भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पछिल्लो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।
मन्त्री लम्सालका अनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा ९२ वटा साना तथा ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको हो।
विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकलाई आगामी ३० महिनाभित्र स्वच्छ र सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका आयोजनाको ठेक्का आह्वान गरिएको उनले बताएका छन्।
गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त नभएकाले खानेपानी आयोजनाको कुनै पनि ठेक्का लाग्न नसकेको मन्त्री लम्सालले उल्लेख गरेका छन्।
खानेपानी सेवा प्राथमिकता प्राप्त क्षेत्र भएकाले यस वर्ष ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनाको खरिद प्रक्रिया अघि बढाउने तयारी गरिएको उनको भनाइ छ।
सरकारले २०८७ सालसम्म सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १२:४४ बिहीबार