अर्थ

बाढीपहिरो प्रभावितलाई सहयोग गर्न सिटी एक्सप्रेसको शुल्क मिनाहा

रसुवामा आएको बाढीपछि प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ। 

कम्पनीले विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज, छिटो र बढी रकम पठाउन सकून् भन्ने उद्देश्यले बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरिएको हो। अब संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानलगायत खाडी मुलुकबाट नेपाल पठाइने रेमिट्यान्समा कुनै सेवा शुल्क लाग्ने छैन। 

त्यस्तै, जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट नेपाल पठाइने रकममा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट पठाइने रेमिट्यान्समा समेत यो सुविधा उपलब्ध हुनेछ। न्युजिल्यान्डबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क मिनाहा गरिएको छ। 

सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ। यसबाट विदेशमा रहेका नेपालीलाई बाढीपहिरो प्रभावित परिवार तथा समुदायका लागि आर्थिक सहयोग पठाउन थप सहज हुने अपेक्षा गरिएको छ। 

कम्पनीका अनुसार शुल्क मिनाहा सुविधा तत्काल प्रभावकारी रूपमा लागू भएको हो। सिटी एक्सप्रेसले विदेशमा रहेका नेपालीलाई विपद्को यस कठिन समयमा आफ्ना परिवार तथा प्रभावित समुदायलाई सहयोग गर्न निःशुल्क रेमिट्यान्स सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ। 

प्रकाशित: १४ भाद्र २०८३ ११:५२ आइतबार