अर्थ

बोलपत्र रद्द भएपछि भेरी लिफ्टिङको निर्माण कार्य ढिलो हुने

वीरेन्द्रनगर नगरपालिका आयोजना कार्यान्वयन समितिले भेरी पम्पिङ उपआयोजना दोस्रो चरणको दोस्रो प्याकेजअन्तर्गतको हाल सञ्चालनमा रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ। जसले गर्दा दुई वर्ष निर्माण कार्य ढिलो हुने जनाइएको छ।

नगरपालिका आयोजना कार्यान्वयन समितिको ३४औं बैठकले विश्व बैंकबाट प्राप्त सुझाव, विद्यमान खरिद प्रक्रियामा देखिएका समस्या तथा प्रतिस्पर्धात्मकता र पारदर्शितासम्बन्धी विषयलाई ध्यानमा राख्दै हालको बोलपत्र प्रक्रिया रद्द गर्ने निर्णय गरेको जनाइएको छ। कार्यान्वयन समितिको बैठक २०८३ साउन ३० गते बसेको थियो।

भेरी पम्पिङ उपआयोजना नेपाल सरकार र विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको खानेपानी सम्बन्धी महत्त्वपूर्ण आयोजना हो। दोस्रो प्याकेजका लागि बोलपत्र आह्वान गर्दा पटक–पटक बोलपत्र कागजात संशोधन गर्नुपरेको थियो। अन्तिम रूपमा सात वटा बोलपत्र दर्ता भएका थिए। ती बोलपत्रको प्राविधिक मूल्यांकन गरी विश्व बैंकबाट समेत ‘आपत्ति नभएको’ भनेर स्वीकृति प्राप्त भइसकेको अवस्थामा खरिद प्रक्रिया निरन्तरता दिने वा रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने विषयमा निर्णय लिनुपर्ने अवस्था आएको थियो। केही बोलपत्रदाताले नेपाल सरकारको विद्युतीय खरिद प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण प्रतिस्पर्धा पारदर्शी हुन नसकेको भन्दै विश्व बैंकमा निवेदन दिएका थिए। त्यसपछि विश्व बैंकले प्रतिस्पर्धात्मकता, पारदर्शिता र लागत प्रभावकारितालाई ध्यानमा राख्दै पुनः प्राविधिक मूल्यांकन गर्ने वा पुनः बोलपत्र आह्वान गर्ने विकल्प अघि सारेको थियो।

यही विषयमा नगरपालिका आयोजना कार्यान्वयन समितिको ३४ औं बैठकमा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै विस्तृत छलफलपछि समितिले हालको खरिद प्रक्रिया रद्द गरी संशोधित बोलपत्र कागजातका आधारमा पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो।

समितिको यो निर्णयसँगै सुर्खेत उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने अपेक्षा गरिएको भेरी पम्पिङ आयोजना अझै ढिलो हुने जोखिम बढेको छ। यसअघि पहिलो पटक बोलपत्र आह्वान भएको मितिदेखि प्राविधिक मूल्यांकन प्रतिवेदन स्वीकृत हुने चरणसम्म पुग्न मात्रै करिब एक वर्ष ६ महिना १८ दिन लागेको थियो। अब पुनः बोलपत्र आह्वान, मूल्यांकन, विश्व बैंकको स्वीकृति तथा सम्झौतालगायतका प्रक्रिया पूरा गर्न थप करिब दुई वर्षसम्म लाग्न सक्ने देखिएको छ।

भेरी पम्पिङ आयोजनाको दोस्रो प्याकेजमा पुराना संरचनाको मर्मत तथा सुधारसँगै सुर्खेत उपत्यकाभित्रको पुरानो खानेपानी वितरण प्रणाली विस्थापित गरी करिब आठ सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्ने लक्ष्य राखिएको छ। यसबाट उपत्यकामा नियमित र सहज खानेपानी आपूर्ति गर्ने योजना रहेको छ।

आयोजनाको पहिलो चरणअन्तर्गत पानी संकलन केन्द्र, पानी प्रशोधन प्रणाली र मुख्य प्रसारण लाइन निर्माणको काम अघि बढिरहेको छ। दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द भएपछि उपत्यकाको दीर्घकालीन खानेपानी समस्या छिटो समाधान हुने आश नभएको सरोकारवालाले बताए।

