अर्थ

भोलिदेखि आधा ग्यासमात्रै बेच्ने निगमको निर्णय

नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने (एलपी) ग्यास आधा सिलिन्डर मात्रै उपलब्ध गराउने भएको छ। 

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शुक्रबारदेखि आधा सिलिन्डर मात्रै ग्यास बेच्ने निर्णय गरेको हो। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यास आपूर्तिमा समस्या नभए पनि उपभोक्ताले आवश्यकता भन्दा बढी परिणाममा ग्यास सिलिन्डर भण्डार गर्न थालेका कारण यसो गर्नुपरेको हो। 

'एलपी ग्यास अभाव नै हुने गरी आपूर्ति घटेको छैन तर मध्यपूर्वमा उत्पन्न संकटका कारण उपभोक्तताले यहाँ पनि ग्यास अभाव हुने हो कि भनेर भण्डारण गर्न चाहेको देखिन्छ,’ उनले भने। आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय शुक्रबारदेखि नै लागु हुने र अर्काे सूचना जारी नभएसम्म यही प्रक्रिया चलिरहने भट्टले बताए ।  

भट्टले इन्डियन आयल निगम (आइओसी)ले आपूर्ति घटाइएको भनेर औपचारिक रुपमा जानकारी नगराएको बताए। निगमले आइओसीमार्फत एलपी ग्यास र पोट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ। ‘कुनै दिन थोरै बुलेट ग्यास आउँदा अर्काे दिन थप बुलेट आउने गरेका छन्, ’ भट्टले भने । उनका अनुसार नेपालको दैनिक माग धान्न हरेक दिन ९५ बुलेट ग्यास आउनुपर्छ र नेपाली बजारमा प्रतिदिन १ लाख १० हजार ग्यास सिलिन्डरको माग हुने गरेको छ। यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला पनि निगमले उपभोक्तलाई आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।  

यसैबिच भारतका केही विश्वविद्यालयले इन्धनको सीमित उपलब्धतालाई ध्यानमा राखेर छात्रावासका भान्छाघरमा परिकार घटाइएको सूचना जारी गरेका छन्। विश्वविद्यालयहरूले विद्यार्थीलाई पठाएको सूचनामा छात्रावासका भान्छामा भुटेतारेका खानाका परिकार निषेध गरिएको जानकारी गराएका छन्। तर खानाको पोषणमा कुनै सम्झौता नहुने ती विश्वविद्यालयले जनाएका छन्। 

प्रकाशित: २८ फाल्गुन २०८२ १८:५२ बिहीबार