अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन र भण्डारण गृहसहितको आधुनिक ग्रीनफिल्ड टर्मिनलको निर्माण कार्य सुरु भएको छ। नेपाल आयल निगम लिमिटेडले चितवनको लोथरमा कार्यालय स्थापना गरेर शुक्रबारबाट औपचारिक रूपमा निर्माणको काम सुरु गरेको हो।
पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउने उद्देश्यले दोस्रो चरणमा चितवनको लोथरदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइन विस्तारको थालनी गरिएको परियोजनाका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। उनको अनुसार लोथरदेखि अमलेखगञ्जसम्मको दूरी ६२ किलोमिटर छ। यो परियोजनाले पाइपलाइन विस्तार र भण्डारण गृहको लागि १४ अर्ब ९ करोड ६० लाख रुपैयाँमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ठेक्का दिएको छ।
‘आइओसीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनअनुसार पाइपलाइन विस्तारका लागि ४ अर्ब २८ करोड ८० लाख लागत अनुमान गरिएको छ। लोथरमा निर्माण हुने भण्डारण गृहसहितको ग्रीनफिल्ड टर्मिनलको लागि ९ अर्ब ८० करोड ८० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ,’ कार्यालयको उद्घाटन गर्दै परियोजना प्रमुख यादवले भने, ‘यसपटक बन्न लागेको पाइपलाइन विस्तार र भण्डारण गृहले देशको विकासमा ठूलो फड्को मार्नेछ।’
नेपाल सरकारको १० अर्ब र भारत सरकारको ५ अर्ब लगानीमा पाइपलाइन विस्तार र भण्डारण गृहको निर्माण हुन लागेको हो। चितवनमा बनेको भण्डारण गृहबाट देशका विभिन्न स्थानमा वितरण गर्न सहज हुने र यातायातमा हुने खर्च कम हुने यादवको अनुमान छ। लोथरमा २३ बिघा १२ कठ्ठा जमिनमा ९१ हजार ९०० किलोलिटर अट्ने भण्डारण गृह बन्नेछ। ३३ किलोलिटर अट्ने गरी पेट्रोलका ३ वटा भण्डारण गृह निर्माण हुनेछन्।
त्यस्तै ४६ हजार ५०० किलोलिटर अट्ने डिजेलका ३ भण्डारण गृह, मट्टितेलका १ हजार ६०० किलोलिटर अट्ने २ वटा र १० हजार ८०० किलोलिटर हवाई इन्धन अट्ने ३ वटा भण्डारण गृह निर्माण हुने नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए। यसैगरी चार वटा अन्डरग्राउन्ड ट्यांक पनि रहनेछन्। उनको अनुसार, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनका लागि ५०/५० किलोलिटर क्षमताका भण्डारण ट्यांक निर्माण हुनेछन्।
यसबाहेक परियोजनाले दुई वटा ट्यांक निर्माण गर्नेछ। प्रत्येक ट्यांकको २५० किलोलिटर क्षमता हुनेछ। पाइपलाइनको व्यास १०.७५ रहेको छ। यसबाट प्रतिघण्टा २७३ किलोलिटरको गतिमा तेलको बहाव हुने पराजुलीले बताए। पूर्व-पश्चिम राजमार्गसँगै बिछ्याइने यो पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सक्ने क्षमता हुनेछ। लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेशनसमेत निर्माण हुनेछ। उनले परियोजना सम्पन्न भएपछि गर्व गर्न लायक हुने बताए। ‘पाइपलाइन निर्माण भएपछि हामीले ट्यांकरको युग अन्त्य हुनेछ। बीचमा चोरी हुने र छलछाम हुने काम समाप्त हुन्छ,’ पराजुलीले भने, ‘हामीले शासक नभई शिल्पकार भएर काम गर्नुपर्छ।’
परियोजनाको म्याद ५४ महिना रहेको छ। तर ३ वर्षमा सक्ने गरी काम अगाडि बढाउने लक्ष्य परियोजनाले लिएको छ। ‘मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६९ किलोमिटरको पाइपलाइन हामीले १८ महिनामा सकेका थियौं,’ परियोजना प्रमुख यादवले भने, ‘यसको दूरी पनि कम छ। मलाई त ५४ महिना धेरै लाग्न थालेको छ। कम्तिमा ३ वर्षमा सक्ने गरी काम अगाडि बढाउँछौं।’
स्थानीय जनतालाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उनले बताए। परियोजना निर्माण भएपछि भण्डारणको समस्या अन्त्य हुने उनले बताए। ‘हामीले अहिले २० हजार लिटर पेट्रोलियम पदार्थ लिन ४०० लिटर तेल खर्च गरिरहेका छौं,’ उनले भने, ‘यो निर्माण भएपछि आर्थिक भारमा कमी, वातावरण प्रदूषण कम र अमलेखगञ्जको डिपोको लोड कम हुने देखेका छौं।’
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा २०८० जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पाइपलाइन विस्तारको परियोजनामा सम्झौता गरेका थिए। सोही सम्झौताअनुसार २०८१ असोज १७ गते इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच ‘बीटुबी’ सम्झौता सम्पन्न भएको थियो। पहिलो चरणमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तारको काम सकिसकेको छ। दोस्रो चरणमा अमलेखगञ्जदेखि लोथरसम्मको काम अगाडि बढेको हो।
भण्डारण गृह निर्माणका लागि परियोजनाले २३ बिघा १२ कठ्ठा जमिन ६० करोडमा खरिद गरेको थियो। त्यसमध्ये ३ बिघा जग्गाको रकम दिन बाँकी छ। जग्गा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिले समेत छानबिन गरेको थियो। पाइपलाइन र भण्डारण गृहको सुरक्षा नेपाली सेनाले लिएको छ।
प्रकाशित: १६ श्रावण २०८२ २०:५० शुक्रबार