अर्थ

बालीमा करिब तीन अर्बको क्षति

गत असोजमा आएको बेमौसमी वर्षाले दुई अर्ब ९१ करोड १६ लाख १० हजार रुपैयाँ बराबरको अन्नबालीमा क्षति पुर्‍याएको छ । असोज १७ गतेदेखि १९ गतेसम्म आएको बेमौसमी वर्षाले धान, तरकारी, केरा, आलु, कोदो, दलहन र तेलहनमा क्षति पुगेको हो ।  

वर्षाले सात प्रदेशमध्ये पाँच प्रदेशमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीका अनुसार २० हजार एक हेक्टर क्षेत्रफलमा धान खेती गरिएको, ७५ हजार ६ सय ७४ मेट्रिक टन धान उत्पादनमा ह्रास आएको र दुई अर्ब ६६ करोड ४१ लाख २४ हजार रुपैयाँको क्षति भएको छ ।  

त्यस्तै पाँच सय ८६ हेक्टरमा तरकारी खेती गरिएकोमा ६ हजार आठ सय ३६ मेट्रिक टन उत्पादन ह्रास हुँदा २२ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबको क्षति भएको छ ।  

वर्षाले आलु, केरा, कोदो, दलहन र तेलहन ६ सय एक हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा दुई हजार दुई सय ९१ मेट्रिक टन उत्पादनमा क्षति हुँदा दुई करोड ५१ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी जोशीले बताए ।  

बेमौसमी वर्षाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा क्षति पुर्‍याएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि अन्नबालीमा क्षति नभएको मन्त्रालयले जनाएको छ ।  

वर्षाले धान बालीमा पुर्‍याएको क्षतिमध्ये कोशी प्रदेशमा १२ हजार चार सय ३२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको, ५६ हजार दुई सय ६७ मेट्रिक टन उत्पादनमा ह्रास आएको र २० लाख १४ हजार तीन सय ६७ रुपैयाँ बराबरको क्षति भएको छ ।  

यस्तै मधेस प्रदेशमा चार सय १६ हेक्टर क्षेत्रफल धान खेती गरिएकोमा एक हजार दुई सय ९७ मेट्रिक टन उत्पादन ह्रास आएकोमा ४१ हजार तीन सय ३८ रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी बागमती प्रदेशमा ६ हजार ६६ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ३० मेट्रिक टन उत्पादनमा ह्रास भएको र चार लाख ५३ हजार पाँच सय ३४ रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  

यस्तै गण्डकी प्रदेशमा एक सय ९१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा पाँच सय २१ मेट्रिक टन उत्पादन ह्रास भएको हुँदा १८ हजार ६१ रुपैयाँ बराबरको क्षति भएको छ । लुम्बिनी प्रदेशमा आठ सय ९६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको, तीन हजर आठ सय ५८ मेट्रिक टन उत्पादन ह्रास आएको र एक लाख ३६ हजार आठ सय २३ रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।  

यसैगरी वर्षाले तरकारी बालीमा पुर्‍याएको क्षतिमध्ये कोशी प्रदेशमा दुई सय हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको, दुई हजार मेट्रिक टन तरकारी उत्पादन ह्रास भएको हुँदा ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । मधेस प्रदेशमा तीन सय ८६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएकोमा चार हजार आठ सय ३६ मेट्रिक टन तरकारी उत्पादनमा ह्रास भएकाले एक लाख ८२ हजार तीन सय ८५ रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  

यस्तै वर्षाले आलु, केरा, कोदो, दलहन र तेलहनलगायतका बालीमा पुर्‍याएको क्षतिमध्ये मधेस प्रदेशमा १० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । यसबाट एक सय ३२ मेट्रिक टन उत्पादन ह्रास भएको हुँदा एक हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । यस्तै बागमती प्रदेशमा पाँच सय ९१ हेक्टर क्षेत्रफलमा लगाइएको बाली दुई हजार एक सय ५९ मेट्रिक टन उत्पादनमा ह्रास आउँदा २४ हजार एक सय एक रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयलका सूचना अधिकारी जोशीका अनुसार क्षतिको विवरण मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पेश गरेको छ ।  

सूचनाअधिकारी जोशीले भने, ‘प्राधिकरणको बैठकमा राहत वितरण एकद्वार प्रणालीबाटै गर्ने निर्णय भएसँगै हामीले क्षतिको विवरण संकलन गरेर प्राधिकरणमा पेश गर्‍यौं । मन्त्रालयमा राहत वितरणका लागि बजेट पनि छैन । बजेट नहुँदा अहिले कुनै पनि कार्यक्रम अगाडि बढाउन सकिएको छैन ।’

सरकारले राहत वितरणका लागि अर्थ मन्त्रालयलमार्फत बजेट विनियोजन गरेमा मन्त्रालय राहत वितरणका लागि अगाडि बढ्न सक्ने उनले बताए ।  

प्राधिकरणले राहत वितरणका लागि बजेट आवश्यकतानुसार विभिन्न मन्त्रालयलसँग समन्वय गरेर अर्थ मन्त्रालयलमा बजेट माग गर्ने र राहत वितरणको कार्यलाई अगाडि बढाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित: १५ मंसिर २०८२ २१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App