको थियो।

अन्वेषणपछि उत्खनन् प्रक्रिया अघि बढे पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्रसमेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङ मार्ग बनाउने समेत चाइनिज टोलीले योजना बनाएका छन्।  

प्रकाशित: १६ कार्तिक २०८३ ११:२८ सोमबार