नगरपालिका आयोजना कार्यान्वयन समितिको निर्णयले खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र कानुनसम्मत बनाउने अवसर दिएको भए पनि आयोजनाको कार्यावयनमा थप ढिलाइ हुने चुनौती थपिएको छ।

यस निर्णयप्रति सुर्खेत उपत्यका खानेपानी संस्थाले भने असहमति जनाएको छ। संस्थाको साउन ३१ गते बसेको बैठकले विश्व बैंकले औंल्याएका प्राविधिक कमजोरी सुधार गर्दै हालकै खरिद प्रक्रियालाई अघि बढाउनुपर्ने निर्णय गरेको थियो। संस्थाले विश्व बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भइसकेको र प्राविधिक रूपमा योग्य बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने प्रक्रियामा लैजानुपर्ने अवस्थामा बोलपत्र रद्द गर्नुले आयोजना थप पछाडि धकेलिने र आर्थिक भार बढ्ने निष्कर्ष निकालेको छ।

खानेपानी संस्थाका अध्यक्ष तथा समिति सदस्य कुलमणि देवकोटाले बोलपत्र रद्द गर्ने निर्णयमा आफूहरूलाई छलेर निर्णय गराइएकोप्रति आपत्ति जनाए। ‘बोलपत्र रद्द गर्नाले आर्थिक भार थपिनुका साथै वीरेन्द्रनगरमा खानेपानी खुवाउने समय वर्षौं धकलिने छ।’ अध्यक्ष देवकोटाले भने, बोलपत्र रद्द गर्ने निर्णय गम्भीर त्रुटि छ। यसको पक्षमा मेरो संस्था हुँदैन।’

आयोजना प्रमुख रविन्द्र रायले विश्व बैंकले इ–बिडिङ प्रणालीमै प्रश्न उठाएकाले पुरानो प्रक्रिया रद्द गरिएको बताए। उनले नेपालको इविडिङ प्रणालीमै समस्या आएको उजुरीका कारण विश्व बैंकबाटै अर्थ मन्त्रालयसँग समन्वय गरेर ठेक्का रद्द गरिएको हो। उनले भने, ‘अब, नयाँ टेन्डर प्रक्रिया हार्डकपीबाटै हुनेछ।’

बोलपत्र रद्द नगर्न संस्थाको आग्रह

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले भेरी पम्पिङ खानेपानी आयोजना, प्याकेज–२ को हाल सञ्चालनमा रहेको खरिद प्रक्रिया रद्द नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। संस्थाका अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा साउन ३१ गते बसेको मूल उपभोक्ता समितिको बैठकले जारी खरिद प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्दा आयोजना थप ढिलो हुने र वीरेन्द्रनगरवासीले खानेपानीको थप संकट व्यहोर्नुपर्ने निष्कर्ष निकाल्दै प्रक्रिया यथावत् अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो।

संस्थाका अनुसार भेरी पम्पिङ उपआयोजना प्याकेज–२ को बोलपत्र २०८२ पुस ८ गते आह्वान गरिएको थियो। बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ चैत ६ गतेसम्म सात वटा बोलपत्र दर्ता भएका थिए। ती बोलपत्रको प्राविधिक मूल्यांकन गरी नगरस्तरीय आयोजना कार्यान्वयन समितिको २४ औं बैठकबाट निर्णय गरिएपछि २०८३ वैशाख २६ गते विश्व बैंकको ‘नो अब्जेक्सन’ का लागि पेश गरिएको थियो।

विश्व बैंकबाट प्राप्त सुझावअनुसार मूल्यांकन प्रतिवेदन संशोधन गरी पुनः पठाइएको र २०८३ असार २६ गते मूल्यांकन प्रतिवेदनमा विश्व बैंकबाट ‘नो अब्जेक्सन’ प्राप्त भएको संस्थाले जनाएको छ। त्यसपछि प्राविधिक मूल्यांकनमा सारभूत रूपमा प्रभावग्राही ठहरिएका बोलपत्रदाताको आर्थिक प्रस्ताव खोल्न सूचना प्रकाशन तथा पत्राचारसमेत भइसकेको संस्थाको निर्णयमा उल्लेख छ। विश्व बैंकको सिफारिसअनुसार जारी खरिद प्रक्रिया रद्द गरी संशोधित व्यवस्थासहित नयाँ बोलपत्र आह्वान गर्ने तयारी भएपछि संस्थाले त्यसप्रति असहमति जनाएको हो।

प्रकाशित: ५ भाद्र २०८३ ०६:३५ शुक्रबार