अर्थ

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले लियो गति, ५० प्रतिशत काम सकियो

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम ५० प्रतिशत सकिएको छ। रंगशाला निर्माणको जिम्मा लिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले २२ महिनाको अवधिमा ५० प्रतिशत मात्र काम सकिएको जानकारी दिएको हो।

२०८१ असारमा भरतपुर महानगरपालिका र उक्त कम्पनीबीच ३० महिनाभित्र काम सक्नेगरी सम्झौता भएको थियो। सम्झौताको मिति सकिन ८ महिनाजति बाँकी हुँदा आधा काम अझै बाँकी रहेको छ। कम्पनीका प्रोजेक्ट म्यानेजर धर्मेन्द्र गुप्ताले रंगशालामा रहेका प्यारापिटका चार वटा ब्लकमध्ये तीन वटा ब्लकको निर्माण सम्पन्न भइसकेको जानकारी दिए।

‘अन्तिम प्यारापिटको एउटा कोलममा फर्मा जडान गरिसकिएको छ । दुई वटा भीआईपी टावरको दुई तलासम्मको ढलान सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अहिले पहिलो टावरको भित्री भागमा इँट्टा जोड्ने र प्लास्टर गर्ने काम भइरहेको छ।’

दोस्रो टावरका पेटी ठेकेदारको मृत्यु भएपछि दोस्रो तलाको ढलानपछि थप काम अघि बढ्न सकेको छैन। त्यसमा भित्री भागको इँट्टा जोड्ने र प्लास्टर गर्ने काम अझै सुरु भएको छैन।

हाल मैदानमा ड्रेनेज पाइप बिछ्याउने काम भइरहेको छ। यसले वर्षा हुँदा पानी छिट्टै बाहिर निकालेर खेल सञ्चालन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। साथै, ५५० केभीएको ठूलो जेनेरेटर जडान भइसकेको छ भने विद्युत ट्रान्सफर लाइन पनि निर्माण क्षेत्रमा ल्याइएको छ। रंगशालाको चारैतिर भूमिगत विद्युतका लागि तार बिछ्याउने काम भइरहेको प्रोजेक्ट म्यानेजर गुप्ताले जानकारी दिए।

बाँकी अवधिमा मैदानसहित ५ वटा पिच, आधुनिक ड्रेनेज प्रणालीसहितको मैदान निर्माण, दुई वटा ३–३ तलाका टावर, हाल रहेको ५ हजार क्षमताको प्यारापिटमा थप १० हजार क्षमता विस्तारलगायतका काम सम्पन्न गर्नुपर्नेछ।

रंगशाला निर्माण ७८ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न गर्ने सम्झौता भएको थियो। तर कामदार अभाव र मूल्यवृद्धिका कारण काममा ढिलाइ भइरहेको निर्माण पक्षको भनाइ छ।

बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने निर्णय गरेको थियो। आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेका थिए। चालु आर्थिक वर्षका लागि महानगरले ४ करोड रुपैयाँ विनियोजन गरेको छ।

संघीय मन्त्रिपरिषद्को २०८० कात्तिक २३ गतेको बैठकले यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समेट्ने निर्णय गरेको थियो। त्यसपछि तीनै तहका सरकारले मिलेर बाँकी काम सम्पन्न गर्ने योजना बनाइएको हो।

२०७५ माघ १६ गते राष्ट्रिय सभा गृहमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको घोषणा गरिएको थियो। भरतपुर महानगरपालिका–१५ स्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्व र कृषि तथा वन विज्ञान विश्वविद्यालयको भोगचलनमा रहेको जग्गामा २०७५ असार १९ गते त्रिपक्षीय सम्झौतापछि निर्माण कार्य सुरु भएको थियो।

धुर्मुस–सुन्तली फाउन्डेसनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि आर्थिक अभावका कारण काम रोकिएको थियो । २०७८ पुस २ गते फाउन्डेसनले ३९ प्रतिशत काम सकेपछि परियोजना महानगरपालिकालाई हस्तान्तरण गरेको थियो।

महानगरपालिकाले स्वामित्व लिएपछि २०८१ साउनदेखि पुनः निर्माण कार्य अघि बढाइएको हो। अहिले मैदान, ५ वटा पिच, १५ हजार दर्शक अट्ने प्यारापिट, ड्रेनेज प्रणाली र दुई वटा ३/३ तल्लाका भीआईपी टावर निर्माण भइरहेको छ। यसअघि ५ हजार क्षमताको प्यारापिट निर्माण भइसकेको थियो।

रंगशाला निर्माणका लागि चितवनमा महायज्ञ समेत आयोजना गरिएको थियो, जहाँ ६९ करोड रुपैयाँ प्रतिबद्धता आएको भए पनि ९ करोड ४१ लाख रुपैयाँ मात्र संकलन भएको थियो।

प्रकाशित: ९ वैशाख २०८३ १८:२० बुधबार