हिमाली भेगमा पछिल्लो समय मानव–वन्यजन्तुका द्वन्द्वका घटना बढिरहेका छन्। द्वन्द्वका कारण ठूलो संख्यामा चौपायाँ क्षति हुने गरेका छन् भने मानवमाथि आक्रमण हुँदा मान्छे घाइते समेत हुने गरेका छन्। यो द्वन्द्वबाट प्रभावित भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले प्रभावित परिवारलाई राहत समेत दिनुपरेको छ।
मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पछिल्लो तीनवर्षमा एक करोड १० लाख ८५ हजार ३ सय ९७ रुपैयाँ क्षतिपूर्ति समेत दिएको छ। हरेक वर्ष आक्रमणका घटना पनि बढिरहेको एक्यापले बताएको छ।
एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा भएका मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई ६८ लाख ९६ हजार ३ सय ९७ राहत उपलब्ध गराइएको छ। तीमध्ये हिमचितुवा, चितुवा र ब्वाँसोबाट चौपायाँ क्षति भएबापत ६५ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको छ।
हिमाली कालो भालुले मकैबालीमा क्षति गर्दा ३ लाख २९ हजार २३८ रुपैयाँ क्षतिपूर्ति दिइएको छ। त्यसैगरि हिमाली कालोभालुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचारका लागि २२ हजार १ सय ५९ रुपैयाँ सहयोग गर्नुपरेका कडरियाले बताए। आर्थिक वर्ष २०८२/८३ मा कालोभालुको आक्रमणमा परेर दुईजना स्थानीय घाईते भएको थिए।
त्यसबाहेक आर्थिक वर्ष २०८१/८२ मा भएका चौपायाँ क्षतिको बाँकी दाबि बापतको ३० लाख ५३ हजार ७५० रुपैयाँ रकम पनि योपटक एक्यापले प्रभावित परिवारलाई उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८०/८१ मा भएको क्षतिबापत ११ लाख ३५ हजार २५० रुपैयाँ योपटक तिरेको थियो। ‘तीनवर्षको एकमूष्ठ गर्दा आर्थिक वर्ष २०८२/८३ मा एक करोड १० लाख ८५ हजार ३९७ राहत रकम वितरण गरिएको छ,’ उनले भने, ‘राहत रकमले स्थानीयलाई केही आर्थिक रुपमा सहयोग भएको छ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवार, संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउँदै आएको उनले बताए।
‘राहत रकम पाउँदा वन्यजन्तु र संरक्षित क्षेत्रको संरक्षणमा पनि स्थानीयले सघाउँछन। संरक्षण र स्थानीय समुदायबीचको सहअस्तित्वलाई थप मजबुत बनाउन पनि यसले सघाउँछ,’ उनले भने।
उनका अनुसार क्षति भएका वन्यजन्तुको मुल्यका आधारमा वन्यजन्तु राहत निर्देशिका अनुसार नै क्षतिपूर्ति रकम दिइने उनले बताए। पछिल्लो समय अन्नपूर्ण क्षेत्रभित्र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेको पनि उनले बताए। एक्यापका अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएका द्वन्द्वबाट ४ सय ५३ वटा पशु क्षति भएका थिए। त्यो संख्या आर्थिक वर्ष २०८१/८२ मा ३ सय ५८ थियो। आर्थिक वर्ष २०८२/८३ मा यो संख्या झनै बढेर ७ सय ३ वटा पशु क्षति भएका थिए। वन्यजन्तुले खोरमा आक्रमण गर्दा एकैपटक ३० वटासम्म पशुको ज्यान गएको थियो। दुईवर्ष अघि त एकै घटनामा ७७ वटा पशुको ज्यान गएको थियो।
‘मानव–वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन। पछिल्लो समय क्षतिको आकार पनि थपिएको छ। यसलाइ न्यूनीकरण गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय हिमाली क्षेत्रमा वन्यजन्तुको संख्या बढिरहेको छ। संख्या बढेपछि आहाराको खोजीमा रहेका जंगली जनावर बस्तीसम्म पनि पुग्न थालेको उनले बताए। ‘खोरमा पसेर आक्रमण गर्नु भनेको आहाराकै लागि हो।
‘बाहिर खुलमखुला रुपमा सिकार गर्न नपाएपछि जंगली जनावरहरु खोरसम्म पुग्ने गरेका छन,’ उनले भने, ‘त्यसबाहेक चौपायाँको चरन क्षेत्र र जंगली जनावर बस्ने ठाउँ एकैतिर परेकोले पनि आक्रमणका घटना बढेका हुन।’
पशु चौपायाँमा क्षति भएपछि अहिले स्थानीय किसानले एक्यापमा राहतका लागि उजुरी पनि दिन थालेका छन्। यो अभ्यास पहिला कमजोर हुँदा राहत पाँइदैन भनेर किसानले प्रयास नै गर्ने गरेका थिएनन। तर, अहिले राहत पाउने आशामा क्षति भएपछि किसानले एक्यापमा जानकारी गराउन थालेका छन्। त्यसले गर्दा पनि घटना बाहिर आउन थालेको उनले बताए।
‘मानव–वन्यजन्तु द्वन्द्वका कारण निम्तिएको क्षतिलाई कम गर्ने प्रयास गर्नुपर्छ। राहत पाउँदा स्थानीयमा वन्यजन्तु र संरक्षण क्षेत्रप्रति सकारात्मक भावना पैदा हुन्छ। त्यसले भविश्यमा थप संरक्षणको काममा सघाउ पुग्छ,’ उनले भने, ‘ राहतले किसानलाई पनि सहज हुन्छ। क्षति हुँदा राहत नपाउने अवस्था सिर्जना भएमा त्यसले पशुपालनबाट मान्छेलाई बिस्थापित गराउँछ, मान्छेमा निराशा छाउन सक्छ।’ उनका अनुसार पछिल्लो समय हिमाली क्षेत्रमा हिमचितुवा, चितुवा र ब्वासोको आक्रमण बढिरहेको छ।
प्रकाशित: १ श्रावण २०८३ १८:११ शुक्रबार



