अर्थ

बढ्न थाल्यो विराटनगर भन्सारको राजस्व असुली

विराटनगर भन्सार कार्यालयको राजस्व पछिल्ला महिनाहरूमा सुधार हुँदै गएको छ।

माघ महिनामा लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको विराटनगर भन्सारले फागुनमा पनि लक्ष नजिक राजस्व सङ्कलन गरेको छ।

विराटनगर भन्सार कार्यालयले फागुन महिनामा ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जुन लक्षको ९५.६३ प्रतिशत हो।

कार्यालयलाई फागुन महिनामा ३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएको थियो। यस्तै, माघ महिनामा भने ३ अर्ब २३ करोड ६१ लख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब २९ करोड ८६ लाख रुपैयाँ सङ्कलन गरेको थियो।

विराटनगर नाकाबाट मुख्यतः औद्योगिक कच्चा पदार्थ आयात हुने भएकाले राजस्व बढ्नु अर्थतन्त्रमा सुधार आउन थालेको संकेत भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए।

उनले भने ‘विराटनगर नाकाबाट धेरैजसो औद्योगिक कच्चा पदार्थ आयात हुने भएकाले राजस्व बढ्नु  नेपालको अर्थतन्त्र सुधार हुँदै गएको संकेत हो।’

माघ महिनामा लक्षभन्दा बढी राजस्व सङ्कलन भएको र फागुन महिनामा पनि लक्षअनुसार नै राजस्व सङ्कलन हुने भए पनि निर्वाचनका कारण केही दिन नाका बन्द भएकाले लक्षभन्दा केही कम राजस्व सङ्कलन भएको साहले बताए।

चालु आर्थिक वर्षको ८ महिनामा सबै भन्दा कम कार्तिक महिनामा लक्षको ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो। कार्तिक महिनामा ३ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २२ अर्ब २६ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

प्रकाशित: १ चैत्र २०८२ १९:३० आइतबार